देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो – Kanika Khabar
Friday, April 19Nepali News Portal

देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो

    मा प्रकाशित

श्रीराम सुवेदी 

चैत २४, काठमाडाै ।

नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो। वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६ वायू प्रदूषण सूचकांक (एक्युआई) सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ।

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको छ। वातावरण विभागको तथ्यांकअनुसार रारा तालनजिकै राखिएको प्रदूषण मापन स्टेसनले गत २४ घण्टाको सरदर एक्युआई २१० पुगेको देखाएको छ। एक्युआई २०० देखि ३०० सम्म रहेको अवश्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले ‘अत्यन्त अस्वस्थकर’ मानिन्छ।

प्रदूषणको यो तह मानव स्वास्थ्यका लागि संवेदनशील प्रकृतिको हुने भएकाले सकेसम्म घरभित्रै रहन उपयुक्त ठानिन्छ। रारामात्र होइन, प्रदूषणको हिसाबले धनगढी, भरतपुर, सिमरा तथा सौराहा सबैभन्दा अघि रहे। ती स्थानमा सोमबार एक्युआई ३ सय नाघेको छ। ३०० देखि ४०० सम्मको एक्युआई जनस्वास्थ्यको हिसाबले घातक मानिन्छ। गत वर्ष जारी गरिएको काठमाडौं उपत्यका वायु गुणस्तर कार्ययोजनामा एक्युआईले ३ सय अंक नाघेमा प्रदूषणका हिसाबले विपद्को स्थिति भनिएको छ।

सोमबार राजधानीको आकाशमा बादल नभए पनि तुवाँलोले सूर्यको प्रकाश छेकेका कारण वातावरण धुम्मिएको थियो। राजधानीका विभिन्न स्थानमा जडान गरिएका वायु प्रदूषण मापक स्टेसनले सोमबार काठमाडौंको हावा अस्वस्थकर रहेको देखाए। कीर्तिपुर, रत्नपार्क, भक्तपुर तथा भैंसेपाटीमा रहेका वायु प्रदूषण मापन केन्द्रले पछिल्लो २४ घण्टामा एक्युआई २०० देखि २५० सम्म पुगेको देखाए। गत बुधबार पानी परेपछि राजधानीले केही राहत पाएको थियो।

त्यसपछि पानी पर्न रोकिएको र वायुको गति पनि कमजोर भएकाले राजधानीको आकाशमा रहेका प्रदूषणका घातक कण सफा हुन पाएका छैनन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अगामी २–३ दिन मौसममा सुधार आउने सम्भावना छैन। ‘अहिले काठमाडौंको वायुमण्डल स्थिर छ। यस्तो बेला प्रदूषणका कण छरिन र बाहिरिन पाउँदैनन्,’ उनले भने। मंगलबार र बुधवार कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने उनले बताए।

देशव्यापी रूपमा जंगलमा डढेलो लागे पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन। वन तथा भूसंरक्षण विभागको अनलाइन फायर एलर्टका अनुसार सोमबार साँझ देशका ६० जिल्लाका ५ सय ३० स्थानमा डढेलो लागेको छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल भारत तथा नेपालको तराई क्षेत्रमा किसानले छैमल बाल्दा निस्कने धुवाँ, वनमा लागेको डढेलो र राजधानीका लाखौं सवारीसाधनका कारण प्रदूषण बढेको तर्क गर्छन्। उनले सुरक्षा निकाय तथा स्थानीय सरकाले आफ्नो हिसाबले डढेलो नियन्त्रण प्रयास गरेको दाबी गरे। ‘वनक्षेत्र प्रदेश सरकारको जिम्मामा छ।

वनको व्यवस्थापनमा २३ हजारभन्दा वढी सामुदायिक वन उपभोक्ता समिति जुटेका छन्। तर डढेलो नियन्त्रणमा समन्वय र सहकार्य हुन सकेको छैन,’ उनले भने। उनले वन तथा वातावरण मन्त्रीको उपस्थितिमा सोमबार बसेको बैठकमा डढेलो नियन्त्रणका लागि ठोस कार्यक्रम ल्याउन छलफल भएको बताए। पछिल्ला दिनमा अकस्मात बढेको प्रदूषणले आँखा पोल्ने, साास फेर्न कठिनाइ हुने, घाँटीमा खसखसलगायतका समस्याले राजधानीवासी आक्रान्त छन्। प्रदूषणका कारण सरकारले गत साता ४ दिन विद्यालय तथा कलेजमा पठनपाठनसमेत बन्द गर्नुपरेको थियो।

आइतबारदेखि विद्यालय तथा कलेज खुलेका छन्। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले गत साता एक विज्ञप्ति नै निकालेर प्रदूषणको अत्यधिक स्तरले बालबालिक, जेष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका रोगी बढी प्रभावित हुने भएकाले त्यो समूह सकेसम्म घरबाहिर ननिस्कन र अन्य उमेर समूहका पनि सम्भव भएसम्म घरबाहिर ननिस्कन, निस्कनै परेमा विशेष सावधानी अपनाउन अनुरोध गरेको थियो।

विभागले आगो बाल्दा प्रदूषण बढ्ने भएकाले फोहोर बाल्ने तथा खुला रूपमा आगो बाल्ने काम नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको छ। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौंमा मात्रै झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ। वायु प्रदूषणका कारण मुटुरोग, फोक्साको समस्या, निमोनिया मस्तिष्काघातलगायतका विभिन्न समस्या उत्पन्न हुने अध्ययनले देखाएका छन्। नागरिकमा याे समाचार रहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्