कोरोना रोकथाम गर्न पालिकालाई सकस – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना रोकथाम गर्न पालिकालाई सकस

    मा प्रकाशित

विमला घर्ती
दाङ, २९ बैशाख ।

लमहीकी एक महिलाको शरीरमा अक्सिजनको मात्रा अचानक घट्यो । यसले गर्दा उनलाई सास फेर्न गाह्रो भयो । उनलाई लमही अस्पताल लगियो । एन्टीजेन परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखियो । उनलाई आइसीयू बेड चाहियो । लमहीमा यो सुविधा नभएकाले उनलाई उपचारका लागि पोखरा लैजान सिफारिस गरियो । लमही नगरपालिकामा बिशेषज्ञ सेवा नहुँदा कोरोना भाइरस लागेका विरामीहरुलाई अनेत्र पठाउनु परेको छ ।

 

लमहीमा अक्सिजन सहितको २५ वेडको आइशोलेसन कक्ष स्थापना गरिए पनि अक्सिजनको अभाव भएकाले हाल १२ वटा वेड मात्र चालु छन । यिनमा १२ जना कोरोना संक्रमित उपचाररत छन् । ‘लमहीमा बिशेषज्ञ सहीतको उपचार व्यवस्था छैन्, मेडिकल अफिसरवाट काम चलाउनु परेको छ’ लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । यस्तो आइशोलेसन सेन्टर चलाउन ६ जना डाक्टर, नर्स सहित ५० जना जनशक्ति चाहिने हो, तर अहिले हामीसँग ३ जना डाक्टर अनि नर्श र कार्यालय सहयोगि गरी १४ जना मात्र छौँ, लमही आइशोलेसनमा कार्यरत डा.पुष्प भुषालले भन्नुभयो’ ।

 

कोरोना संक्रमितको उपचारका लागि बनाइएको अस्थायी अस्पतालमा विरामीको चाप बढेको छ । तर अक्सिजन नहुँदा नयाँ बिरामी भर्ना गर्न सकिएको छैन् । ‘आइशोलेसनमा रहेका सवै विरामीलाई आइसीयूको आवश्यकता देखिएको छ, रिफर गर्नुपर्ने स्थिति आएको छ, तर आइसीयू वेड कतै पनि खाली छैनन्, त्यसैले हामि यही आइशोलेसनमा सक्दो उपचार गर्दे आएका छौँ’डा.भुषालले भन्नुभयो ।

 

उता उपमहानगरपालिका प्रमुख केसीले भने उपचार व्यवस्थाका लागि जनशक्ति तथा सेवा थप गर्न पहल थालेको बताउनुभयो । “पहिलो चरणको कोरोना भाइरसका विरामीहरुलाई क्वारेन्टीनमा राखे मात्र पुग्थ्यो, तर अहिले विशेषज्ञ उपचार व्यवस्थाको आवश्यकता देखिएको छ, जो तत्कालै पुरा गर्न सहज छैन्”नगर प्रमुख केसीले भन्नुभयो ।

 

पहिले कोरोना भाइरसको प्रभाव कम भएकाले दोस्रो चरणमा विपद आउला भनेर नसोचिएको नगर प्रमुख केसीले बताउनुभयो । कोरोना भाइरसका विरामीको व्यवस्थापन तथा उपचारका लागि चालु आर्थिक वर्षमा दुई करोडको बजेट विनियोजन गरिएको थियो । तर भाइरसको प्रभाव कम हुँदै जाँदा त्यसलाई विकास बजेटमा परिणत गरियो । भाइरस फैलदै जाँदा भर्खर सम्पन्न नगरसभावाट कोरोना कोषमा ५० लाख रुपैँया बजेट हालिएको छ । ‘अव त्यो बजेटले धान्ने अवस्था छैन्, आवश्यक परेकोमा अन्य शीर्षकको बजेट पनि कोरोना भाइरस रोकथामका लागि खर्च गरिने छ’केसीले भन्नुभयो ।

 

लमहीमा एम्वुलेन्सको समेत समस्या देखिएको छ । पालिकामा दुई वटा मात्र एम्वुलेन्स चालु अवस्थामा छन् । विरामीलाई आवश्यक परेको बेला पाइँदैन । ‘महामारीको समयमा प्राइभेट एम्बुलेन्स पन्छिने गरेका छन्, सरकारी एम्वुलेन्सले काम धानेका छन्, केसीले भन्नुभयो । लमहीमा बनाइएको आइसोलेसन कक्ष बनाउन रातो डाडामा नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले २०/२० लाख रुपैँया बजेट विनियोजन गरेका थिए । हाल नेपालगञ्ज, घोराही, तुलसीपुर आदि ठाउँ बाट विरामी लमही आउने गरेको पनि मेयर केसिले बताउनुभयो ।

 

घोराही उपमहानगरपालिकामा पनि कोरोना भाइरस रोकथाममा चुनौती देखिएको छ । पालिकाको न आफ्नै अस्पताल छ न दक्ष जनशक्ति । स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले हाल अस्पताल को अभाव खड्कीएको बताउनुभयो । ‘अस्पताल नभएकाले कोरोना भाइरसका बिरामीको उपचार गर्न सकिएको छैन्, । हामि सहयोगी भुमिकामा छौँ घर्तीले भन्नुभयो । घोराहीमा १५ बेड को अस्पताल बनाउने गरी काम अघि बढाएको छ । चालु आर्थिक बर्षमा टेण्डर प्रक्रिया अगाडी बढाइएको होे । अन्य स्थानिय पालिकामा अक्सिजन सहितको आइशोलेसन सेवा संचालन गरिए पनि घोराहीले भने राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँग समन्वय गर्नु परेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको निणर्य अनुसार घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४० वटा बेड बनाउने भएको थियो । सोही निणर्य अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानसँगको सहकार्यमा विरामीको उपचार थालेको हो । प्रतिष्ठानमा अहिले अक्सिजन सहितको ३६ बेड आइशोलेसन कक्ष चालु छ । त्यसमा बेड थपेर ५० बेड बनाउने काम भैरहेको प्रशासन म्यानेजर राजेन्द्र न्यौपानेले बताउनुभयो । अस्पतालमा हाल १२० अक्सिजन सिलिण्डर छन् ।

 

प्रतिष्ठानमा भर्खरै १० बेडको आईसियु संचालन गरिएको छ । कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव हुन नदिन घोराही उपमहानगरपालिकाले प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भए अनुसार पहिलो चरणमा १० लाख रुपैयाँ दिइसकेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनुभयो ।

 

 

नयाँ ठाउँमा आइसोलेशन कक्ष बनाउनु भन्दा प्रतिष्ठान मै बेड थप्दा विरामीको उपचारमा सजिलो हुने भएकाले यो निणर्य लिइएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो । घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा विरामीको उपचारका लागि कोरोना कोषमा ५० लाख रुपैँया बजेट छुट्याएको छ । यसले नपुगेको अवस्थामा जुनसुकै शिर्षको बजेट खर्च गर्न सकिने व्यवस्था गरिएको छ’ स्वास्थ्य शाखा प्रमुख घर्तीले भन्नुभयो ।

 

यस उपमहानगरपालिकामा यसपटक क्वारेन्टीन पनि बनाइएको छैन् । यो अबस्थामा नयाँ अस्पताल तयारी गर्न समय र बजेट पनि धेरै लाग्ने भएकाले तत्काल नागरिकहरुको सहज उपचार गर्न प्रतिष्ठान मै भवन भएकाले सहकार्य गरिएको उहाँको भनाई छ । ‘यसपटकको कोरोना भाइरसको बिरामीलाई अक्सिजन सहितका आइशोलेसन सेन्टरले मात्र हुँदैन्, विशेषज्ञ डाक्टर सहितको ल्याव टेष्ट, आइसीयू, भेन्टिलेटर आवश्यक पर्ने गरेको छ, त्यो सुविधा तत्काल हामि दिन सक्दैनौ, त्यसैले प्रतिष्ठान संग सहकार्य गरिएको हो’ । सहकार्यमा कोरोना भाइरस रोकथामका काम गर्दे छौँ प्रमुख घर्तीले भन्नुभयो ।

 

घोराहीमा एम्बुलेन्सको समेत अभाव देखिएको छ । उपमहानगरपालिकाको एउटा मात्र एम्बुलेन्स हुँदा बिरामीलाई समस्या भएको हो । पालिकामा एम्बुलेन्स अभाव हुँदा अन्य संस्था संग सहकार्य गरी काम चलाउनु परेको घर्तीले बताउनुभयो ।

 

तुलसीपुर उपहमानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले पनि तुलसीपुरमा विशेषज्ञ डाक्टर अझैसम्म नियुक्त नभएको बताउनुभयो । ‘पालिकामा स्वास्थ्य चौकीसम्मको सेवा छ । अहिले आएर डाक्टर को अभाव महशुस भएको छ’ उहाँले भन्नुभयो । तुलसीपुरमा स्वास्थ्य क्षेत्रका १ सय २४ जना कर्मचारी छन् तर विशेषज्ञ एकजना पनि छैनन् ।

 

कोरोनाको उपचारका लागि विशेषज्ञ सहितको सेवा दिन सकेको भए विपदको यो बेलामा अहिले स्थानीय सरकारले जनताको पक्षमा ठूलो ढाडस दिएको नागरिकले महशुस गर्ने अवस्था आउने थियो । तर, पालिकाहरु आफ्नै काममा अल्मलिँदा मानवीय संकट परेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् ।

 

उसो त, तुलसीपुर उपमहानगरपालिकाले यसै वर्षको अन्त्य सम्ममा संचालन गर्ने गरी २५ बेडको मेट्रोसिटी अस्पताल बनाईरहेको छ । तर पूर्वाधारको काम नसकिएको जनस्वास्थ्य निरिक्षक केसीले बताउनुभयो । उपमहानगरपालिकाले ५० बेडको अक्सिजनसहितको आइशोलेसन कक्ष संचालन गर्ने तयारी गरेको भएपनि बेलझुण्डी अस्पतालमा अक्सिजनको अभाव भएकाले यहाँका अक्सिजन उता पठाइएको छ । यसले गर्दा आइशोलेन कक्ष बनाउने काम हाल स्थगित भएको छ । हाल ३५ वटा अक्सिजन सिलिण्डर घरमै बसेका कोरोनाका बिरामीलाई दिइएको छ ।

 

घरमा बसेका कोरोनाका बिरामीको अवस्था हेर्ने अक्सिजनको पुर्ती गर्ने, अक्सिजन भर्ने व्यवस्थामा लागेको केसीले बताउनुभयो । हाल कोरोना रोकथामका गतिविधि विपद व्यवस्थापन कोषको रकमवाट पुर्ती गर्नै गरिएको उहाँले बताउनुभयो । यसका साथै तुलसीपुर उपमहानगरपालिकामा पनि क्वारेन्टीन बनाइएको छैन् । हालका बिरामीलाई बिशेषज्ञ डाक्टर सहितको अस्पताल सेवा आवश्यक पर्ने भएकाले पनि क्वारेन्टीन तिर ध्यान नदिएको केसीले बताउनुभयो ।

 

उता दाङ जिल्लाको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले भारत लगाएत अन्य देशवाट आउने नागरिकलाई राख्नका लागि क्वारेन्टीनको व्यवस्था नहुँदा भाइरस फैलन सक्ने खतरा भएको बताउनुभयो । पालिकाले क्वारेन्टीनको व्यवस्थापन गरेको छैन्, भने विदेश बाट आउने नागरिकहरु सिधै घर जाने गरेका छन् । स्वास्थ्य प्रमुख जिसीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नीति नबनाएकाले समस्या देखिएको बताउनुभयो । गत वर्षमा कोरोना रोकथामका लागि सुरु देखिनै तयारी गरिएको थियो । बाहिरवाट आउनेहरुको तथ्याकं लिइएको थियो । क्वारेन्टीनमा राख्ने र पीसीआर चेक गर्ने व्यवस्था गरिएको थियो । यस वर्ष कोरोना भाइरस तिव्र रुपमा फैलदा क्वारेन्टीन बनाउने समय नै नभएको र तत्काल अक्सिजन सहितको आइशोलेसन चाहिने हुँदा यस तर्फ प्राथमिकता दिएको प्रमुख जिसीले बताउनुभयो ।

 

बंगलाचुलीमा पालिकाको ध्यान आइशोलेसन बनाउने तर्फ गएको हुँदा क्वारेन्टीन बनाउन नसकिएको हो । यो संगै यसपटकको भाइरस पहिले भन्दा कडा भएकाले क्वारेन्टीनले मात्र नपुग्ने भन्दै अक्सिजन सहितको आइशोलेसन बनाउने काममा बजेट हालिएको स्वास्थ्य शाखा प्रमुख जिसीले बताउनुभयो । पालिकामा बाहिर वाट आउने नागरिकलाई घरमा छुट्टै कोठामा बस्न आग्रह गरिएको छ । तर यो त्यति सुरक्षित नदेखिएकाले उनिहरुवाट भाइरस फैलन सक्ने खतरा भएको जिसीले बताउनुभयो । गत बर्ष बाहिरवाट आउनेहरुलाई १४ दिन राख्ने व्यवस्था पालिकाले गरेको थियो । अहिले कोरोना भाइरस फैलन नदिन पालिकालाई समस्या भएको उहाँले बताउनुभयो । ‘एकदमै गाह्रो भएको अवस्थामा मात्र अस्पताल आउन आग्रह गरिएको छ, जिसीले भन्नुभयो । बंगलाचुलीमा २० वेडको आइशोलेसन कक्ष स्थापना गरिएको छ । तर अक्सिजनको अभाव भएको छ । पालिकामा ३ वटा मात्र सिलिण्डर छन् । ती मध्ये एउटा मात्र चालु अवस्थामा रहेको जिसीले बताउनुभयो ।

 

दुई जना मेडिकल अफिसर, दुई जना स्टाफ नर्स गरी १० जनाको कोर टिम बनाएर काम थालिएको छ । टिमका कोही संक्रमित भएमा अर्काे विकल्प नभएको स्वास्थ्य शाखा प्रमुख जिसीले बताउनुभयो । कोरोना भाइरसको रोकथाम तथा बिरामीकाृ उपचारको लागि कोरोना कोषको स्थापना गरिएको छ जसमा २० लाख बजेट छुट्याइएको जिसीले बताउनुभयो ।

 

बबई गाउँपालिकाको हापुरे प्राथमिक स्वास्थ्य चौकीमा ३० बेडको अस्पताल तयार गरिएको स्वास्थ्य शाखा प्रमुख हेमराज वलीले बताउनुभयो । तर अक्सिजन प्रर्याप्त मात्रामा नपाउँदा समस्या भएको छ । यसका साथै यहाँ दक्ष जनशक्तिको पनि अभाव छ । बाहिर बाट आउने मानिस लाई क्वारेन्टीनमा राख्ने व्यवस्था नहुँदा उनीहरु सिधै घर जाने गरेका छन् । तर उनीहरु घरमा छुट्टै बस्दैनन जसले गर्दा भाइरस फैलने संभावना बढेको छ । कोरोना रोकथाम गतिबिधिका लागि कोरोना कोषमा ३० लाखको बजेट छुट्याइएको छ ।

 

उता दंगिशरण गाउँपालिकामा अक्सिजनको अभाव भएको छ । १० वेडको अक्सिजन सहितको आइशोलेसन अस्पताल तयार गरेपनि पाँच वटा वेडमा मात्र अक्सिजनको व्यवस्था गर्न सकिएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले अक्सिनको व्यवस्था भए हुने बताउनुभयो । पालिकामा २ जना एमबिबिएस डाक्टरको व्यवस्था गरिएको छ भने कोरोना कोषमा ३० लाख रकम छ । पालिकासँग तीन वटा एम्वुलेन्स पालिकाको भएकाले एम्बुलेन्सको समस्या नभएको गिरीले बताउनुभयो ।

 

सरकारले हरेक पालिकामा कम्तिमा १५ बेडको अस्पतालमा विशेषज्ञ डाक्टर राखेर सेवा दिने योजनाका साथ काम अघि बढाएपनि यस पालिकामा यस कामले गति लिन सकेको छैन । जिल्लाका घोराही र तुलसीपुर उपमहानगरपालिका पूर्वाधारका हिसावले सम्पन्न भएपनि जनशक्तिको आपूर्ति व्यवस्थापनमा अहिले पनि पछि परेका छन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्