दाङमा पहिलो पटक राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता हुँदै – Kanika Khabar
Thursday, March 28Nepali News Portal

दाङमा पहिलो पटक राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता हुँदै

    मा प्रकाशित

दाङ, ८ चैत । दाङमा पहिलोपटक राष्ट्रियस्तरको लोक दोहोरी गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लोक दोहोरी गीत प्रतियोगिता यही चैत २६, २७ र २८ गते गर्न लागिएको जानकारी गराइएको छ । प्रतियोगितामा देशभरका ७७ वटै जिल्लाबाट प्रतिष्पर्धीले भाग लिनसक्ने प्रतिष्ठानका अध्यक्ष दाहालले बताए ।

लोक संगीतको प्रवद्र्धन गर्न, नयाँ कलाकार पहिचान, उत्पादन तथा सांस्कृतिक पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता हुन लागेको बताइएको छ । जिल्लामा पहिलोपटक आयोजना हुन लागेको लोक दोहोरीको महासंग्रामका विजेताले नगद १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतिष्ठानका उपाध्यक्ष काशीराम केसीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष र महिलालाई जनही ५÷५ हजार उपलब्ध गराइने भएको छ ।

प्रतियोगिता सञ्चालनको सबै व्यवस्थापकीय अनुमति पाइसकेको बताउँदै जिल्ला समन्वय समितिको प्राङ्गणमा कार्यक्रम हुने उपाध्यक्ष केसीले बताए । करीब साढे सात लाख प्रारम्भिक लागत अनुमान गरिएको प्रतियोगिताको निर्णायक केन्द्रीय कलाकार रहने बताइएको छ । जिल्ला बाहिरबाट आउने प्रतिष्पर्धी कलाकारहरुलाई भत्ताको पनि व्यवस्थापन गरिएको जानकारी गराउँदै प्रतिष्ठानकी महिला उपाध्यक्ष विमला खड्काले टिम दर्ता शुल्क एक हजार तोकिएको बताइन् ।

प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको सो अवसरमा जानकारी गराइएको छ । जसअनुसार सांस्कृतिक उपसमिति संयोजकमा प्रेम शर्मा, आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा महेन्द्र बुढाथोकी, प्रचार–प्रसार उपसमिति संयोजकमा प्रेमविवश घर्ती, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा विमला खड्का, अतिथि स्वागत सत्कार उपसमिति संयोजकमा चाहना झाँक्री, आवास व्यवस्थापन उपसमिति संयोजकमा काशीराम केसी र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा मनोज रसाईलीलाई जिम्मेवारी दिइएको प्रतिष्ठानका अध्यक्ष दाहालले बताएका छन् ।

कार्यक्रम राजेन्द्र दाहालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सबिन प्रियासनको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सहजीकरण प्रेम विवश घर्तीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्