केपी शर्मा ओलीः के प्रधानमन्त्री अब नियमित रूपमा सिंहदरबार जालान् ? – Kanika Khabar
Thursday, March 28Nepali News Portal

केपी शर्मा ओलीः के प्रधानमन्त्री अब नियमित रूपमा सिंहदरबार जालान् ?

    मा प्रकाशित

अशाेक दाहाल 

फागुन ११, काठमाडौं ।

झन्डै १० महिनादेखि बालुवाटारस्थित सरकारी निवासबाटै काम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पनि रहेको सिंहदरबारबाट आफ्नो नेतृत्वमा सरकार बनेको तीन वर्ष पुगेको अवसरमा सम्बोधन गरे।

त्यसअघि उनले सिंहदरबारमा पुनर्निमाण सम्पन्न भएका तीनवटा मोहडाको उद्घाटन गरेका थिए।

कोरोनाभाइरसको महामारीपछि लागु गरिएको लकडाउनका कारण प्रधानमन्त्री ओलीले गत वर्ष चैत महिनादेखि धेरैजसो काम बालुवाटारबाटै गर्दै आएका छन्।

सामान्य अवस्थामा पनि निवासबाटै काम गर्ने गरेको आरोप खेप्दै आएका ओलीले कोभिड-१९ को सन्त्रासपछि सरकारी र पार्टीका बैठकहरू बालुवाटारस्थित सरकारी निवासबाटै जारी राखे।

उनका अधिकांश राजनीतिक भेटघाट र मन्त्रिपरिषद्का बैठक पनि बालुवाटारमै भए।

तर प्रतिनिधिसभाको विघटनपछि प्रधानमन्त्री ओली देशका विभिन्न स्थानमा आयोजित पार्टीका जनसभाहरूमा सहभागी हुने गरेका छन्।

गत वर्ष फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीलाई हिँडडुल कम गर्न चिकित्सकहरूले सुझाएका थिए।

सङ्क्रमणको जोखिमका कारण सिंहदरबारमा पातलिएको उनको उपस्थिति चैत्र ११ गतेपछिको औपचारिक लकडाउनपछि भने ठप्पजस्तै भयो।

अस्पतालबाट फर्किएको छोटो समयमै चैत २ गते सार्क क्षेत्रका नेताहरूको भिडिओ कन्फरेन्सलाई सम्बोधन गर्न उनी सिंहदरबारस्थित कार्यालयमा भएको एक्शन रूम पुगेका थिए।

लकडाउनकै बीच उनले चैत २९ गते प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोनाभाइरस महामारी पूर्वसतर्कता र रोकथामका लागि गरिएका प्रयासहरूको बारेमा एक्शन रूमबाट जानकारी लिए ।

पछिल्लो समय वैशाख २२ गते असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनमा सोही एक्शन रूमबाट सहभागिता जनाएपछि उनले पुनः सिंहदरबारस्थित कार्यालय प्रयोग गरेका थिएनन्।

किन गएनन् सिंहदरबार?

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले सिंहदरबारको कार्यालय साँघुरो भएकाले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण प्रधानमन्त्रीले बालुवाटारबाटै काम गरेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री कार्यालयमा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाइए पनि “जोखिममुक्त” भने नरहेको कार्यालयका प्रवक्ता शङ्कर नेपालले उल्लेख गरे।

“हामीले स्यानिटाइजर ढोकामा र टेबल-टेबलमा राखेकै छौँ, बैठकहरू पनि दूरी कायम गरेरै राखिरहेका छौँ, तर पनि म आफैँलाई पनि कोभिड भयो,” उनले भने।

प्रधानमन्त्री कहिलेदेखि सिंहदरबारस्थित कार्यालय गएका छैनन् भन्ने आधिकारिक अभिलेख प्रधानमन्त्री कार्यालयले उपलब्ध गराउन सकेन।

“हाम्रो हाजिरी, हुन्छ राजनीतिक व्यक्तिहरूको हुन्न । मुख्य कुरा प्रणालीले काम गर्ने हो। मन्त्रिपरिषद् हेर्ने छुट्टै महाशाखा छ, त्यसले आवश्यक समन्वय गर्छ र कामहरू भइरहेकै छन्,” प्रवक्ता नेपालले भने।

बालुवाटारबाट काम गर्दा कस्तो अप्ठेरो?

इन्द्र भण्डारीले बालुवाटारबाटै काम गर्दा पनि कुनै अप्ठेरो नपर्ने दाबी गरे।

तर पूर्वमुख्यसचिव विमल कोइराला निवासबाटै काम गरिरहँदा प्रधानमन्त्रीको काममा ह्रास आउने बताउँछन् ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

“कसैलाई पनि प्रधानमन्त्रीको निवासमा जाने चाहना हुँदैन नि। सरकारी कर्मचारी भएपछि ऊ त सचिवालयमा काम गर्न चाहन्छ। उसको त मनोबल नै खस्किन्छ नि।”

सरकारी निवासबाटै काम गर्ने ओली एक्ला प्रधानमन्त्री भने होइनन्।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६३ पछिको आफ्ना कार्यकालको धेरै समय बालुवाटारबाटै काम गरेका थिए।

अस्वस्थताका कारण कोइरालाले बालुवाटारमै सरकारी र पार्टीका बैठकहरु सञ्चालन गरे।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार बालुवाटारबाटै काम गर्दा निर्णयपुस्तिकाहरू बोकेर ओहोरदोहोर गर्नुपर्ने झन्झट भने कर्मचारीहरूलाई हुने गरेको छ।

अधिकांश मन्त्रालयहरू सिंहदरबारभित्र वा नजिकै रहेका कारण प्रधानमन्त्रीसँग बैठक गर्न पनि उनीहरूलाई ओहोरदोहोर गर्न समय लाग्ने देखिएको छ।

के अब ओली दैनिक सिंहदरबार जालान्?

प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार गत साता उद्घाटन भएको नयाँ कार्यकक्षमा ढोका हाल्न बाँकी नै थियो भने टेलिफोन र र इन्टरनेट लगायतका सुविधाहरू पनि जडान भएका थिएनन्।

सिंहदरबार
प्रधानमन्त्री ओली

बीबीसीले राखेको जिज्ञासामा मुख्यसचिव शङ्करदास वैरागीले पुनर्निर्मित भवनमा टेलिफोन र इन्टरनेटका सेवाहरू जोड्ने तयारी भइरहेको बताए।

“प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सार्ने आवश्यक तयारी भइरहेको छ। लजिस्टिक लगायतको तयारी मिलाएर हामी छिट्टै सर्छौँ,” उनले भने ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भण्डारीले अझै पनि सामाजिक दूरी कायम राख्नेजस्ता सुरक्षाका उपायमा सचेत रहनुपर्ने अवस्था रहेका कारण प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नियमित काम गर्नेबारे यसै भन्न नसकिने जनाए।

तर राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे नयाँ कार्यकक्षमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरिएको दाबी गर्छन् ।

“सबै मापदण्ड पूरा गरेरै नयाँ कार्यकक्ष तयार गरिएको हो। प्रधानमन्त्रीज्यू आफैँले निरीक्षण गरेरै नयाँ कार्यकक्षमा सर्ने कुरा भयो। त्यसले पनि पुष्टि गर्छ नि,” उनले थपे ।

कस्तो छ प्रधानमन्त्रीको नयाँ कार्यकक्ष?

राष्ट्रिय पुननिर्माण प्राधिकरणले भ्याटबाहेक ८७ करोड रुपैयाँमा लागतमा प्रधानमन्त्री कार्यालय रहेको पुरानो भवनको केही भाग सबलीकरण गरी प्रधानमन्त्रीको लागि नयाँ कार्यकक्ष तयार गरिएको जनाएको छ।

प्रधानमन्त्रीको कार्यालय

उसका अनुसार अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा रहनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कार्यकक्ष तथा बैठक कक्षहरू निर्माण गरिएको हो।

प्रबलीकरण गरिएपछि २०३७ सालमा पुनर्निर्मित यो भवनले “झन्डै आठ रिक्टर स्केलसम्मको” भूकम्प थेग्न सक्ने बताइएको छ।

अत्याधुनिक सुविधासम्पन्न भनिएको नयाँ भवनमा आपत्कालीन तथा अग्निनियन्त्रण संयन्त्र तथा कार्यालयमा २४ घण्टा चल्ने वातानुकूलन प्रणाली जडान गरिएको प्राधिकरणले जनाएको छ ।

विसं २०७२ को विनाशकारी भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमै रहेको स्थानीय विकास मन्त्रालय रहेको नयाँ भवनमा सारिएको थियो।बिबिसीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्