सुवास लामिछाने
जेठ ३, तनहुँ ।
तनहुँमा कोरोना सङ्क्रमितको शव व्यवस्थापनका लागि डोजरको प्रयोगको प्रयोग गरिएको छ । जिल्लाको देवघाट गाँउपालिकामा कोरोना सङ्क्रणका कारण मृत्यु भएको एक महिलाको शव व्यवस्थापनका लागि डोजरको प्रयोग गरिएको हो ।
गाँउपालिका ५ स्थित गौरिटारका ६८ वर्षका महिलाको कोरोना परीक्षणको नतिजा आउनुअघि नै हिजोराति मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको लक्षण देखिएपछि हिजो बिहान मात्र उनको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाईएको थियो । मृत्युपछि उनको रिपोर्ट आज पोजेटिभ आएको हो ।
गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले शव व्यवस्थापन गर्न सेना आउन ढिलो भएपछि बाध्य भएर डोजरको प्रयोग गरी शव व्यवस्थापन गरिएको बताउनुभयो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीका अनुसार मृतकको शव सुरक्षाको मापदण्ड अपनाई देवघाट स्थित त्रिशुली नदी किनारमा व्यवस्थापन गरिएको हो ।