कविता : हाेली – Kanika Khabar
Friday, March 29Nepali News Portal

कविता : हाेली

    मा प्रकाशित

भो नगर अब ती फुस्रा रङका कुरा
रंगिन दुनियाँ अनि सपनाका कुरा
परेलीमा अश्रुढिक्का तर्लङ्ग झुन्डाएर
क्षितिजमा डुब्न लागेको घामलाई नियाल्दै
आशाको पङ्ख फिँजाएकी सप्तरंगी ईन्द्रेणी
देखिसकेको छु मैले
नौ जाले जाली मायाको तरंग ल्याएर
मेरो जिन्दगीका रंगहरु मेटाउँदै
पटक-पटक मेरो आघात हृदयसँग
रक्तिम होली खेलिसकेकी छौ तिमी
तिम्रो अघोरी रुपको मिठो भाङ धतुरो
तिम्रा मदहोशी मृगनयनमा लत्पतिएको
गाजलभित्र गुजुल्टिएका गाँजाहरु
अनि तिम्रो सिरुपाते ओँठबाट
चुहिएका चमत्कारिक चरस रसहरु
धेरै खाएँ, पिएँ र लट्ठिएँ पनि
तिम्रै प्राप्तिका खातिर
मदहोशीमा वरालिँदा यताउति
पटक-पटक गुमाएको छु आफूलाई
तिम्रो आडम्वरी असुरशक्तिको
दुश्चक्रमा परी गुमनाम भएको छु
तर आज, यो पवित्र होलीको दिनमा
पश्चातापको आगोमा दहन गरिदिन्छु
तिम्रो छद्मवेशी होलिकारुपी चरित्रलाई
भष्म गरिदिन्छु यो हृदयको कुना कुनामा
आसिन तिम्रो आसुरी अस्तित्वलाई
अनि खेल्छु म मेरो आफ्नै अस्तित्वको होली

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्