बड्डा हो, यहाँ रमिता छ
यहाँ यत्रतत्र अलपत्र छन्
भुईँभरी छरपस्ट छन्
टन्टलापुर घाम लाग्ने आशामा
घरको आँगनभरी बिस्कुनमा सुकाईएका
हाम्रा आलाकाँचा समृद्दिका सपनाहरु
आफूलाई यहाँ कत्रो चिन्ता छ
ति समृद्दिका सपनाहरु सुक्न नपाउँदै
कुहिएर खेर जान्छन् कि भनेर
तर बड्डा हो, यहाँ रमिता छ
बेला बेलामा भन्न त खुबै भन्थे नि
एकदिन त्यो पारीको डाँडाबाट
सुनौलो सूर्य उदाउने छ
अनि यो भ्रष्ट अन्धकार हटाउने छ
तर खोई के भयो कुन्नि
त्यो छुकछुके रेलको धुवाँले हो कि
जालझेल अनि फोहोरी खेलको तुवाँलो हो
आकाशभरी कालो बादल पो मडारियो
यो कहर त्यै माथि चिसो शितलहर
कठ्याङ्ग्रिएछन् बरै पतझड रुखहरु पनि
अनि जाडो छल्ने जुक्ति चै गजबको निकाले
कुकाठको कमसल घर
घरमै ठोस्दिए आगो, दन्कियो मजाले
बरै, घर जलाई आगो पनि तापियो
क्षणभंगुर मुतको न्यानो पनि नापियो
बड्डा हो, यहाँ साँच्चै रमिता छ
घरको आगो निभाउन छाडेर
आफ्नो भागको खरानीको कुम्लो बोकी
कोही सडकमा पलेँटी कसेर
त्यही खरानीको ब्यापार गर्दैछन्
कोही आइपुग्दैछन् टुप्लुक्क हाम्रो दैलोमा
आँगनमा सुकाइएका सपनाहरु कुल्चदै
बेमौसमी देउसी भैलो खेल्नलाई
फेरी नयाँ घर बनाउने कार्तिके दान माग्नलाई
बड्डा हो, यहाँ त रमितै रमिता छ
मा प्रकाशित