विपदमा हामी : युवाहरुको परोपकारी यात्रा – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

विपदमा हामी : युवाहरुको परोपकारी यात्रा

    मा प्रकाशित

बैशाख ३१, दाङ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट नेपाल पनि नराम्ररी गाँजिएको छ । सङ्क्रमणको दोस्रो लहर नयाँ भेरियन्टका साथ चलिरहँदा नियन्त्रणमा झनै जटिलता थपिएको हो । पछिल्लो चरणमा नेपालमा सङ्क्रमित र मृत्यु दर उच्च रहँदै गएको छ ।
सङ्क्रमित दर बढिरहँदा उपचार व्यवस्थापनका लागि पनि सकस पर्न थालेको छ । अस्पतालमा बेडको अभाव, अक्सिजनको हाहाकार, प्रसस्त मात्रामा स्वास्थ्य सामग्रीको अभावले गर्दा पनि उपचार व्यवस्थापनमा सहजता ल्याउन गाह्रो परेको हो ।

देशभर देखिएको अक्सिजनका आपूर्तिको कठिनाई , बेड उपलब्धतामा देखिएको समस्याका अत्यन्त कारुणिक दृश्यहरु सार्वजनिक भइरहँदा जो कोहीमा पनि मानवता हराउन सक्दैन, देशभर छाएको महामारी र महामारी व्यवस्थापनमा सम्बन्धित निकायले देखिएको उदासिनताले दाङका एक हुल युवाहरुभित्रको मानवतालाई भने जगाइदियो । महामारी र विपदका बेला सहयोग गर्न, विपदले निम्त्याएका जटिलतालाई न्यूनीकरण गर्न कुनै पद र जिम्मेवारी नचाहिने दृष्टान्त बनेका छन् दाङका युवाहरु ।

बेड र अक्सिजनको अभावमा कोरोना सङ्क्रमितहरु छटपटाइरहेका छन् भने बेडमा भएका प्रायः सङ्क्रमितहरुले पनि पौष्टिक आहाराको अभावमा कोरोना भाइरससँग लड्ने इम्युनिटी पावर उत्पादन गर्न सकिरहेका छैनन् । त्यही वर्ग र लक्ष्यलाई प्राथमिकता दिएर दाङका युवाहरुको एक समूह ‘बिपदमा हामी’ नामाकरणबाट सार्वजनिक भए । ‘बिपदमा हामी’ समुहमा जोडिएका युवाहरुले थाले ः कोरोना बिरामीका लागि फ्रि पौष्टिक आहारा अभियान ।

‘कोरोनासँग लडिरहेका बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न केही हदसम्म सहयोग पु¥याउने उद्देश्यले यो कामको थालनी गरेका हौँ ।’ अभियानका संयोजक सञ्जिव पछाईले बताए । उनले थपे, ‘यो महामारी सबै मिलेर सामना गर्ने हो, आज अरुलाई परेको छ भोलि हामीलाई पर्ला, जसलाई परे पनि हामी एउटै समाज र राष्ट्रका हौँ, यतिबेला परोपकारी भावना नै सर्वश्व हो, मान्छेभित्रबाटै मानवता हरायो भने मानवता कहाँ खोज्ने ? यही सवालले बारबार पोल्न थालेपछि हामीले यो अभियानको सुरुवात गरेका हौँ ।’
मानिसमा हराउँदै गएको मानतालाई जगाउन तथा समाजप्रति सबैलाई जिम्मेवारी बोध गराउन थालिएको यो अभियानले एकातिर समस्यामा परेकालाई केही हदसम्म राहत दिने र विपदका बेला उत्तरदायित्वबोध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
अभियानको आर्थिक पाटोलाई सहयोगका माध्यमबाट नै व्यवस्थापन गरिदै आएको छ । थुप्रै सहयोगी मन तथा सहयोगी हातहरुले अभियानको आर्थिक पक्षलाई टेवा दिएका छन् । ‘सहयोगी मनहरुको स्वतः स्फूर्त रुपमा भएको सहयोगले यो अभियानको आर्थिक पाटोको व्यवस्थापन गरिरहेका छौँ । सहयोगी दाताहरुको नाम र रकमलाई तथा हामीले गरेका गतिविधिलाई हामीले सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गर्दै आएका छौँ । त्यसैका आधारमा हाम्रो अभियानप्रति प्रभावित भएर हाम्रो कामलाई विश्वास गरेर थुप्रै सहयोगीहरुले हात बढाइदिनुभएको छ ।’ अभियानका आर्थिक संयोजक कुलराज पोख्रेलले बताए ।
यो अभियानको प्रविधि संयोजन अयिन्ता निरज गिरीले गरेका छन् । प्राविधिक चाँजोपाँजो मिलाउँदै आएका गिरीले भने, ‘कुनै पनि अभियान आफैमा परोपकारी हुन्छन् तर त्यसमा चुनौती प्रशस्त हुन्छ, ती चुनौतीलाई सहयोगी हातका माध्यबाट परास्त गर्ने दुढ इच्छाशक्तिका साथ यो यात्राका थालनी गरेका हौँ ।’

May be an image of one or more people, people sitting, people standing and outdoors
‘अबको हरेक समस्यामा युवा वर्ग नै अग्रसर हुन जरुरी छ । प्रायः राज्यको मुख ताक्ने प्रवृत्तिले समस्यालाई झन बाक्लो रुपमा निम्त्याउने गरेको जगजाहेर नै छ । अब हामीले आफैलाई जिम्मेवार नागरिकका रुपमा उभ्याउन जरुरी छ । यो राज्यका लागि खबरदारी पनि हो । राज्य उपस्थित नभएको ठाउँमा आफूलाई उपस्थितिलाई गराएर राज्यलाई सहयोग गर्ने अभियान पनि हो यो ।’ अभियानका प्रवक्ता तथा पत्रकार देवेन्द्र बस्नेतले जनाए ।
‘विपदमा हामी’ अभियानलाई कोरोना महामारीका बेला मात्र नभएर यसलाई अन्य विपदका बेला पनि चलायमान गराइनेछ । ‘समय समयमा आइपर्ने विपद व्यवस्थापनमा सहकार्य गर्न यो अभियान निरन्तर चलिरहने छ । राज्य उपस्थित हुन नसक्दा कम्तिमा विपदमा हामी छौँ भन्ने उद्देश्यका साथ यो अभियानको सुरुवात गरिएको हो । जहाँ विपद त्यहाँ हामी हुनेछौँ । यसलाई निरन्तर रुपमा अगाडि बढाउन सहयोगी हात र मनहरु हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छन् नै अबका दिनमा राज्यसँग सहकार्य गरेर काम गर्न हामी तयार रहेका छौँ ।’ अभियानका संरक्षक तथा पत्रकार आदिम केसीले बताए ।
पछिल्लो चरणमा अभियानले दाङको तुलसीपुरमा सञ्चालन भएको काठ बैंकलाई एक ट्रयाक्टर काठ उपलब्ध गराएको छ ।
अभियानले गतिविधि सञ्चालनमा सहज ल्याउन जिम्मेवारी पनि बाँडफाँड गरेको छ । संरक्षक आदिम के सी, सयोजक सन्जिव पछाई , उप सयोजक पूर्ण कार्की, सचिव डिल्लीराज शर्मा , सह सचिव गुरु गैतम, आर्थिक संयोजक कुलराज पोखरेल, सह अर्थ सयोजक असिम पोखरेल रहेका छन् । त्यस्तै ब्यबस्थापक मोहन गौतम, सह ब्यबस्थापक सन्दिप गोराथोकी , प्रविधि , संयोजक निरज गिरी, प्रविधि सह सयोजक मनोज डि सी, अभियन्तामा खगराज खनाल, जिके बाबु ,मदन रिजाल रहेका छन् ।
अभियानको प्रवक्ता देवेन्द्र बस्नेत रहेका छन् । अभियानमा अभियन्ताको रुपमा जोडिने क्रम जारी रहेको छ ।

May be an image of standing, outdoors and tree

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्