मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिनेछः कृषिमन्त्री – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिनेछः कृषिमन्त्री

    मा प्रकाशित

काठमाडौँ, फागुन २१ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको र अब अभाव नहुने बताउनुभयो ।

उहाँले अब मल आपूर्ति अनुमानमा नभई तथ्य र आवश्यकताका आधारमा गरिनेसमेत स्पष्ट पार्नुभयो । “मलको आपूर्ति अनुमानका आधारमा होइन, तथ्य र आवश्यकताका आधारमा गर्ने गरी प्रदेशहरुसँग आवश्यकताको माग गरिएको छ । त्यसका आधारमा प्रबन्ध गरिनेछ”, उहाँले भन्नुभयो ।

मन्त्री अर्यालले दीर्घकालीनरूपमै मलको समस्या समाधान गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभयो । उहाँले रासायनिक मलको कारखाना खोल्नका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताउनुभयो । “अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि मन्त्रालयका सचिवलाई कारखाना उद्योग खोल्नका लागि कार्ययोजना तयार गर्न भनेका छौँ”, उहाँले भन्नुभयो, “कार्ययोजना प्रस्तुत गरेपछि मन्त्रिपरिष्दमा उद्योग खोल्नका लागि प्रस्ताव लगिनेछ ।”

चालु आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल (युरिया मल दुई लाख ८२ हजार ५००, डिएपी दुई लाख दुई हजार ५०० र पोटास १५ हजार) आयात गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताउनुभयो । सोमध्ये चालु आवमा एक लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको तथा एक लाख ६२ हजार मेट्रिक टन मौज्दात र दुई लाख ६९ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा छ ।मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने उहाँको भनाइ थियो ।
मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले भदौ–असोजमा मल ल्याउन थालिए पनि ढिला भएकाले अब आउने मल किसानका लागि पर्याप्त हुने बताउनुभयो । उहाँका अनुसार रासायनिक मात्र नभएर प्राङ्गारिक मललाई पनि सरकारले प्राथमिकतामा राखेको छ ।उहाँले सबै पालिकामा ‘भकारो सुधार’ कार्यक्रमलाई पुनः सञ्चालन गरेर प्राङ्गारिक मल उत्पादन गरिने बताउनुभयो ।
मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले दुई लाख मेट्रिक टन मल आगामी धान यामका लागि मौज्दात रहेको बताउनुभयो । उहाँका अनुसार पाँच÷सात वर्षसम्म आपूर्ति गर्नका लागि सरकारले सरकारबाट सरकार (जिटुजी) का माध्यमबाट मल खरीद गर्ने तयारी गरेको छ । उहाँका अनुसार पछिल्ला तीन वर्षको बिक्रीका आधारमा साउनदेखि असोजसम्म एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने अनुमान गरिएको छ जुन यस आवकै बाँकी मलबाट पूर्ति हुने देखिन्छ । आगामी आवको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिकमा करीब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यही महिनादेखि आयात प्रक्रिया शुरु गरिने उहाँले जानकारी दिनुभयो ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्