विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

    मा प्रकाशित

किशोरी सामुदायिक विद्यालयमा छोरीको सङ्ख्या धेरै हुने भएकाले भएका शौचालय पनि किशोरीका लागि पर्याप्त नभएको बताउँछन् । कक्षा ९ मा अध्ययनरत किशोरी सुष्मा विक एकैपटक शौचालयमा चार÷पाँच जना छिनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । “शौचालयमा पानी छ तर छोरीहरुका लागि केही मात्र शौचालय छन् । हामी ६०० छोरी छौँ, अनि शौचालय सफा होला त ?”, सुष्माले भन्नुभयो, “महिनावारीको समयमा यी शौचालय प्रयोग गर्न कठिन हुन्छ । महिनावारीको समयमा प्याड व्यवस्थापन कहाँ गर्ने ? पोको पारेर घर ल्याएर फाल्नुपर्ने बाध्यता छ ।” यद्यपि शिक्षिका भने छोरीहरुले आफूलाई समस्या खुलेरै बताए सहयोग गर्ने गरेको बताउँछन् । महिनावारी वा अन्य समस्या भए खुलरै आउन शिक्षिका बेवना केसी आग्रह गर्नुहुन्छ । “हामी महिला भएकाले छोरीहरुका समस्या कस्ता हुन्छन् भन्ने ज्ञान छ । उनीहरुलाई हरेक कक्षामा समस्या खुलेर भन्न भन्छौँ”, शिक्षिका केसीले भन्नुभयो, “भएका सुविधा दिन, उनीहरुका कुरा सुन्ने, उनीहरुका मनमा गलत कुरा नखेलुन् भनी सचेत छौँ ।”

शिक्षिका पद्मा बम आफूले किशोरीसँग साथीजस्तै व्यवहार गर्ने गरेको बताउनुहुन्छ । “उनीहरुका लागि आराम कक्ष, खाजा खाने छुट्टै ठाउँ आवश्यक छ । सामुदायिक विद्यालयमा धेरै सुविधा छैनन्”, उहाँ भन्नुहुन्छ, “छोरीहरुलाई महिनावारीको समयमा साइकल चलाएर विद्यालय आउन कठिन हुन्छ । कसैलाई रगत बढी बगेर कक्षामा बस्नै गाह्रो हुन्छ । उनीहरुका यस्ता समस्या समाधानका लागि अभिभावकसँग पनि छलफल गर्ने गरेकी छु ।” शिक्षिका माया पोखरेल आफूले किशोरीका समस्या बुझेर किशोरीसँग सम्बन्धित क्रियाकलापमा कक्षा लिने गरेको बताउनुभयो । “महिनावारीमा सरसफाइ, यौनजन्य हिंसा, बलात्कार, बालविवाहबारे जनचेतना जगाउने काम गरिरहेकी छु”, पोखरेलले भन्नुभयो, “किशोरावस्थामा हुने गलत विचार, गलत बाटोबाट छोरीहरुलाई जोगाउन पनि यस्ता क्रियाकलाप आवश्यक छन् ।”

विद्यालयलाई छात्रामैत्री बनाउन आफूले पहल गर्ने मोती मावि मोतीनगर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरी बताउनुहुन्छ । “छोरा वा छोरी दुवैका लागि वातावरण सहज हुनुपर्छ । हामी सहज वातावरण बनाउन क्रियाशील छौँ”, अध्यक्ष गिरीले भन्नुभयो, “अब छोरीहरुका समस्याबारे विद्यालयमा नियमित छलफल गर्नेछौँ । हामी विद्यालयमा स्वास्थ्य सचेतनाका लागि पनि गाउँपालिकासँग पहल गर्छौँ ।”

नेपालको संविधानको धारा ३८ मा रहेको महिलाको हकअन्तर्गत उपधारा (५) मा ‘महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । संविधानमा भनेजस्तै शिक्षा आर्जन गर्न छोरीहरुका लागि विद्यालयमा हुनुपर्ने सुविधा भने पुगेको छैन । छोरीहरुको सिकाइ उपलब्धि बढाउन छोरीहरुका लागि छोरीमैत्री वातावरण हुनुपर्छ । कैलालीका अधिकांश विद्यालय किशोरीमैत्री बन्न सकेको देखिँदैन । जानकी गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख धर्मानन्द कपाडी छोरीहरुका लागि विद्यालयमा पर्याप्त सुविधा दिन नसकेको बताउनुहुन्छ ।

“पालिकासँग बजेट अभावका कारण हामीले शौचालय, स्यानिटरी प्याडबाहेक अन्य सुविधा दिन नसकेको अवस्था छ । आउँदा दिनमा सबै विद्यालय किशोरीमैत्री बनाउने अभियानमा छौँ”, उहाँ भन्नुहुन्छ, “शिक्षा पाउनु सबैको अधिकार हो । पढाइका लागि विद्यालयको वातावरण सबैका लागि सजिलो हुन आवश्यक छ । अझ छोरीहरुका लागि थप सुविधा आवश्यक पर्छ । छोरीका लागि घर र विद्यालय दुवै ठाउँमा विशेष वातावरण चाहिन्छ भन्ने कुरामा हामी गम्भीर छौँ । हरेक विद्यालयमा जनचेतना जगाउने खालका कार्यक्रम गर्ने तयारी छ ।”

कैलालीको टीकापुर नगरपालिकाले भने छोरीहरुका समस्या समाधानका लागि सामुदायिक विद्यालयमा साथी शिक्षा कार्यक्रम लागू गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा एक पुरुष, एक महिला शिक्षक, एक छात्र र एक छात्रालाई साथी शिक्षकको तालीम दिएर परिचालन गरेको छ । उनीहरुले विद्यालयमा किशोरावस्थाका समस्या समाधानका लागि छलफल चलाउने, सम्झाउने लगायतका काम गर्ने गरेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो ।

“हामीले स्वास्थ्य संस्थालाई पनि किशोरकिशोरी मैत्री बनाएका छौँ । हरेक स्वास्थ्य संस्थामा महिलाका लागि महिला र पुरुषका लागि पुरुष स्वास्थ्यकर्मीको व्यवस्था छ”, संयोजक रावलले भन्नुभयो, “किशोरावस्थामा आएका परिवर्तन र स्वास्थ्य समस्या उनीहरुले खुलेर भनुन् र उपचार सेवा लिउन् भन्ने उद्देश्य हो । यो सेवा हरेक साताको शुक्रबार १ बजेदेखि ३ बजेसम्म दिइन्छ ।”

नगरपालिकाले साथी शिक्षक तथा शिक्षिकालाई समस्या भएकालाई उपचारमा ल्याउन, मनो समस्या भएकालाई मनोसामाजिक परामर्शदातासम्म पुर्याउने काम पनि गर्ने गरेको जनाएको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्