‘मलालाले पाएको पुरस्कार पाएँ भनेर खुसी लागेको छ, अब अझ धेरै सङ्घर्ष गर्छु’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘मलालाले पाएको पुरस्कार पाएँ भनेर खुसी लागेको छ, अब अझ धेरै सङ्घर्ष गर्छु’

    मा प्रकाशित

फागुन २२, काठमाडौं ।

तेजाब हमलामा परेकी मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले दिने एउटा प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन्।

अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन्।

“यो पुरस्कार मैले पाएँ भनेर मैले आज बिहानै दूतावासबाट फोन आएपछि थाहा पाएँ, एकदमै खुसी लागेको छ र यो क्षेत्रमा अझ धेरै संघर्ष गर्नेछु,” खातुनले बीबीसी न्यूज नेपालीसँग भनिन्।

खातुनलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् अमेरिकी प्रथम महिलाले प्रदान गर्नेछिन्।

कानुन परिवर्तनमा भूमिका

यसअघि यो पुरस्कार पाकिस्तानमा बालिका शिक्षाका लागि वकालत गर्दै आएकी नोबेल शान्ति पुरस्कार बिजेता मलाला युसाफजाइले पनि पाइसकेकी छन्।

खातुनले मलालाले पनि यो पुरस्कार पहिला पाएकी थिइन् भन्ने कुराले आफूलाई थप खुसी तुल्याएको बताइन्।

“मलालाले पाइसकेको पुरस्कार मैले पनि पाएँ भनेर मलाई खुसी लाग्यो। मैले जस्तै अन्य महिलाले पीडा भोग्नु नपरोस् भनेर अझ धेरै काम गर्छु।”

सन् २०१९ मा मुस्कान १५ वर्षकी छँदा एक किशोरका प्रेम-प्रस्ताव अस्वीकार गरेकोमा तेजाब हमलाको सिकार भएकी खातुन दुईपटक गरेर करिब सात महिना अस्पतालमा उपचाररत थिइन्।

मुस्कान खातुन

अनुहार र शरीरमा चोट लागेकी उनले आफू पीडित भएयता एसिड आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाउँदै आएकी थिइन्।

यसअघि बीबीसीसँग अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्, “मैले जस्तो कसैले भोग्नु नपरोस्। एसिडले पोलेको दागले मेरो सपना छेक्न सक्दैन।”

सरकारले केही महिनाअघि त्यस्तो अपराध गर्नेलाई कडा सजाय हुनेगरी कानुनमा परिवर्तन गरेको थियो।

“यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो । नेपालस्थित अमेरिकी दूतावासलाई उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्नमा गर्व छ,” दूतावासले आफ्नो वेबसाइटमा लेखेको छ।

मुस्कान खातुन आफ्ना शिक्षकहरूसँग

दक्षिण एसियामा कति महिलाले पाए सम्मान?

विगत १५ वर्षदेखि दिँदै आएको यो अवार्ड अहिलेसम्म अमेरिकी सरकारले विश्वभरका ७५ देशका १५५ जनालाई प्रदान गरिसकेको छ।

शान्त, न्याय, मानवअधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने महिलालाई यो पुरस्कार दिने बताइन्छ।

यो वर्ष विश्वभरिबाट १४ जनाले पाएकोमा दक्षिण एसियाबाट पाउनेमा खातुन र श्रीलङ्काकी एक वकिल छन्।

यसअघि दक्षिण एसियामा अफगानिस्तान, बाङ्ग्लादेश, पाकिस्तानलगायत देशका महिलाले पाइसकेका छन्।बिबिसीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्