व्यङ्ग्यधर्मी मजगैयाँ – Kanika Khabar
Friday, April 19Nepali News Portal

व्यङ्ग्यधर्मी मजगैयाँ

    मा प्रकाशित

सर नमस्कार,
उनीसँग भेट गर्ने हेतुले मैले गरेको फोनले स्वीकृति पाएपछि औपचारिकताको लागि अभिवादन टक्र्याएको थिएँ । मेरो अभिवादनलाई स्वीकार गर्दै फोनको बारेमा स्पष्ट हुन खोज्दै थिए उनी । उनको आशयलाई बल पुग्ने गरी मैले फोनको कारण बताएँ । आज नै भेट्नु पर्ने त ? उनको जिज्ञासा थियो यो । आज भेटे बेस होला सर, मैले अनुरोध बिसाएँ । सायद मेरो विनम्रताको अनुरोधले उनको मन जितेछ क्यारे, उनीसँगको भलाकुसारीका लागि मैले केही समय प्रतीक्षा गर्नुपर्ने भयो । यस पटकको भेट उनकै निजी निवासमा गर्नु पर्ने भयो ।

अझ उनीसँग गर्ने कुराकानीको तारतम्य मिलाउनमा पनि म व्यस्त रहेँ । म साक्षात्कारका क्रममा गरिने भलाकुसारीको सिलसिला बुन्दै दाङको भरतपुरस्थित उनकै निवासमा पुगँे । साक्षात्कारलाई औपचारिकतामा बदल्न प्रत्यक्ष (दृश्यात्मक) अभिवादन टक्र्याएँ । अभिवादनसँगै न्यानो आत्मीयता हातको स्पर्शबाट साट्यौं । उनका सिर्जनशील हातको स्पर्श मैले फेरि पनि पाएँ । प्रारम्भमा अनौपचारिक भलाकुसारीमै व्यस्त रह्यौं । मझौला कद, हँसिलो मुहार, गहुँगोरो वर्ण, पुष्ट र खिरिलो शरीर, सेतै फुलेको कपाल तैपनि तन्नेरी जोश र जाँगरका पुञ्जझैं देखिने अनि बिस्तारै बिस्तारै बोल्ने उनको बानीले जो कोहीलाई लठ्याउँछ नै । विनोदप्रिय मृदुभाषी, विनयशीलताका खानी साहित्यकार उत्तमकृष्ण मजगैयाँँसँगको भेटको प्रसङ्ग हो यो ।

२००९ साल असार २२ गते शनिवार पिता देवीप्रसाद मजगैयाँँ र माता हेमकुमारी मजगैयाँँको कोखबाट दाङ जिल्लाको साविकको बिजौरी गाविसको ग्रामीण गाउँ डाँडागाउँमा पाइला टेकेका मजगैयाँ नेपाली साहित्यका एक अथक साधनारत स्रष्टा हुन् । चार वर्षको हुँदा मातृ स्नेहबाट बञ्चित भएका मजगैयाँँ आमाको न्यानो काखमा लामो समयसम्म लडीबुडी गर्न पाएनन् । मातृ वियोगको पीडामा पिल्सिएका मजगैयाँँ न त मातृत्वसँग परिचित रहन पाए न त मातृस्नेहको अनुभूत गर्न पाए । बाबुको लालनपालनमा नै हुर्केका मजगैयाँँका लागि आमाको न्यानो स्पर्श एकादेशको कथा नै बन्यो । मातृत्वका वियोगले साहित्यको फाँटमा मौलाउन परोक्ष सहयोग गरेको उनको ठहर पनि छ । बिजौरीस्थित डाँडागाउँको उकाली, ओराली, लेकबेंसी गर्दा गर्दै साथीभाईसँग खेल्दाखेल्दै बाल्यावस्था बिताएका मजगैयाँको शिक्षाराम्भ घरबाटै सुरु भएको हो । तत्कालीन समयमा घरमै गुरु राखेर अक्षराम्भ गर्ने परम्परा थियो । त्यही परम्परालाई निरन्तरता दिदै छिमेकी राष्ट्र भारतबाट पिताले गुरुहरू झिकाएर मजगैंयाको शिक्षालाई अगाडि बढाउने कार्य गरेका थिए । घरबाटै शिक्षाराम्भ गरेका मजगैंयाले औपचारिक शिक्षाको आरम्भ कक्षा पाँचबाट मात्रै गरे । औपचारिक शिक्षाको सूत्रपात पद्मोदय नमूना उच्च माध्यमिक विद्यालयबाट गरेका मजगैयाँँले पद्मोदय नमूना उमाविबाटै प्रवेशिका उत्तीर्ण गरेका थिए । स्नातकसम्मको औपचारिक शिक्षा प्राप्त गरेका मजगैयाँँ विद्यार्थी जीवनदेखि नै साहित्यप्रति रुची राख्दथे । घरमै शिक्षा ग्रहण गराउने भारतीय गुरुको प्रेरणाबाट साहित्यमा लगाव बढाएका मजगैयाँँले सात वर्षकै उमेरमा मातृ वियोगको बारेमा कविता रचना गरी गुरु, दाजु, पिताका सामु आवाज भर्दा पाएको स्याबासीले उर्जारूपी उत्साह, प्रेरणा दिएको बताउँछन् । कक्षा ७ मा अध्ययनरत रहँदा ‘ज्योत्स्ना’ पत्रिकामा २०२० सालमा ‘तब मात्र’ शीर्षकको कविता प्रकाशित गराई औपचारिक रूपमा नेपाली साहित्यको यात्राराम्भ गरेका साहित्यकार मजगैयाँँ नेपाली साहित्यको कविता, कथा, निबन्ध, हाँस्यब्यङ्ग्य, समीक्षा तथा अनुसन्धामूलक रचनाका विधामा सिद्धहस्त मानिन्छन् । अझ हाँस्यव्यङ्ग्य कविता÷निबन्धमा बेजोड रूपमा चलेको कलमले उनको साहित्यिक उचाईमा उल्लेखनीय भूमिका निर्बाह गरेको छ ।

समाजलाई समयको ऐनामा उतार्ने साहित्यले मानव जीवनसँग सन्निकट साइनो राख्दछ । सामाजिक, सांस्कृतिक, राजनीतिक रुपान्तरणमा समेत महत्वपूर्ण उपस्थिति जनाउँदै आएको साहित्यलाई पारिभाषित गर्दै साहित्कार मजगैयाँ भन्दछन् ‘साहित्य नीजि अनुभव र अनुभूतिको कलात्मक अभिव्यक्ति हो ।’ साहित्य समाज र समय सापेक्ष हुनुपर्नेमा जोड दिदै साहित्यकार मजगैयाँँ साहित्यलाई राष्ट्र निर्माणको संवेदनशील पाटो ठान्दछन् । उनी भन्दछन् ‘ साहित्यले समाज, राष्ट्र र विश्वलाई मार्ग निर्देशन गर्न सक्नु पर्दछ ।’ साहित्यलाई थप परिभाषित गर्दै उनले भनें, ‘साहित्य मानव मनलाई जोड्ने सेतु हो ।’

नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका मजगैयाँँको लेखनी व्यङ्ग्य विधामा अझ दरिलो मानिन्छ । यद्यपि दाङ जिल्लामा निबन्ध सङ्ग्रह प्रकाशन गर्ने मजगैयाँँ पहिलो स्रष्टा हुन् । चाहे उनका कविता हुन् चाहे निबन्ध नै किन नहोऊन् सबैमा गुलावी व्यङ्ग्यको सुगन्ध पाइन्छ । उनका लेखनीलाई अध्ययन गर्दा उनी व्यङ्ग्यमा अब्बल देखिन्छन् । व्यङ्ग्यमा अब्बल क्षमता भएका मजगैयाँँ व्यङ्ग्यका प्रर्याय नै मानिन्छन् । बडो मिठो व्यङ्ग्य सिर्जनाका धनी मजगैयाँँ व्यङ्ग्यमा सन्दर्भमा कुराकानी गर्दा उत्साहित हुँदै प्रफुल्ल मुद्रामा उनले व्यङ्ग्य सुनाउन पनि भ्याए ।
             जेमा पनि ठिक्क हुने तासको जोक्कर हुन सकिएन
            सत्य असत्य जेमा पनि हो मा हो मिलाउन सकिएन
           आँखामा बाक्लो पर्दा टाँसी दिनलाई रात भन्न सकिएन
            छुरी गोली र आतङ्कलाई क्यावात् भन्न सकिएन
            सलाम ठोकिएन
            भुइँ छुँदासम्म झुकिएन
           तसर्थ विभिन्न झञ्झाबाद सहेको छु
          म बाइकट भएको छु ।

विद्यार्थी जीवनको स्मरण गर्दै आफू गुरुको प्यारो शिष्य भएको बताए । विद्यार्थी जीवनका अविष्मरणीय क्षणहरुलाई ताजा बनाउँदै उनले भने, ‘म फुटबल निकै राम्रो खेल्थें, फुटबल खेलमा मलाई खोजीखोजी साथीहरुले फेटबल खेलाउँथे तर म अलि होचो कदको भएकोले मेरो भलिबल खेल्ने रहर कहिल्यै पूरा हुन सकेन । भलिबल खेल्न निकै मन लाग्थ्यो तर समूहमा कहिल्यै परिएन । कोर्डभन्दा बाहिर गएको बललाई छोएरै भलिवलको रहर पूरा गरियो ।’ उनको प्रवेशिकासँग पनि मिठो अनि गर्विलो स्मृति गाँसिएको छ । २०२४ सालमा प्रवेशिका परीक्षा दिएका मजगैयाँँले आफ्नो दश कक्षाको पढाइको सम्झना भावनामा यसरी अभिव्यक्त गरे, ‘ हामीले मा.वि. तहको अध्ययन गर्दा त्यतिबेला नेपाली विषय पढाउने शिक्षक प्रभाकर त्रिपाठी हिन्दी भाषी हुनुहन्थ्यो । उहाँले नै हामीलाई नेपाली पढाउनुहुन्थ्यो । उहाँले हामीसँगै नेपाली विषयको परीक्षा पनि दिनुभयो । पछि रिजल्ट आउँदा उहाँ अर्थात हामीलाई पढाउने गुरुको १०० पूर्णाङ्कमा ६० आयो र मेरो ६२ आएको थियो । त्यतिबेला गुरुभन्दा धेरै अङ्क प्राप्त गर्दा मैले गुरुहरुबाट निकै स्यावासी पाएको थिएँ । त्यतिबेला मलाई गुरुहरुले ‘गुरु उछन्ने चेलो’को संज्ञा नै दिनुभएको थियो ।’ साहित्यकार मजगैयाँँ साहित्य र पढाइ दुबैमा उस्तै अब्बल देखिन्छन् ।

घरैबाट साहित्य वातावरण पाएका मजगैंयाँ आप्mनो कथालेखनको प्रेरणाको रुपमा आफ्नै घरमा गोठालो बसेको ‘जङ्गे थारु’ लाई मान्दछन् । गोठालो गएको बेला उसले कथाहरु सुनाएर लठ्ठ पार्ने गरेको मजगैयाँँ बताउँछन् । कथा सुन्न पाइने भएकाले पनि आफू उसँगै गोठालो जाने गरेको मिठो सजीव स्मृति उनीसँग छन् । त्यो मिठो स्मृतिलाई बडो आनन्दित हुँदै उनले यसरी छताछुल्ल पारे, ‘जङ्गे हाम्रो भैंसी गोठालो थियो । उसले कथा सुनाएर हामीलाई लठ्ठ पार्दथ्यो । कथाका बिचबिचमा गीतसमेत गाउँथ्यो कथाको प्रसङ्गसँग मिल्ने । भनौं गीति कथा नै सुनाउँथ्यो उसले हामीलाई । बडो मिठो बाँसुरी बजाउने जङ्गेले कथाका बिचबिचमा बाँसुरीको धुन भरेर हामीलाई सङ्गीतबाट पनि मुग्ध पार्दथ्यो । उसले प्रायः कथा आफै बनाउको हुन्थ्यो । उसमा कथाकारिता प्रचुर नै थियो । उसबाट पाएको कथाकारिताको ज्ञानले मलाई कथा लेखनमा निकै टेवा दिएको महसुस मलाई हुन्छ । ’

मजगैयाँँको पारिवारिक पृष्ठभूमि साहित्यिक मात्र नभएर राजनीति पनि थियो । तपाईं राजनीति परिवेशमा हुर्केको मान्छे राजनीतितर्फ किन लाग्नु भएन भन्ने यस पङ्तिकारको जिज्ञासा मेटाउँदै उनले भने, ‘मेरो परिवारमा राजनीतिक वातावरण थियो । बुबाले राजनीति गर्नुहुन्थ्यो । त्यसको प्रभाव ममा पनि परेको थियो । राजनीतितर्फ मन नगएको होइन । विद्यार्थी जीवनमा राजनीतिक झण्डा बोकिएकै हो । यही सिलसिलामा २०२७ सालमा तत्कालीन पञ्चायतको विरोध गरेको अभियोगमा दुई महिना जेल पनि गएँ । तर, पछि राजनीतिमा देखिएको विसङ्गत, राजनीति गर्नेहरुको घटिया प्रवृत्ति, सतही राजनीतिले ममा राजनीतितर्फ वितृष्णा जागेर आयो । म शिष्ट विद्रोही भएकाले पनि साहित्यबाटै विद्रोहको मार्ग रोजेँ, मैले सकेजति रचनात्मक विद्रोह गर्दै आएको छु र त्यसको आलम्वन कलम बनाउँदै आएको छु । ’ यही प्रसङ्गमा उनले जोडे ‘ म राजनीति गर्दिनँ, मेरो इरादा हो म राजनीतिक जीवन जिउँदिनँ । ’

नेपाली साहित्यले समयको गतिसँगै आफूलाई परिमार्जित गर्दै ल्याएको छ । यो लामो यात्रामा विश्व साहित्यको तुलनामा आफूलाई उभ्याउन सक्नु नेपाली साहित्यले प्राप्त गरेको सफलता हो । विभिन्न वाद, शैलीलाई अङ्गाल्दै आफ्नो आयामलाई विस्तार गर्नसक्नु नेपाली साहित्यले प्राप्त गरेको सकारात्मक पक्ष हो । त्यसो त पुरातन मान्यता र विचारलाई परिवर्तन गर्दै समाजको विकृति र विसङ्गतिलाई किनारा लगाउने नेपाली साहित्यले खेलेको भूमिका अपरिहार्य छ । प्रकाशनको हतारोमा पाठकको रुचीलाई पक्रन नसक्नु नेपाली साहित्यको नकारात्मक पक्ष भएको उनको ठहर छ ।

छ को दशकको उमेरमा जीवनको रथ गुडाइ रहेका मजगैयाँँ अझैं पनि साहित्य साधनामा तल्लीन छन् । प्रायः समय लेखनमै बिताउने गरेका छन् आजभोलि । केही वर्ष पहिले जीवन साथी गुमाएका मजगैयाँँलाई मानसिक पीडा पनि छ । त्यो पीडाले पनि छुन्छ उनलाई अनि पीडा कम गर्नका लागि पीडाका भावलाई अक्षर र शब्दमा उतार्ने गरेको दैनिकी पनि छ उनीसँग । अहिले पेन्सन जीवन बिताइरहेका मजगैयाँँलाई अब जीवनमा गर्न के बाँकी छ भन्ने यस पङ्तिकारको सवालमा ‘ जीवनमा गर्न धेरै बाँकी छ, मैले केही गरेजस्तो मलाई लाग्दैन । पारिवारिक जिम्मेदारी लगभग लगभग पूरा गरेको छु तर सामाजिक जिम्मेवारी पनि छ मसँग । मैले समाजका लागि अझैं धेरै गर्नु पर्ने छ । म समाजको लागि केही गर्न चाहन्छु । समाजमा भएका विकृति र विसङ्गतिका धुलो झार्ने कामप्रति आफूलाई बढी जिम्मेवार बनाउँदै आएको छु । अब मैले गर्ने काम अर्थोपार्जनको नभई मानव सेवा र समाव सेवा हुनेछ । ’ उनले जवाफ दिएँ । एक पटक कुनै पनि राष्ट्रिय साहित्यिक संघ संस्थाको नेतृत्व गरेर साहित्यमा देखिएको विकृति विसङ्गतिलाई निर्मूल पारी साहित्यमा सबैको पहुँच पु¥याउने चाहना उनमा रहेको छ ।
राज्यले स्रष्टालाई उपयोग मात्र गरेको बताउने साहित्यकार मजगैयाँँ राज्यको स्रष्टा प्रतिको दृष्टिकोण बदलिनुपर्नेमा जोड दिन्छन् । हुन त दिगो राजनीति र बलियो राज्य व्यवस्थाको अभावमा स्रष्टाहरू राज्यबाट उपेक्षित भएको पनि उनको ठहर छ । राज्य स्रष्टाप्रति जिम्मेवार भएमा अझ उत्कृष्ट साहित्य सिर्जना हुनेमा उनी विश्वस्त छन् । जीवन सङ्घर्ष हो, जीवन सुन्दर फूल हो, जीवनलाई परिभाषित गर्ने यस्ता थुप्रै थुप्रै उपमाहरू छन् । परिभाषित गर्ने सबैको आ–आफ्नै तरिका छ । जीवनलाई सृष्टिको सुन्दर फूल ठान्ने साहित्यकार मजगैयाँँ मानव जीवनको पहिलो चरण बाल्यावस्थालाई अचेतन अवस्थामा स्वस्फूर्त रूपमा हुने बृद्धि विकास ठान्दछन् । युवावस्थालाई दायित्व÷कर्तव्यसँगको सम्झौत ठान्ने मजगैयाँले बृद्धावस्थालाई युवावस्थाको प्रतिफल ठान्दछन् ।

नेपाली साहित्यका कविता, निबन्ध, कथाका साथै खण्डकाव्यमा समेत कलम चलाएका साहित्यकार मजगैयाँँ छन्दको पक्षपाती भए पनि मुक्त लयात्मक छन्दमा प्रशस्त कविता रचना गरेका छन् । हालसम्म नेपाली साहित्यमा ‘जय अवसरवाद’ (२०५४), ‘तिमी नरहे देश डुब्न्याछ’ (२०५६), हाँस्यव्यङ्ग्य कविता संग्रह–‘धरोधर्म हजूर’ (२०५४), ‘सुनको फूल पार्ने पोथी’ (२०५४), ‘गृहलक्ष्मी भित्र्याएपछि’ (२०५४), हाँस्यव्यङ्ग्य निबन्ध संग्रह–‘धरती युग’ (२०५४), ‘अपराजिता’ (२०५४), खण्डकाव्य ‘बुद्धहरू मर्दैछन्’ (२०५९), कविता संग्रह ‘बेसींतिर’ (२०५९), कथासङ्ग्रह समर्पण गरिसकेका छन् । उनी हालसम्म राष्ट्रिय प्रतिभा पुरस्कार, भैरव प्रतिभा पुरस्कार, तारा पन्त पुरस्कार, नन्द प्रज्ञा पुरस्कार, रेवन्तबहादुर शाह पुरस्कार, पद्मा कुल हास्यव्यङ्ग्य पुरस्कार र मध्यपश्चिम स्रष्टा समाज नेपालगञ्जबाट सम्मानित भइसकेका छन् । यसका अतिरिक्त मजगैंया राप्ती साहित्य परिषद् र लेखक संघ दाङ (सल्लाहकार), नेपाल प्रज्ञा प्रतिष्ठान (सदस्य), नेपाली लेखक संघ (सदस्य) लगायतका संस्थासँग आबद्ध रहँदै आफ्नो लेखन कार्यलाई अगाडि बढाइरहेका छन् । ‘ज्योत्स्ना’, ‘राप्तीदूत’, ‘प्रवाह’, ‘अन्तध्र्वनि’लगायतका पत्रिका एवं शेरबहादुर थापा स्मृति ग्रन्थ, पं. टेकनाथ गौतम स्मृति ग्रन्थलगायतका पुस्तकको समेत सम्पादन गरेर आफूलाई सम्पादकको रूपमा पनि स्थापित गराइसकेका छन् ।

मजगैयाँँ साहित्यकारका अलावा एक शिक्षक, सम्पादक पनि हुन् । एकातिर जागिरे जीवनको व्यस्तता त अर्कोतिर पारिवारिक जिम्मेवारी छ । तैपनि साहित्य रचना, साधनामा भने अनवरत रुपमा लागिरहेका नै छन् । विभिन्न साहित्यिक गोष्ठीमा पुग्ने, साहित्यिक बहस गर्न अझै रुची राख्ने साहित्यकार मजगैयाँँको लेखनले अझंै उचाइ लिदै जाओस् हाम्रो शुभकामना ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्