सरकार कोभ्याक्सबाट आउने भ्याक्सिन कुरेर बस्ने अवस्थामा छैन – Kanika Khabar
Friday, April 19Nepali News Portal

सरकार कोभ्याक्सबाट आउने भ्याक्सिन कुरेर बस्ने अवस्थामा छैन

    मा प्रकाशित

अर्जुन अधिकारी

बेलायत र अमेरिकामा मात्र होइन, छिमेकी भारतमा पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । नेपालमा यस विषयमा के तयारी भएको छ ? 

खोप खरिद गर्ने विषयमा कूटनीतिक छलफल जारी रहेकाले कहिले कुन खोप आउँछ भन्ने यकिन भएको छैन । यसमा समयसीमा तोक्न सकिँदैन, तर सरकार आफैँले जतिसक्दो छिटो खोप किनेर भए पनि भिœयाउने निर्णयमा पुगेको छ । सुरुमा सरकारले कोभ्याक्स सुविधाअन्तर्गत आउने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप लगाउने निर्णय गरेको थियो । जसमध्ये पहिलो चरणमा तीन प्रतिशत जनतालाई लगाउने भन्ने थियो । तर, अब सरकार कोभ्याक्सलाई कुरेर बस्ने अवस्थामा छैन । कोभ्याक्स सुविधाबाट आउने खोप पनि आउँदै गर्छ । उसले दिनेभन्दा पहिला ल्याएर जनतामा लगाउने भन्ने निर्णयमा सरकार पुगेको छ ।

निजी क्षेत्रले ल्याउने खोपको विषयमा के प्रगति भएको छ ? कुन–कुन कम्पनीले कहाँ–कहाँबाट खोप ल्याउने तयारी गरेका छन् ? त्यसमा सरकारको भूमिका के रहन्छ ?

निजी क्षेत्रले पनि खोप ल्याउने कुरा सुरुमा उठेको थियो । उनीहरूले खोप ल्याउने बाटो पनि खुला गर्नुपर्छ, त्यसमा दुईमत छैन । तर, उनीहरूका लागि निश्चित मापदण्ड बनाउनुपर्छ । निजी क्षेत्रले खोप ल्याउने विषयमा अहिले मापदण्ड बनेको अवस्था छैन । निजी क्षेत्रले खोप ल्याउँदा कस्तो मापदण्ड लागू गर्ने भन्ने विषयमा छलफल भने चलिरहेका छन् । सरकारले निजी क्षेत्रलाई खोप खरिदका लागि आह्वान गरेपछि मात्रै कम्पनीहरू अगाडि आउने हुन् ।

नेपालमा सरकारले ल्याउने खोप कति हो ? विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमबाट निःशुल्क कति अपेक्षा गरिएको छ ?

सरकारले जम्मा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । त्यसमध्ये २० प्रतिशत कोभ्याक्स सुविधाले उपलब्ध गराउनेछ भने बाँकी सबै नेपाल सरकार आफैँले ल्याउने हो । कोभ्याक्स सुविधाबाट पाउने २० प्रतिशत मात्रै खोप हो । उपलब्ध भएका खोप सरकारले बनाएको नियमभित्र रहेर दिइनेछ । यसका लागि पहिलो, दोस्रो र तेस्रो चरण गरेर खोप चल्नेछन् ।

खोप खरिद गर्ने प्रक्रिया कहाँ पुगेको छ ? कोभ्यासको खोप कहिलेसम्म आउँछ ? 

कोभ्याक्सबाट प्राप्त हुने र सरकारले खरिद गर्ने खोप कहिले आउँछन् भन्ने जवाफ ठ्याक्कै छैन । खोप आएको खण्डमा यसको वितरणमा भने कुनै समस्या छैन । दुईदेखि आठ डिग्री सेन्टिग्रेटमा खोप भण्डारण गर्न कुनै समस्या छैन । नियमित खोप भण्डारण गर्ने कोल्डचेन र हाल भएका कर्मचारीले नै यसको प्रयोग गर्न सक्छन् । कोभ्याक्समार्फत २० प्रतिशत निःशुल्क खोप आउँछ भन्ने छ । त्यसभन्दा बढी खोप नेपाल सरकारले आफैँ किन्ने हो । तर, अहिले कोभ्याक्स सुविधाको खोप तत्काल नआउने देखिएपछि सरकार आफैँले खरिद गर्ने तयारी थालेको छ । सरकारले पनि तत्काल २० प्रतिशत खोप खरिद गर्नेछ । तर, पहिलो चरणमा तीन प्रतिशत मात्रै ल्याइनेछ । खरिद गरेर ल्याएको खोप जनतालाई निःशुक लगाइनेछ ।

भ्याक्सिन ल्याउन नेपालले कति बजेट छुट्याएको छ ? 

अहिले कोरोना खोपका लागि भनेर सरकारले बजेट छुट्याएको छैन । तर, ४८ अर्ब रुपैयाँ लाग्ने स्वास्थ्य मन्त्रालयले अनुमान गरेको छ । कोरोना भ्याक्सिन लगाउन थप जनशक्ति आवश्यकता पर्दैन । सामान्य तालिम दिएको खण्डमा नियमित खोप लगाउने कर्मचारीले नै लगाउन सक्छन् । देशभर १५ हजारभन्दा धेरै यस्ता दक्ष कर्मचारी छन् ।

छिटोमा र ढिलोमा कहिलेसम्म जनताले खोप पाउँछन् ? जनता ढुक्क हुने स्थिति कहिलेसम्म आउला ?

विश्वमा खोप पूर्ण रूपले बनिनसकेका कारण दाबी गरेर खोप आउने समय भन्न सकिँदैन । तर, चाँडै आउन सक्ने सम्भावना धेरै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्