कहिले व्यवस्थित होला तुलसीपुर ? – Kanika Khabar
Friday, April 19Nepali News Portal

कहिले व्यवस्थित होला तुलसीपुर ?

    मा प्रकाशित

बालाराम खड्का

तुलसीपुर, १९ फागुन ।

तुलसीपुरलाई स्मार्ट सिटीको रुपमा विकास गरिने उद्घोष गरिएको छ । स्मार्ट सिटीका साँघुरा सडकले दैनिक ट्राफिक व्यवस्थापनमा चुनौती थपेका छन् । ५ मिटरको सडकमा निर्माण सामग्री त्यही छ, फुटपाथको पसल त्यहीँ, पैदल यात्रुहरु त्यसैमा हिँड्नुपर्ने बाध्यता छ ।

त्यसैमा हेवी सवारीका साधन र वरपर सडकमा साना–ठूला सवारीका साधनहरु अस्तव्यस्त पार्किङले दुर्घटनाको जोखिम बढाउँदै गएको छ । ट्राफिकलाई यस विषयमा दैनिक टाउको दुखाई भएको छ । विभिन्न स्थानमा निश्चित पार्किङको लागि होर्डिङ बोर्ड राखिएको छ तर पार्किङको दीर्घकालीन व्यवस्थापनको सवालमा न त स्थानीय सरकार गम्भीर छ नत सरोकारवालाहरु नै । यो विषयमा बेला–बेलामा कुरा उठ्ने गरे पनि त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन ।

मंगलवार दिनभर ट्राफिक प्रहरी कार्यालयका प्रमुखसहित सवै ट्राफिक प्रहरीहरु सडकमै ट्राफिक व्यवस्थापनमा तल्लिन थिए । उनीहरुले एउटा रोडमा पार्किङ व्यवस्थापनको काम गरिहँदा अर्को रोडमा गाडीको फेरि त्यस्तै अवस्था देखिने समस्या थियो । पर्याप्त जनशक्तिको कमी तथा साँघुरो सडकमा पनि ट्राफिक व्यवस्थापन र सडक पेटी खाली गर्ने अभियानलाई भने ट्राफिक प्रहरीले निरन्तरता दिइरहेको छ ।

मंगलवारजस्तै दिनहुँ ट्राफिक प्रहरीले बजार व्यवस्थापन र ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न खोजे पनि स्थानको अभाव र साँघुरो सडकले त्यसको दीर्घकालीन व्यवस्थापन हुन नसकेको अधिकारीहरु बताउँछन् । कसैले अटेरी त कसैले जान–अञ्जान तथा स्थान अभावले समस्या व्यहोर्नुपर्ने अवस्था आएको सवारी चालकहरु बताउँछन् ।

‘सडकछेउभरि मोटरसाइकल छन्, कहाँ पर्किङ गर्ने हामीलाई पनि समस्या छ’, मोटरसाइकल चालक रविचन्द्र गिरीले गुनासो गरे । त्यस्तै कारचालक सविन केसीले पनि ट्राफिक नियम मान्नुपर्ने भए पनि पर्याप्त स्थान अभावका कारण आफूहरुलाई पर्किङको समस्या हुने गरेको बताए ।

त्यस्तै ट्राफिक प्रहरी प्रमुख चन्द्र केसीले आफूहरु दैनिक ट्राफिक व्यवस्थापनमा लागे पनि धेरै समस्या हुने गरेको बताए । उनले सडकका डेलागाडी फुटपाथदेखि बाटो छेक्ने गरी राखिएका निर्माण सामग्रीले पनि ट्राफिक व्यवस्थापनमा चुनौती भएको बताए । ‘हामीले जतिसक्यो व्यवस्थापनमा लागेका छौं तर सधै यसरी दैनिक हिँडेर कहाँ सम्भव हुन्छ’, उनले भने । उनले कारबाही गरेर मात्र ट्राफिक व्यवस्थापन नहुने भन्दै सचेतना र त्यसको स्थायी व्यवस्थापन आवश्यक रहेको बताए ।

उनले सबै बजारमा माल–सामानका गोदामहरु रहेकाले लोड–अनलोड गर्दा पनि समस्या हुने गरेको भन्दै यसलाई व्यवस्थापन गर्नुपर्ने बताए । दैनिक गाडीहरुको संख्या बढिरहेको र जनघनत्व पनि बढी भएकाले समस्या हुने गरेको बताइएको छ । यसको दीर्घकालीन व्यवस्थान नहुँदासम्म तुलसीपुरको बजार व्यवस्थित नहुने देखिएको छ ।

पुरानो संरचनाका कारण त्यतिबेलाका सडकहरु अहिले साँघुरो हँुदै गएका छन् । बाइपास रोडहरु नहुँदा ठूला सवारीका साधनहरुदेखि सबै सवारीका साधनहरु मुख्य बजारबाटै आवत–जावत हुने अवस्था छ । त्यसमा पनि बजारमा घरहरु निर्माण गर्दा निर्माण सामग्रीहरु पनि बाटोमै राख्ने प्रचलनले बजार व्यवस्थापनमा समस्या हुने गरेको स्थानीयहरु बताउँछन् ।

तुलसीपुर उपमहानगरपालिकाले पटक–पटक घरहरु निर्माण गर्दा सडकमा निर्माण सामग्री नराख्न सूचना जारी गरे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । सडकैभरि बालुवा, इट्टा, सरियाहरु रहेकाले पनि सवारी आवागमनमा समस्या हुने गरेको छ । ‘सडकै ढाक्नेगरी निर्माण सामग्री हुन्छ त्यही बाटोमा गाडी, पैदलयात्रु अनि कसरी हुन्छ बजार व्यवस्थापन ?’, पैदलयात्रु यमुना भुसालले भनिन् । उनले यसले गर्दा बजारमा बृद्ध, बालबालिका र स्कुले विद्यार्थीहरुलाई झनै समस्या हुने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले यसअघि फुटपाथका व्यापारहरु हटाउनुका साथै ठेला रिक्सालाई पनि बन्देज लगाएको थियो । तर पछिल्लो समयमा त्यो केही हदसम्म रोकिएको छ । यस विषमा स्थानीय सरकारले पनि चासो देखाउनुपर्ने र नियम उल्लंघन गर्ने जो–कोहीलाई पनि कारबाही गर्नुपर्ने स्थानीयहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्