स्वास्थ्य कार्यालयको आह्वान : निर्धक्क कोभिड विरुद्धको खोप लगाउनुस् – Kanika Khabar
Friday, April 19Nepali News Portal

स्वास्थ्य कार्यालयको आह्वान : निर्धक्क कोभिड विरुद्धको खोप लगाउनुस्

    मा प्रकाशित

सपना बोहरा
घोराही, १७ फागुन ।

स्वास्थ्य कार्यालय दाङले कोभिड–१९ विरुद्धको खोप लगाउन सबैमा आहवान गरेको छ । कोभिड बिरुद्धको खोप अभियान सञ्चालनकै क्रममा यस्तो आहवान गरेको हो पहिलो र दोश्रो चरणमा छुटेका व्यक्तिहरु सहित सबैले कोभिड विरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले आहवान गरेको छ ।

पहिलो र दोस्रो चरणमा खोप लगाएकाहरुमा नकारात्मक असर कुनै पनि नदेखिएको भन्दै निर्धक्क भएर सबैलाई खोप लागउन आहवान गरिएको छ । स्वास्थ्य कार्यालय दाङले कोभिड– १९ रोग विरुद्धको खोप अभियानको वारेमा पत्रकारहरुसंग छलफल तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर यही फागुन २३ गतेदेखि शुरु हुने तेश्रो चरणको खोप अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।
छलफलमा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले कोभिड विरुद्धको खोप लगाएर ढुक्क रहन अनुरोध गरेका छन् । ‘पहिलो र दोश्रो चरणको कोभिड विरुद्धको अभियान सकिएको छ, त्यसमा खासै नकारात्मक असर देखिएको छैन्’ छलफलमा उनले भने ‘छुटेकाहरु नडराउनुस, खोप लगाएर ढुक्क हुनुस ।’ कुनै–कुनै व्यक्तिमा सामान्य असर देखिएपनि २४ घण्टा भित्र आफै सामान्य अवस्थामा फर्किएको उनले वताए । ‘अहिले सम्म खोप लगाएकै कारण स्वास्थ्यमा जटिल अवस्था भएको भनेर कुनै रिर्पोट आएको छैन्’ उनले भने ‘खोप लगाएमा केही समयै कोहीलाई मात्र सामान्य रियाक्सन देखिने गरेको छ, आतिनु पर्दैन् ।’ खोप लगाएर जटिल समस्या देखियो भने तुरुन्त नजिकैको स्वास्थ्य चौकीमा जान सुझाव दिएका छन् ।

विशेषगरी ५५ वर्ष देखि माथि भएका उमेरमा व्यक्तिहरुलाई खोपको आवश्यक भएको उनले बताए । उनीहरुसँँग रोगसँग लड्ने क्षमता कम भएकाले कोभिड बिरुद्धको खोप लगाइने उनले वताए । १८ वर्षदेखि कम उमेर भएका किशोर किशोरीहरुले खोप लगाउन नहुने उनले बताए ।

अहिलेसम्म ती उमेरका किशोर किशोरीहरुलाई यो खोप नलगाइएको उनले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शाहीले तेश्रो चरणको कोभिड बिरुद्धको खोप दाङका १० वटै स्थानिय तहमा लगाउने योजना भएको वताए ।यो अभियानलाई सफल पार्नको लागि खोप केन्द्र, खोप कार्यकर्ता, स्वयसेवकलाई समेत खटाईसकेको छ । तेश्रो चरणको खोप अभियान अन्र्तगत राप्ती गाँउपालिकामा ५ हजार ४ सय ३५ जनालाई खोप लगाउने लक्षय लिएको जनाएको छ । त्यसको लागि ४ वटा खोपकेन्द्र तोकेको छ भने ८ जना खोप कार्यकर्ता र १६ जना स्वयसेवक खटाएको छ ।

त्यसैगरी बंगलाचुली गाँउपालिकामा ३ हजार ९ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिएको छ भने २० वटा खोप केन्द्र तोकेको छ । त्यसको लागि २७ जना खो कार्यकर्ता र ६७ जना स्वयसेवक खटाएको छ ।
त्यसैगरी राजपुर गाँउपालिकामा २ हजार ९ सय ५ जनालाई खोप लगाउने लक्ष्य लिएको छ भने १७ वटा खोप केन्द्र तोकेको छ । त्यसको लागि २६ वटा खोप कार्यकर्ता र ६० जना स्वयंसेवक खटाएको छ । त्यसतै ठढवा गाँउपालिकाको लागि ३ हजार ४ सय २९ जनालाई खोप लगाउने लक्ष्य लिएको छ भने ७ वटा खोप केन्द्र तोकेको छ । त्यसको लागि १३ वटा खोप कार्यकर्ता र ११ वटा स्वयसेवकलाई खटाएको छ । त्यस्तै लमही नगरपालिकामा ४ हजार ८ सय ६६ जनालाई लक्षित गरिएको छ भने ३ वटा खोप केन्द्र तोकिएको छ । ५ वटा खोप कार्यकर्ता र ११ वटा स्वयंसेवक खटाएको छ ।

बबई, दंगीशरण, शान्तिनगर गाँउपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकामा पनि लक्षित जनसंख्या तोकिएको छ । त्यसको लागि खोप केन्द्र तोकेर, खोप कार्यकर्ता र स्वंयसेवक पनि खटाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला खोप समन्वय समिति दाङका प्रमुख जयनारायन आचार्यको अध्यक्षतामा छलफल भएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी आचार्यले दाङमा दुई चरणको खोप अभियान पुर्ण रुपमा सफल भएको भन्दै यसमा पनि निर्धक्क भएर पहिले छुटेकाहरुलाई यसपटक सहभागी हुन आग्रह गरेका छन् । कोभिड बिरुद्धको खोप लगाएर आफनो स्वास्थ्य स्वस्थ राख्न सुझाव दिएका थिए । ‘खोप लगाउदा कुनै स्वास्थ्य समस्या देखिए २४ घण्टाभित्र निको हुने र यदि जटिल समस्या देखिएमा सरकारकै तर्फबाट उपचार हुन्छ’ छलफलमा उनले भने ‘ यसकारण पनि सबैले ढुक्क भएर खोप अभियानमा सहभागी हुनु्स ।’
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले स्वस्थताका लागी सबैले खोप लगाउन जरुरी रहेको बताएका थिए । यो अभियानमा निसंकोच सहभागी हुन आग्रह गरेका थिए ।
छलफलमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. बसन्त लामिछानेले ५५ वर्षमाथिका नागरिकले यो खोप लगाउनै पर्ने वताए । ‘तीी उमेरका व्यक्तिहरुसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ’ उनले भने ‘उहाँहरुको लागि यो खोप झनै आवश्यक छ ।’ कोभिड बिरुद्धको खोप आफुले पनि लगाईसकेको र बाहिर हल्ला फैलिए जस्तो कुनै असर नेखिएको उनले बताए ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका प्रशासन अधिकृत अधिकृत बामदेव शर्माले गरेका थिए । कार्यक्रममा कोभिडका फोकल पर्सन कमल चन्दले कोभिड–१९ बिरुद्धको खोपको वारेमा जानकारी गराएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्