थम्मन निर्दोषी बस्नेत
प्रायः प्रतिकुल अवस्थामा मात्र भगवानको नाम जप्ने मानवको प्रमुख विशेषता भन्नु अनुचित किमार्थ हँुदैन । सृष्टिकर्ताले मस्तिष्कलाई अदभूत तरिकाले निर्माण गरिदिएका छन् । यसमा भण्डारण हुने सबै किसिमका जानकारीहरु सधै बरोबर ढङ्गले ताजै रहदैनन् । कतिपय अनुभव र अनुभुतिहरु छोटो समयपछि आफै विलीन भएर जान्छन् भने कतिपय चाँदनीको दाग जस्तै अमिट भएर टाँसिदा रहेछन् । तर मानव अस्तित्वको विडम्बना के रहेछ भने उसले कहिल्यै पनि आफू अनुकूल समयमा उसका पृष्ठभुमिहरु प्रायः सम्झने प्रयास गर्दैन । ऊ एकोहोरो गन्तव्य बिन्दु परपर सार्दै अतृप्त प्यास लिएर अनवरत दौडिरहेको हुन्छ । पाइलाहरु थकित भएर डिग चल्न नसक्दा पनि दृष्टिले गन्तव्य देख्न खोज्न विश्राम लिन मान्दैन अनि शरीरले विश्राम माग्दा पनि मस्तिष्कले भविष्यको आवरण तयार गर्न लालायित भैरहन्छ । अनायास हृदयले ढ्कढकाउछ बालापनका निश्चल, निर्मल, निडर, निस्फिक्री अवोध पलहरु । सांसारिक लालसाको दहमा चुर्लुम्म डुब्ने आम मानवहरुको भिडबाट आफुलाई अलग्याउन नसक्नुको पीडाले एकतमासले घोच्न थाल्दछ । अनि म पनि स्वार्थी मान्छेहरुको छायाले बनाएको अनियंत्रित भिडको दलदलमा लपक्क टाँसिन पुग्छु । कसैको सामु शीर झुकाउदैन भन्ने घमण्डले फुलेको मान्छे म आज अतृप्त चाहनाको चरम पक्षघातले थलिएर आफ्नै सामु घुडा टेकिरहेछु । यो नाश्वर शरीरलाई न उठाउन सक्दछु नत भविष्य खोज्ने पाइला नै पालै पालो टेक्न सक्दछु । अझ महत्वाकांक्षी तमाम मान्छेहरुकै भिडले मेरो छाया किचेर हिँडेको टुलुटुलु हेर्नु पर्ने विवशतालाई आफ्नो भाग्य सङ्ग जोडेर नियतिको चङ्गुल भित्र कैद भएको छु ।
जुन दिनदेखि तिमीलाई मेरो जिवाम्शको बोध भयो तिम्रा अनगिन्ती सपनाहरु चुलिदै सगरमाथाको उचाईलाई कम पार्दै एक एक गरी चाङ्ग लागिरहेका थिए होलान् । तिम्रा सपनाले ठड्याएको उचाईको टुप्पोमा मैले पाइला राखेको दृश्यले तिमीलाई प्रफुल्ल बनाईरहेको हुन्थ्यो । धर्तीमा अवतरण गर्दै गर्दाको मेरो आवाज सुन्न आतुर तिम्रा कानहरुले मेरो पहिलो रुवाइले तिम्रो कानहरु गुञ्जायमान हुदा महिनौको तपस्याबाट ईश्वरीय वरदान प्राप्त गरेकोमा फुरुङ्ग हुँदै शरीर छेदनको पीडालाई चटक्कै बिर्सिएर ओठहरु मुस्कानले भरिएका हुनु पर्दछ । पुस माघको कठ्याङ्गरिने जाडोमा पनि मैले तिम्रो काखलाई पक्स पक्स चिस्याउदा आफ्ना स्नेही कोमल तातो तातो हातहरुले बस्त्र फेर्दा कम्ता सजगताको उदाहरण बनिहौली । मेरा हरेक चालहरुमा हृदयको अन्तस्करनले सर्वत्र कहलिएका महान ज्योतिषीले तयार पारेको चिनामा मस्त भएर मेरै भविष्यको खोजीमा तिम्रा नयनहरु दौडिरहेका हुन्थे होलान। अर्थहीन निस्किएका मेरा ध्वनिहरुले मख्ख पर्दै मेरो हाउभाउको नक्कल गरेर आफ्नो परिपक्वता बिर्सेर मेरै नक्कल गर्दै म सङ्ग बात मारेका तिम्रा विवेकहरु कुनै दर्शन र सिद्धान्त भन्दा रत्तिभर कम थिएनन होला । मैले टोलाएर तिम्रो छाती नचुस्दा निमेष भरमै अत्तालिएर छिया छिया हुने तिम्रो हृदय कति भक्कानियो होला, कति तड्पियो होला त्यसको लेखाजोखा गर्ने गणित अहिले सम्म अस्तित्वमा आएको छैन । दिनभरिको खेतबारीमा पोखिएको शारीरिक परिश्रमको थकानलाई थाती राखेर मेरा चलमलाएका आँखाहरु र वरपरको आकृति अनुसार ओठ मिलाएको दृश्यमा आफ्नो कलाकारिता खोज्ने तिम्रो सृजनशिलता कति अब्बल थियो होला । सृष्टिकर्ता बाहेक सामान्य हृदयले बुझ्न नसक्ने अ.. आ… ओ.. उ…उम्म्म्म्म…..म्म्म्मा…..ओया…. ओया को आवाजलाई अथ्र्याउदैमा मेरो शरीर थुमथुमाउने तिम्रा औलाहरु कति अथक थिए होलान। मेरो पीडामा पीडा बोध गर्ने, मेरो मुस्कानमा जीवन देख्ने तिम्रो मस्तिष्कको क्षितिज कति फराकिलो थियो होला । दैनिक खेतीपाती, चुलो चौको, पानी पधेरो अनि घर गोठको कामले थिची रहदा पनि निरन्तर छल्किरहने तिम्रो मातृवात्सल्यको मुहान कति लामो थियो होला । मेरो कोमल शरीरमा सलबलाउने तिम्रा न्याना हातहरु कति परिश्रमी थिए होलान् । कोशौ टाढाबाट पनि मेरो मुहारलाई चियाई रहने तिम्रा नयनहरुको दृष्टि कति तेजिला थिए होलान् ।
अनुकुल वा प्रतिकुल हर समय सन्तानको आरोग्यता, सफलता, ऐश्वर्यका निमित्त पाइला पाइला अनि आफुले फेर्ने प्रत्येक श्वासमा सन्तानको निमित्त मुटुको चाल मिलाउने तपस्यारत तिम्रा त्यागका पोकाहरुले अहिले पनि थिचिरहे होलान । उता तिमी अहिले पनि मैले खाए नखाएको, सुते नसुतेको, हासे नहासेको, बोले नबोलेको आफ्नै इन्द्रियहरुले अनुभुत गर्न नपाएर छ्टपटाएर आफुलाई मुर्झाउदै हौली । पखेटा पलाएको बचेरा जस्तै आफ्नो गन्तव्य खोज्न आकाशमा उडेको जहाजहरु हेर्दाहेर्दै तिम्रा नयनका तालहरुले मरुभूमि बनेर आगोको लप्काले सेकाए झै सेकिइरहेका होलान । मुहानसङ्ग लटपटिदा लटपटिदै सुख र सन्तुष्टिका अनगिन्ती बाटा अनि घुम्तीहरु अलमलिएर अविरल बग्ने खोला नदी जस्तै ससाना हङ्गालाहरुको बहावमा मिसिदै बिलय भएर जिवनको शाश्वत सत्यलाई भुल्ने दुस्साहसमा निरन्तर जुटिरहेको गुमनाम यात्री बनेको आभाष भएको छ आज। दुनियाँमा कुनै यस्तो बस्तु भेट्टाउन सकिँदैन जस्को कुनै महत्त्व नहोस् । कुन बस्तुको महत्त्व कहाँ , कुनबेला र कसरी हुन्छ भन्ने हेक्का राख्न सबैको बशको कुरा होइन । यद्यपि हर बस्तुले बोक्ने महत्व त्यहिबेला थाहा हुन्छ जुनबेला त्यो बस्तु हाम्रो सामु हुदैन । यन्त्रमानवको आविस्कार गरेर आफुलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मानव जीवनको एउटा आकारमा पुगेर एक्लै सम्हालिन नसक्ने गरी रोइरहेको हुन्छ । बन्द कोठा भित्र निसास्सिएर बौराइरहेको हुन्छ। तर पनि उसले यान्त्रिक जीवनले कल्पिने र हिसाब किताब खोज्ने उस्को दैनिकीको नाफा घाटाको हिसाब गर्न न त गणित भेट्टाउछ, न त गुज्रिएको पल रिवाइन्ड गर्ने कुनै बिज्ञान भेट्टाउछ । जब ऊ फेरि एक पटक निरीह प्राणी बन्छ तब उसले आफ्नो जीवनको सुत्रधारको महिमा सम्झन्छ ।
एउटा जन्मदिने र अर्को पाइला सार्ने आधार दिने दुई दुई आमा पाउँदा पनि कसैलाई जीवनको उर्वर समय दिन नसकी कतै हराएको मलाई आज फेरि तिम्रो स्नेहले लपेटिएको न्यानो काखको सिरानीमा टाउको राखेर आँस्ुले भिजाउने व्यग्रता बढदै गएको छ आमा। फेरि एक पटक ती अथक औलाहरु मेरो कपालको जरा जरामा दौडिएको अनुभूति गर्ने इच्छाले पागल बनाएको छ आमा । तिम्रो लठ्याउने आवाजमा असल आमाको कथा होइन, अब असल सन्तानको कथा सुनेर लुटुक्क निदाउने सपना सङ्गालेको छु आमा । नाङ्गो पाउले तिम्रो छाती कुल्चेर तिम्रो ममताको झोलीमा आफुलाई समर्पण गर्ने अन्तिम इच्छा राखेको छु आमा। म जसरी, जहिले, जुन रुपमा आए पनि ममताले फक्रिएको अङ्गालोमा तिम्रै छाती भित्र सधै भरीलाई निदाउने धोको पूरा गरिदिनु है आमा ।
जीवनको सबै उर्जा सकिएपछि मात्र आमाको ममतामयी काखमा लुटुपुटु गर्ने अन्तिम इच्छा जागृत भएका हर सन्तानहरुलाई हर हमेशा आफ्नो बिशाल मातृवात्सल्यभित्र लुट्पुटाउदै सधै बेरिरहन सक्ने महान दुई आमाहरुको चरणमा यो नाश्वर शरीर समर्पित गद्र्छु ।