‘मनको आगोले घरिघरि पोलिरहन्छ’ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

‘मनको आगोले घरिघरि पोलिरहन्छ’

    मा प्रकाशित

फागुन २३, ताप्लेजुङ ।

फुची शेर्पाका आँखाबाट आँसु बग्न रोकिएको छ । परदेखि नै प्रष्ट ठम्याउन सकिन्छ उहाँ रुँदा रुँदै थाक्नु भएको हो भनेर । नजिक पुगेर नियाल्दा आँशु गालामा लत्पत्तिएको देखिन्छ । उनका गालामा परेका आँसुका डोभ अझै मेटिएका छैनन् । फुचीका जस्तै दोभानका ६३ परिवारको अवस्था उस्तै छ ।

यो घटना हो ताप्लेजुङको मेरिङदेन–३ दोभान बजारको । गत मङ्गलबार बिहान ९ बजे केही छिनमै ६३ परिवार बिचल्लीमा परेको थियो । पुर्खौँदेखि आधा पेट खाएर जोगाएको सम्पत्ति हेर्दा–हेर्दै खारानीमा रुपान्तरण भएको थियो ।

बलिरहेको आगो फुङ्लिङ नगरपालिकाको दमकल र पाँचथर फिदिमका दमकलले आगो निभायो । तर, आगो निभेको आज पाँच दिन हुँदै गर्दा पनि फुचीको मनमा आगो बलिरहेको छ । मन भित्रभित्रै जलिरहेको छ । बाजेको पालादेखि आधा पेट खाएर जोगाएको पैसाले बनाएको घर जलेकाले उनको मन पिरोलेको हो ।

“बिहान बेलुका हातमुख जोड्न सक्ने आशा थियो । आज ती आशा निराशा भएको छ । पाखुरामा तागत भइञ्जेल कमाएर जोगाएर राखेको सम्पत्ति खरानी भयो”, उनले भनिन् । धान जलेको खरानी हातले उठाउँदै फुची भनिन्, “खाइनखाइ जोहो गरेर राखेको अन्न आज यस्तो भयो ।”

उनी दिनभरि आफ्नो जलेर खरानी भएको घरको घडेरीमा दिन बिताइन् । घाम अस्ताउँदै जान्छ । विस्तारै अँध्यारो हुँदै जान्छ । अनि उनी अलिक तल सुगुरको खोरमा गएर रात बिताइन् । विभिन्न सङ्घसंस्थाले तथा व्यक्तिले राहत वितरण गर्छन् तर उहाँ राहत थाप्न पनि जान सक्नुभएको छैन ।

गत बिहीबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की आएर राहत वितरण गरे । प्रदेश सरकारले आगलागीबाट पीडित प्रतिपरिवार रु ५० हजार र डेरा गरी बस्ने परिवारलाई रु ३० हजार नगद राहत उपलब्ध गराउने घोषणा गरे । तर, फुची त्यहाँ पुग्नुभएन ।

गत शुक्रबार पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई आगलागी प्रभावित क्षेत्रमा पुगेका थिए । आगलागी भएको बजारको अवलोकन गरे । सांसद भट्टराईले फुचीलाई सोधे, “तपाईँको घर कहाँ थियो”, उनले भनिन्,  “यही थियो, अहिले यस्तो भयो ।”

शुक्रबार भट्टराईले तत्कालका लागि रु पाँच लाख र  प्रदेश नं १ का प्रदेशसभा सदस्य होमकुमारी साँवाले रु ५० हजार नगद राहत सहयोग हस्तान्तरण गरे ।

मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशप्रसाद लिम्बूले पनि यहाँका पीडितलाई त्यो घटना भुल्न गाह्रो भएको बताए । शुक्रबार बिहान सञ्जय योङयाङ खरानी भएको आफ्नो घरको घडेरी देखाउँदै भने, “अहिलेसम्म दुःख गरेर बनाएको घर र जोगाएर राखेको अन्न पैसा सबै खरानी भयो ।”

उनले घरदेखि आफूले लगाएको कपडाबाहेक अरु केही निकाल्न पाएन । उनले भने, “अब कसरी बाँकी जिन्दगी चलाउने कमाउने उमेर पनि गइसक्यो ।”

दोभान बजारका अर्का व्यापारी हुन् लोकेन्द्र अधिकारी । उनले व्यवसाय  सञ्चालन गर्नका लागि बैंकबाट ऋण लिएका थिए । बैंकमा ऋण तिर्न जम्मा गरेको रु १७ लाख आगोमा जलेर खरानी भयो ।

उनले आगोमै १७ तोला चाँदी र ८० हजार केजी अलैँची सहित तीन घर हेर्दाहेर्दै खरानी भयो । उनले भने, “मन ठूलो भयो । बैंकबाट ऋण लिएर तीनवटा घर बनाइयो तर आज भएभरका सबै खरानी भयो ।”

उनको तीन घर जलेर खरानी भयो । बैंकलाई तिर्न जोहो गरेको पैसा खरानी भयो । वर्षौँदेखि आधा खाइनखाइ आर्जन गरेको सम्पत्ति क्षणभरमै खरानीमा रुपान्तरण भयो ।

यी पीडा प्रतिनिधिमूलक मात्र हो, यहाँ पीडित हुने ६३ परिवारको कथाव्यथा करुणामय छ, पीडामा डुबेको छ । यसबाट पूर्वतः अवस्थामा आउन निकै समय लाग्ने सहजै अनुमान लगाउन सकिन्छ ।

ताप्लेजुङको दोस्रो ठूलो बजार दोभान हो । दोभान बजार मिक्वाखोला गाउँपालिका, मैवाखो गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको व्यापारिक केन्द्र हो ।

दोभान बजार ताप्लेजुङको सदरमुकामदेखि करिब आठ किमीे मिटरको दूरीमा पर्छ । आगलागीबाट विस्थापितले व्यापार गरेवापत १३ प्रतिशत नेपाल सरकारलाई राजश्व तिर्दै आएको विस्थापित व्यापारी दीपक धितालले बताए ।

अहिले घर व्यवसाय सबै खरानी भएर बिचल्ली भएको अवस्थामा तीन तहका सरकारले सहयोग गर्न राज्यको कर्तव्य भएको धिताल बताए । दोभान व्यापारी केन्द्र भएकाले बजार पुनःस्थापना गर्न नेपाल सरकारले पहल गर्ने सांसद भट्टराईले बताए । उनले भने, “आगलागीबाट विस्थापित परिवारलाई सरकारले बिचल्लीमा पर्न दिनेछैन । सरकार आगलागी पीडितलाई पुनःस्थापनाको पक्षमा छ ।”

बजार विस्तार गर्दा शहरी विकास विभागको मापदण्डअनुसार बस्ती विस्तार गर्न भट्टराईले आग्रह गरे । विस्थापित परिवारको वास्तविकता पहिचान गरेर पठाउनसमेत जनप्रतिनिधि र कर्मचारीलाई भट्टराईले आनुरोध गरे ।

मङ्गलबार बिहान दोभान बजारमा भएको आगलागीको घटनाबाट ६३ परिवारको रु ४० करोडभन्दा बढीको सम्पत्ति खरानी भयो ।  ताप्लेजुङमा एकपछि अर्को आगलागी घटना थपिँदै जाने क्रम छ । एघार महिनाभित्र विभिन्न क्षेत्रमा आगलागी भएको छ । गत वैशाख १९ गते फुङ्लिङ बजारको बैंक लाइनमा आगलागी हुँदा १२ घर जलेर नष्ट भएको थियो ।

पुस ५ मा  पाथीभरा क्षेत्रमा आगलागी हुँदा १५० हेक्टर वन जलेर नष्ट भएको छ । माघ २० सिरिजङ्घा गाउँपालिकामा आगलागीमा पाँच घर जलेर नष्ट भएको भएको छ ।  ताप्लेजुङमा १७ वर्षको तथ्याङ्क  हेर्दा फुङ्लिङ बजारमा मात्र १५२ घर जलेर नष्ट भएको छ । तीन सय ९३ परिवार आगलागीबाट विस्थापित भएका छन् । धेरैजसो आगलागी घटना विद्युत् चुहिएर भएको तथ्याङ्क छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्