पत्रकारिता पेशामा जोडिएको प्रसङ्ग – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

पत्रकारिता पेशामा जोडिएको प्रसङ्ग

    मा प्रकाशित

 


शरद देवकोटा

दाङ जिल्लामा बसेर मैले विगत पत्रकारिता पेशामा संलग्न गरिरहेको छु । तुलसीपुरबाट प्रकाशित हुने राप्ती समाचार साप्ताहिकबाट थालनी भएको मेरो पत्रकारिताको यात्रा कतै थामिदै ,कतै सुस्ताउँदै र फेरि उठ्दै यहाँसम्म आउँदा विभिन्न पत्रिकामा संलग्न हुने अवसर जुट्दै आएको छ । मैले अहिलेसम्म विभिन्न पत्रिकामा विभिन्न पदमा रहेर काम गरिरहेको छु । जसअन्तरगत राप्ती समाचार साप्ताहिकको सहसम्पादक ,गाउँघर साप्ताहिकको सहसम्पादक र गणतन्त्र दैनिकको कार्यकारी सम्पादक भएर आफ्नो जिम्मेवारी निभाइसकेको छु । अहिलेको समयमा राप्ती पोष्ट दैनिकको कार्यकारी सम्पादक र नयाँ युगबोध दैनिकको भाषा सम्पादक भएर काम गर्दैआएको छु । राप्ती पोष्टमा हरेक बुधबार समसामयिक लेख लेख्दै आएको छु भने युगबोधमा साहित्यिक रचना कहिलेकाहीं मात्र । बिहान एघार बजेदेखि दिउँसो ढाइदेखि पौने तीनसम्म राप्ती पोष्टमा । तीनदेखि बेलुकी छ बजेसम्म युगबोधमा कार्यरत रहँदै आएको छु । न कुनै महत्वाकाँक्षा । न त धन पैसा कमाएर यसो गरौंला उसो गरौंला भन्ने चाहना । दैनिकी चले पुग्छ । न कसैको चाकरी । न कसैको दास । न राजनीतिक नियुक्तिको लोभ । न त कसैको पुच्छर नबने भोकै बस्नुपर्छ कि भन्ने डर । स्वाभिमान र इमानलाई साथी बनाइरहँदासम्म न कसैले सित्तैमा देला भन्ने आश । न कसैले पुरस्कार देओन कि भन्ने त्रास । जीवन स्वाभिमानीपूर्वक चल्न सक्छ भन्ने मेरो बुझाइ ।

अब त उमेर पनि घर बस्ने भएन र ? अब पनि कति दौडधूप गरिरहने ? दूई दुईवटा पत्रिकामा काम गरेवापत टन्न पैसा कमाइ हुन्छ होला ? यो उमेरमा कतिन्जेल पैसा कामइरहने ? शरीरलाई सुबिस्ता दिनुपर्ने समय आएन र ? यसरी प्रश्न सोध्नेहरुलाई चित्तबुझ्दो जवाफ दिदै आए पनि त्यसरी जवाफ दिनुपर्दा मेरो आफ्नो मन चित्त बुझ्न सकेको हुँदैन । पैसाको अभाव कस्तो हुन्छ मैले राम्रोसंग बुझेको छु । कतिपय मान्छेले धन पैसासंग मान्छेलाई तौलेर कतिसम्म अपमान गर्न सक्छन् त्यसलाई पनि मैलै राम्रो किसिमले अनुभव गरेको छु । मेरो रुचिको विषय । आफूले जानेको विषय । चुपचाप दिउँसोभरि घरमा बस्नु भन्दा सक्दासम्म पत्रकारिता गर्ने सोच बनाएर धेरैजसो पैदल, कहिलेकाहीं यातायातका साधन प्रयोग गरेर घरबाट घोराही । घोराहीबाट घर । यो यात्रा आजका दिनसम्म कत्ति अल्छी नमानी निरन्तर चल्दै आएको छ । घाम,पानी,झरी बादल,आँधी,हुरी,ठण्डी गर्मी कसैले पनि मेरो यो यात्रालाई रोक्न सकेका छैनन् ।

जहाँ पारिश्रमिक लिएर श्रम गरिन्छ त्यहाँ इमान्दारिपूर्वक आफूले जानेको काम गर्नुपर्छ । चित्त बुझे काम गर्दैजाने । चित्त बुझ्दैन भने आफ्ना कुरा राख्दै त्यो ठाउँ अरुका लागि खाली गरिदिने । जाँगर नलगाइ नलगाइ कर बलले गरेको कामको परिणाम फलदायी हुँदैन भन्ने मेरो मान्यता रहँदै आएको छ । कतिपय अवस्थामा झिना मसिना समस्या आइपर्दा ती सबैलाई पचाउने बानी परिसकेको छ । यस्तो बानीले काममा जाँगर र हौसलामा कत्ति कमी आउन दिएको छैन । आफूले जानेको कामलाई अल्छी नमानी पूरा गर्ने धेरैजना पत्रकारहरुसंग संगत गर्दैआइरहेको छु । यसबाट मलाई थप हौसला प्राप्त हुँदै आएको छ । ती जाँगरिला पत्रकारहरुमध्ये एकजना हुनुहुन्छ नयाँ युगबोधमा कार्यरत गोविन्द खड्का । मैले उहाँलाई चिन्न थालेको चौसठ्ठी सालदेखि हो भने अझ नजिकबाट चिन्न थालेको पछिल्लो पटक मैले युगबोधमा काम गर्न थालेदेखि नै हो ।

दाङ जिल्लामा २०६६ सालमा खुला दिसा मुक्त अभियान सन्चालन गर्नु भन्दा अघि फोहरमैला सम्बन्धी तालिम गोष्ठीमा सहभागी हुने तालिम लिएअनुसार व्यवहारमा प्रयोग गर्ने । अरुलाई पनि सिकाउँदै हिड्ने । फोहरमैला र सरसफाइका बारेमा केही वर्षसम्म नियमितरुपमा लेख प्रकाशित गर्ने व्यक्ति हुनुहुन्छ पद्मप्रसाद शर्मा । खुला दिसामुक्त अभियानका शुरका दिनमा शर्माले पु¥याउनु भएको योगदान कसैले पनि बिर्सन सक्दैन । शर्मापछि यो अभियानमा जोडिन आउनु भयो गोविन्द खड्का । सरसफाई सम्बन्धी लेख रचना तयार गर्ने व्यक्तिको अभाव भइरहेको समयमा यस क्षेत्रमा प्रवेश गर्नुभएका खड्काका सरसफाइ सम्बन्धी धेरै लेख मैले पढ्दै आएको छु ।

खड्काले लेखेका कतिपय सरसफाइसम्बन्धी लेखको प्रुफ पढ्दैगर्दा घिनले धेरै पटक उक्क उक्क गरेको छु । घरमा पुगेर खाना खाँदै गर्दा सरसफाइ सम्बन्धी उहाँले लेखेका शब्द र वाक्य संझदा दिगमिग लागेर खाना खानै छाडेको छु । कुनै समय थियो गोविन्द खड्का भनेपछि गु पत्रकार भनेर चिन्ने । टाढै देखेपछि खिसिट्युरी गर्नेले ऊ हेर गु पत्रकार आयो समेत भन्ने गर्थे । तर पनि कसैको कुतर्क नसुनेर आफ्नो अभियानमा अविचलिरुपमा खट्नुभयो । पछिल्लो समयमा कोरोना महामारी फैलिदै गरेको अवस्थामा सरसफाइको विषय कति महत्वपूर्ण रहेछ र गोविन्द खड्काले कति ठूलो अभियानमा सहभागी हुनुु भएको रहेछ । यतिबेला सबैका चेतकान उघ्रेको हुनुपर्छ । उहाँको परिचय यत्तिमा सीमित छैन । सरसफाइ अभियन्ता गोविन्द खड्काका सरसफाइ सम्बन्धी लेखहरुले उहाँलाई जिल्लामा मात्र होइन देशभरि चिनाउन मदत गरेका छन् । उहाँले समाज सेवा पदक २०७१ र खुला दिसामुक्त नेपाल २०७६.का अवसरमा समाज सेवा पदक प्राप्त गर्नुभएको छ ।

गोविन्द उहाँको काम गराइको शैली र जाँगर देखेर म कहिलेकाहीं सोचमग्न हुन्छु र आफैलाई प्रश्न गर्छु के एउटै व्यक्तिले यति धेरै क्षेत्रको काममा संलग्न हुनु मात्र होइन दखल समेत राख्नु संभव हुन्छ र ? गोविन्द खड्काको सीप,जाँगर र कामप्रतिको निष्ठा हेरेपछि भन्न सकिन्छ–एउटै व्यक्तिले पनि यहाँ धेरै काम गर्न संभव छ । बोली व्यवहारमा सहयोगीपन । घर गृहस्थीलाई व्यवस्थित गर्न होस अथवा बारीमा कुटोकोदालो गर्न होस सधै आफ्नो काम आफै गर्नमा गौरव गर्ने । मैले बुझेअनुसार शिष्ट र मार्यादितरुपमा आफ्ना सहमति र विमति राख्न सक्ने खुवी भएका गोविन्द खड्का पुस्तक खरिद,संकलन र स्वअध्ययनमा अब्बल हुनुहुन्छ । खड्काबाट अरुले सिक्ने धेरै विषय छन् तीमध्ये अर्काे महत्वपूर्ण विषय भनेको श्रमप्रतिको निष्ठा नै हो भन्ने मेरो बुझाइ रहेको छ ।

गोविन्द खड्काको सीप कुनै एउटा क्षेत्रमा मात्रै सीमित छैन । उहाँको सीप र जाँगर साच्चिकै लोभलाग्दो छ । पत्रिकाको विज्ञापन फाँटमा । बजार व्यवस्थापकको जिम्मेवारीमा । लेख रचनाहरुमा । कम्युटर टाइपमा । सम्वाददाताको काममा । पत्रिकाको वितरण फाँटलगायत पत्रिकाको जुनसुकै फाँट किन नहोस गोविन्द खड्काले सीप नलगाएको ठाउँ भेटिदैन । साहित्यिक पुस्तकहरुको समीक्षामा पोखिएका शब्द,वाक्य र विचारबाटा पनि खड्काको खुबी जाँच्न सकिन्छ । गएको शनिबार उहाँले पहिलोपटक कविता लेख्नुभयो जलजला । यो कवितामा प्रस्तुत विम्ब,प्रतीक र अलङ्कारको तालमेल टमक्क मिलेको छ । भाव,लय र कलाका हिसावले कविता सुन्दर छ । मीठो छ र प्रभावकारी पनि छ । आशा छ आगामी दिनमा उहाँको कविता लेखन मात्र होइन विविध विधामा चल्दै आएको लेखन यात्राले अझै गति र उचाइ प्राप्त गर्दै जानेछ । साथै समाजले पनि उहाँको उचित मूल्याङ्कन पनि गर्दैजानेछ । धेरै विषयका जानकार । धेरै विषयको जिम्मा लिए पनि काम फत्ते गर्न सक्ने आँट र सीप भएका गोविन्द खड्काले नेपाली भाषा शुद्ध लेख्न सक्ने सीपको पनि विकास गर्न सके अझ कति जाती हुन्थ्यो होला ? घरी घरी यही प्रश्नले मेरो मनलाई चिमोटिरहेको हुन्छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्