रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला – Kanika Khabar
Friday, April 19Nepali News Portal

रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला

    मा प्रकाशित

देवेन्द्र बस्नेत
जेठ ४, दाङ ।

हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए । कोरोना संक्रमितहरुलाई पहिलो चरणमा यो औषधि अहिले सम्म फलदायी रहेको भन्दै चिकित्सकहरुले यो औषधिको सिफारीस गरिरहेका छन् । नेपालगन्जमा चलेको कालोबजारीको मारमा यहाँका बिरामीका आफन्त परे । एक स्वास्थ्यकर्मीका अनुसार त्यो बेला बिरामीका आफन्तले नेपालगन्जबाट २५ हजार रुपैयाँ सम्म तिरेर यो औषधि ल्याउनु पर्यो ।

कोरोना संक्रमितलाई प्रयोग गरिँदै आएको यो औषधिको सहजताका लागि घोराहीको एक निजी मेडिकल हलले पहल गर्यो । घोराही स्थित कालिका मेडिकल हलले आवश्यक सबै मापदण्ड पूरा गरेर यो औषधिको खरिद मुल्यमै विक्री गर्न सुरु गर्यो । तर स्थानीय प्रशासनले यो औषधि बन्द गर्न उक्त मेडिकललाई निर्देशन दियो । घोराहीमा उपलब्ध हुँदै आएको यो औषधि सिडिओको निर्देशनमा अहिले बन्द छ ।

‘यो औषधि तपाईले कसरी विक्री गर्नु भयो ? भनेर जिल्ला प्रशासन कार्यालयबाट अनुगमनमा आउनु भयो,’ मेडिकल हलका सञ्चालक बद्रि खड्काले भने ‘अनि उहाँहरुले बिक्री बन्द गर्न भन्नु भयो, र मैले विक्री बन्द गरिदिएको छु ।’ चिकित्सकको सिफारीसका आधारमा मात्रै यो मेडिकल हलले बिरामीहरुलाई औषधि उपलब्ध गराउँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मेडिकल हलले विक्री गर्न नपाउने भन्दै औषधि ब्यवस्था विभाग नेपालगन्जको कार्यालयमा उजुरी परेको थियो । सोही उजुरका आधारमा जिल्ला प्रशासन कार्यालयले औषधि बिक्रीमा रोक लगायो । कोरोनाको महामारीका बेला सरकारले प्रयोग अनुमतीदिएको यो औषधिको सहज उपलब्धताको अपेक्षा जिल्लाबासीहरुले गरेका छन् । तर घोराही क्षेत्रमा ४ हजार ८ सय रुपैयाँमा बिक्री हुँदै आएको यो औषधि विक्रीमा रोक लगाएर जिल्ला प्रशासन कार्यालयले अमानवीयता प्रकट गरेको छ ।

अहिले यो औषधिमा रोक लगाएका यहाँका प्रमुख जिल्ला अधिकारीको अहिले ब्यापक आलोचना समेत भैरहेको छ । ‘कोरोनाको यो महामारीका बेला नागरिकहरुलाई औषधिको सहज उपब्धताका लागि पहल गर्नुको साटो, औषधि नै बन्द गरिदिने नियत बोकेका सिडिओ कति सम्म जायज ?’ स्थानीयहरुले प्रश्न उठाएका छन् ‘यो बेला त उनले औषधि वितरणका लागि सहज बाटो बनाईदिनु पर्ने हो नि ।’ नेपाली कांग्रेसका राष्ट्रिय सभा प्रमुख सचेतक अनिता देवकोटाले जिल्ला प्रशासन कार्यालयले नागरिकलाई दुःख दिने नियतका साथ औषधि बिक्रीमा रोक लगाएको दाबी गरिन् ।

‘यो महामारीका बेला जनतालाई थप दुख दिने नियतका साथ प्रमुख जिल्ला अधिकारीले यो औषधिमा रोक लगाए,’ प्रमुख सचेतक देवकोटाले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ‘यो कार्य जनताका लागि अपराधपूर्ण कार्य हो ।’

यता रेम्डिसिभिर औषधि वितरणमा रोक लगाएका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले औषधि व्यवस्था विभागको निर्देशन अनुसार आफूले काम गरेको बताउँछन् । ‘हामीहरुलाई औषधि ब्यवस्था बिभागले औषधि बिक्री भैरहेको र त्यहाँ अनुगमन गर्न भनियो,‘प्रमुख जिल्ला अधिकारी पौडेलले भने ‘सोही अनुसार त्यहाँ अनुगमन भएको हो ।’ प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लाबाटै औषधि ब्यवसायीहरुको उजुरीका आधारमा औषधि ब्यवस्था विभागले एक्सन लिएको बताए ।

औषधि ब्यवस्था बिभागको तर्क : फेसबुकमा किन प्रचार गरियो ?  

जिल्लाको तुलसीपुर क्षेत्रमा प्रादेशिक अस्पतालले रेम्डिसिभिर औषधि बिक्री गरिरहेको छ । तर घोराही क्षेत्रका लागि भने सहज उपलब्धता थिएन । घोराहीमा उपचाररत बिरामीहरु यो औषधि लिनका लागि २३ किलोमिटरको दुरीमा रहेको तुलसीपुर जान सहज छैन । त्यसमाथि झन लकडाउन रहेको दाङमा गाडी रिजर्भ गर्नु पर्ने बाध्यता नै छ ।

घोराही क्षेत्रमा उपचाररत बिरामीहरुको सहजताका लागि यो औषधि उपलब्ध गराएको मेडिकल हलले फेसबुकमार्फत औषधिको उपलब्धता बारे सूचना प्रवाह गर्यो । तर औषधि विक्रीमा रोक लगाउन जिल्ला प्रशाशन कार्यालयलाई भनेको औषधि व्यवस्था बिभागले भने यही फेसबुकको सूचनालाई पहिलो कमजोरीका रुपमा अथ्र्याएको छ । औषधि  ब्यवस्था बिभाग नेपालगन्जका फार्मेशी अधिकृत धनबहादुर बोहराले भने ‘उहाँहरुले औषधि पाईन्छ भनेर जसरी फेसबुकमा प्रचार गर्नुभयो त्यो गल्ती भयो ।’

नागरिकलाई औषधिको उपलब्धता बारे जानकारी दिनु कसरी गलत ? बोहराले भने ‘औषधि ब्यवस्था बिभागले औषधिको प्रचार नगर्ने भनेको छ नि त ।’ यसैगरी रेम्डिसिभिर औषधि कोभिड अस्पतालले मात्रै विक्री गर्न पाउने सरकारी नियम रहेको र मेडिकल हलले विक्री गर्नु नियमसंगत नरहेको दाबी गरे । तर यो कार्यालय रहेकै नेपालगन्जमा झोले ब्यापारीहरुले यसको ब्यापार गरिरहेको भने बोहरा आँफैले स्वीकार्छन् । ‘हो तपाईले भनेजस्तै नेपालगन्जमै झोले ब्यापारीहरुले कालोबजारी गरेर विक्री गरिरहेका पनि छन्, यो साँचो हो,’ उनले भने ‘यसको नियमनका लागि पनि हामी लागिरहेका छौँ ।’

त्यसोत, औषधि ब्यवस्था विभागले यो औषधिको प्रभावकारीताका बारेमै प्रश्न उठाउँछ । यो औषधिले कोरोना पूर्ण रुपमा निको पार्छ भन्ने प्रमाणित भैनसकेको भन्दै बिभागले यसलाई नै कोरोनाको औषधि भनेर प्रचार गरिनु जायज नभएको बोहराले बताए । उनका अनुसार अहिले सम्म यो औषधिले बिरामीलाई सकारात्मक प्रभाव पार्यो भन्ने प्रमाण कतै भेटिएको छैन । ‘परिक्षण प्रयोगका लागि यो औषधिलाई प्रयोगमा अनुमती दिईएको हो,तर यसले कोरोना संक्रमितहरुलाई निको पार्छ भन्ने त कतै प्रमाणित भएको छैन नि,’ बोहराले भने ‘नत कतैबाट बिरामीहरु निको भए भन्ने नै जानकारी आएको छ ।’

कोरोना बिशेष अस्पतालका चिकित्सक भन्छन् : निको भएका उदाहरण हामीसंगै छन्

डा. कमल खड्का दाङ स्थित बेलझुण्डिमा रहेका कोरोनाका बिरामीको उपचारमा खटिएका छन् । उनको उपचार अनुभवले रेम्डिसिभिर औषधि कोरोनाका बिरामीहरुलाई निकै प्रभावकारी मानिएको छ । उनका अनुसार कोरोना संक्रमणको पहिलो चरणमै रहेका बिरामीहरुलाई यो औषधि निकै प्रभावकारी मानिएको छ ।

फलतः पहिलो चरणका बिरामीहरुका लागि यो औषधिनै प्रयोग गर्ने गरिन्छ । ‘फस्ट स्टेजका बिरामीहरुलाई यौ औषधि निकै फलदायी मानिएको छ,’डा. खड्काले भने ‘यो औषधिले कोरोना संक्रमण शरिरमा फैलनबाट जोगाएको हुन्छ ।’ उनका अनुसार कतिपय बिरामीहरु यही औषधिकै प्रयोगका कारण चाँडै निको समेत भएका छन् । तर गम्भिर प्रकृतिका बिरामीहरुका लागि भने यो औषधिले काम गरेको देखिँदैन ।

कोरोना संक्रमण भएको ७ देखि १० दिनसम्मका बिरामीहरुलाई यो औषधिले काम गरेको डा. खड्काको भनाई छ । ‘म त भन्छु यो औषधिको सहजताका लागि सबै लाग्नु पर्छ, यसको सहज उपलब्धता जति हुन सक्यो, जिल्लावासीका लागि त्यति धेरै राम्रो हो,’ डा. खड्काले भने ‘यही औषधिका कारण कोरोनालाई रोक्न सक्ने तागत बिरामीहरुमा पैदा भैरहेको हामीहरुले देखेका छौँ ।’

रातारात फेरिए ‘रेड’ हान्ने सिडिओ

सोमबार औषधि बिक्री रोक्न औषधि बिक्रेता मेडिकलमा प्रहरीको दलबल पठाएका प्रमुख जिल्ला अधिकारीले मेडिकलमा मुचुल्का गर्न लगाए । उक्त औषधि बिक्रेता मेडिकलले औषधि बिक्रीमा गरेको वैध/अवैध बारे र्यार्याख्ती पार्न खोजियो । तर वैधानिक बाटो बाटै औषधि विक्रीको प्रकृयामा लागेको मेडिकलले आफनो वैधताका सबै प्रमाण फेस गर्यो । तर पनि स्थानीय प्रशासन रोकिएन ।

औषधि बिक्रीमा पूर्ण बन्देज लगायो । कोरोनाको महामारीको सन्त्रासका बेला कोरोना बिरामीका लागि प्रभावकारी मानिएको औषधि बन्द गरिदिएपछि प्रमुख जिल्ला अधिकारी पौडेल निकै आलोचित बने । यो बेलामा औषधि वितरणका लागि सहजीकरणको बाटोमा लाग्नुको साटो औषधिनै बन्द गरिदिने प्रमुख जिल्ला अधिकारीको नियतले जनतामाथि अपराध भएको दाबीसहित राष्ट्रिय सभा कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले बिज्ञप्ती जारी गरिन् । नेपाली कांग्रेस लगायतका दलहरुले सिडियाेको यो कदमको चर्को आलोचना गरे ।

सामाजिक सञ्जालमा प्रमुख जिल्ला अधिकारीविरुद्ध आवाजहरु उठे । अन्ततः रातारात प्रमुख जिल्ला अधिकारी केही लचिलो बनेका छन् । उनले मंगलबार बिहान भने ‘औषधिको सहज आपूर्ति हुनु राम्रो हो, हामीले यसमा सहजिकरण गरिरहेका छौँ ।’ साथै उनले कालिका मेडिकल हलले कम मूल्यमा बिक्री गरेको समेत बताए । ‘यसको मूल्य ५ हजार १ सयसम्म रहेछ, तर उहाँहरुले ४ हजार ८ सयमै बिक्री गर्नुभएको रहेछ, जुन धेरै सकारात्मक पक्ष हो,’ उनले भने ‘तपाईहरुले चिन्ता नमान्नुस् यसमा सहजीकरण भैरहेको छ ।’ नागरिकबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्