जेठ ३, काठमाडौँ ।
भन्सार विभागले स्वास्थ्य सामग्रीसहित अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ खटाएको छ । भन्सार प्रशासनले कोरोना महामारीमा खेलेको भूमिका सम्बन्धमा आज आयोजित भर्चुअल छलफलमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोरोना रोकथाम र उपचारसँग सम्बन्धीत सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन दिनुभयो ।
अर्थमन्त्री पौडलले नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीहरुको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन दिनुभयो ।
एकातिर कोभिड–१९ बाट जोगिनु पर्ने र अर्कोतिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नु पर्ने अवस्था रहेको भन्दै उहाँले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न समेत सुझाव दिनुभयो । अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्य सहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिनुभयो ।विभागका महानिर्देशक यमलाल भूषालले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउन विभागले ‘क्विक रेस्पोन्स टिम’ बनाएर काम अघि बढाएको बताउनुभएको छ ।