वायु प्रदूषणले आँखाका बिरामी बढ्दै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

    मा प्रकाशित

कञ्चनपुर, चैत २६ ।

वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् । झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उहाँले बताउनुभयो ।

“वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उहाँले भन्नुभयो, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् ।

वायु प्रदूषणबाट प्रभावित हुनसक्ने व्यक्तिलाई घर बाहिर नजान आग्रह गरिएको भीमदत्त नगरपालिकाका वातावरण शाखाका प्रमुख गणेश ठगुन्नाले बताउनुभयो । वायु प्रदूषण बढेपछि सार्वजनिक सूचना नै जारी गरेर यसबारे आग्रह गरिएको उहाँले बताउनुभयो ।

“अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र जानैपर्ने अवस्थामा विशेष सावधानी अपनाई मास्क लगाउन भनेका छौँ”, उहाँले भन्नुभयो, “आगो बाल्दासमेत वायु प्रदूषण झन् बढ्ने भएकाले फोहाेर बाल्ने, गहुँखेतमा बाँकी रहेको भुसा तथा छ्वाली जलाउनेजस्ता काम नगरिदिन भनेका छाैं । धुलोधुवाँ उड्ने खालका पेशा, व्यवसाय निर्माणकार्य गर्दा धुवाँधुलो नउड्ने व्यवस्था मिलाउन हुन अनुरोध गरेका छौँ ।”

रातिको समयमा हावाको तापक्रम घट्न गई वायु प्रदूषण जमिनको सतह नजिक बढी हुने भएकाले वातावरणीय अवस्थामा सुधार नहुञ्जेल बिहानीको समयमा घरबाहिर गएर शारीरिक व्यायाम, प्रातः भ्रमणलगायतका कार्यहरू नगर्न भनिएको उहाँको भनाइ छ । प्रदूषणका कारण दिउँसै बादल लागेजस्तो देखिन थालेपछि स्थानीय तहले स्थानीय बासिन्दालाई सार्वजनिक सूचना जारी गरी सचेत पार्दै आएका छन् । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्