गौतमबुद्ध कप मङ्सिर २७ देखि – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

गौतमबुद्ध कप मङ्सिर २७ देखि

    मा प्रकाशित

मंसिर २५, काठमाडौ ।
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् ।

प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम वाग्मती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने सङ्घका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।

वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन्। यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा मङ्सिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मङ्सिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने अधिकारीले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण दर्शकदीर्घा भने खाली हुने भएको छ । अधिकारीले भने, “खेल राष्ट्रियस्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । दर्शकदीर्घा खाली हुनेछ ।” प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ ९क्यान० ले प्राविधिक सहयोग गर्नेछ भने वाग्मती प्रदेश खेलकूद विकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्नेछ । कोभिड–१९ का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रङ्गशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्