दाङमा अक्सिजनको अभाव : निजी अस्पतालले अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गर्न छाडे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा अक्सिजनको अभाव : निजी अस्पतालले अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना गर्न छाडे

    मा प्रकाशित

बैशाख२९, दाङ ।

पछिल्लो चरणमा नेपालमा अक्सिजनको अभावमा विरामीको मृत्यु हुन थालेको छ । कोरोना सङ्क्रमित तथा अन्य विरामीहरू अक्सिजनको अभावमा छटपटाउन थालेका छन् । विरामी अक्सिजनको अभावमा छटपटाइरहँदा पनि सरकारले प्राथमिकताका रूपमा यसलाई लिन भने सकेको छैन ।

यता दाङमा पनि अक्सिजनको अभावमा हुने मृत्युदर बढिरहेको छ । दाङमा स्थानीय सरकारहरुले धमाधम अक्सिजन सहितको आइसोेलेसन बनाउदै गए पनि अक्सिजनको आपूर्ति गर्न सकेका छैनन् । जिल्लामा प्रयाप्त अक्सिजन नहुँदा कोरोना संक्रमित तथा अन्य विरामीको ज्यान जोखिममा पर्दै गएको छ ।

कोरोना विषेश अस्पताल बेलझुण्डी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीहरु रहेका छन् भने अन्य अस्पतालमा पनि कोरोना परीक्षण गराउँदै गरेका रिपोर्ट आइनसकेका बिरामीहरु रहेका छन् । अक्सिजनको अभावले प्रायः संक्रमितको ज्यान गैरहेको छ ।
केही दिन पहिले दाङको झिङनीमा अक्सिजन प्लान्ट सुचारु गरिए पनि अक्सिजनको आपूर्ति सहज हुन सकेको छैन । अक्सिजनको अभावलाई सहज बनाउनका लागि सरोकारवाला पक्षले पहल गरिरहेका छन् । तर, अक्सिजनमा सहज आउन भने सकेको छैन ।
निजी अस्पतालहरुले यतिबेला आफूले अक्सिजन नपाएको गुनासो गरिरहेका छन् । हिजो मंगलबार मात्र दाङको घोराहीमा अवस्थित केही निजी अस्पतालका सञ्चालकहरु जिल्ला प्रशासन कार्यालय दाङमा डेलिगेसन गएका थिए । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसँग अक्सिजन आपूर्तिमा सहजताका लागि छलफल भए पनि समस्या समाधान हुन नसकेको उनीहरु बताउँछन् ।

दीपज्योति हस्पिटलका प्रवन्धक भेषराज डिसीले अक्सिजनमा देखिएको असहजताका कारण अक्सिजन आवश्यक पर्ने विरामी राख्न नसक्ने बताए । उनले भने, ‘हामीसँग अक्सिजन छैन, प्रशासनको सिफारिसमा मात्र अक्सिजन पाउने व्यवस्था छ, सिफारिसमा निजी अस्पताललाई प्राथमिकता दिइएको छैन, हामीले अक्सिजनका विरामी फर्काउन थालेका छौँ ।’ उनले थपे,‘अक्सिजन आवश्यक पर्ने विरामीहरुले आफै अक्सिजनको व्यवस्था गर्न सकेमा त्यस्ता विरामीलाई भर्ना गर्ने गरेको छौँ, अन्यथा अक्सिजन आवश्यक पर्ने विरामीलाई भर्ना लिइरहन सकेका छैनौँ ।’ ‘प्रशासनले निजी अस्पताललाई अक्सिजनका लागि सिफारिस नगर्ने भएकाले अब यस्तो महामारीका बेला विरामीलाई सेवा दिन नसक्ने भएका छौँ ।’ प्रवन्धक डिसीले भने ।

त्यस्तै दाङको घोराहीमा अवस्थित गोरखा हस्पिटलका प्रवन्धक दिनेश आचार्यले पनि अक्सिजनको अभाव भएका कारण विरामी भर्ना नसक्ने बताएका छन् । उनले भने, ‘प्रशासनबाट अक्सिजनका लागि सफिारिस नहुने भएकाले अक्सिजन आवश्यक पर्ने विरामीलाई हिजो मंगलबारबाट भर्ना लिन सकेका छैनौँ ।’

दाङमा अक्सिजन आपूर्तिमा देखिएको समस्याका भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताएका छन् । ‘अहिले दाङमा कोरोना सङ्क्रमित दर उच्च रहेको र प्रायःलाई अक्सिजन आवश्यक पर्ने भएकोले अक्सिजनको सहज आपूर्ति हुन सकेको छैन । अक्सिजनका लागि हामीले पहल गरिरहेका छौँ । दाङमा उत्पादन अक्सिजनले केही मात्रामा राहत दिएको भए पनि आपूर्तिलाई सहजता बनाउन भने सकेको छैन ।’ प्रजिअ पौडेलले बताए । उनले थपे,‘ दाङमा दैनिक १ सय सिलिन्डर उत्पादन हुन्छ तर दाङलाई न्यूनतम ४ सयदेखि ७ सय सिलिन्डरसम्म आवश्यक पर्ने गरेको छ । यही सहज बनाउन नै गाह्रो भएको छ ।’ ‘अक्सिजन अभावको बेला हामीले पहिलो प्राथमिकता कोरोनाका बिरामीलाई दिएका छौँ । कोरोना अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्राथमिकतामा राखेर आपूर्ति व्यवस्था मिलाएका छौँ ।’प्रजिअ पौडेलले भने ।  उनले थपे, ‘कोरोना अस्पताल र त्यहाँ उपचाररत रहेका विरामीलाई प्राथमिकतामा राखेका कारण निजी अस्पतालमा अक्सिजन उपलब्ध गराउन नसकेका हौँ । त्यहाँ उपचाररत अक्सिजन आवश्यक भएका विरामीलाई रेफर गर्न आग्रह गरेका हौँ, अक्सिजनको आपूर्ति सहज हुने वित्तिकै उपलब्ध गराउने छौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्