कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ? – Kanika Khabar
Wednesday, June 23Nepali News Portal

कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ?

    मा प्रकाशित

निकोलस वेड

कोभिड–१९ का कारण विश्वभरकै जनजीवन एक वर्षयता पूर्णरूपमा प्रभावित भएको छ । कोभिडका कारण निधन हुने मानिसको संख्या चाँडै ३४ लाख पुग्दैछ यद्यपि महामारीको शुरुवात कसरी भयो भन्ने कुरा अझै निश्चित भएको छैन । सरकार र वैज्ञानिकहरूको राजनीतिक एजेन्डाका कारण भाइरसको उत्पत्तिका विषय एकिन गर्न नसकिएको हो । यसले गर्दा मूलधारका सञ्चार माध्यम नै सत्य पत्ता लगाउने विषयमा असहायजस्ता भएका छन् ।

म यहाँ पत्ता लागेका केही वैज्ञानिक तथ्यहरू प्रस्तुत गर्ने कोशिस गर्नेछु । यसले गर्दा खासमा के भएको थियो भन्ने कुराको केही जानकारी पाठकलाई मिल्नेछ । तथ्यका माध्यमबाट पाठकहरू स्वयंले नै खासमा के भएको थियो भन्ने अनुमान लगाउन सक्नेछन् । योसँगै म केही आरोप प्रत्यारोपका विषयमा पनि केही जानकारी दिने प्रयास गर्नेछु । चिनियाँ सरकारबाट शुरू भएको यो आरोप केही परसम्म जान्छ ।

यो लेखको अन्त्यसम्म तपाईंले भाइरसको आनुवंशिक जीव विज्ञानका विषयमा केही जानकारी हासिल गर्न सक्नुहुनेछ । म यो प्रक्रिया जतिसक्दो सरल बनाउने प्रयास गर्नेछु । यसो भन्दैमा वैज्ञानिक खोजलाई पाखा लगाउन भने सकिँदैन ।

जुन भाइरसले महामारीको रूप लियो त्यसलाई हाल आधिकारिक रूपमा ‘सार्स–कोभ–२’ भनिन्छ । यसलाई छोटोमा ‘सार्स २’ पनि भन्न सकिन्छ ।

हामीलाई थाहा नै छ, यसको उत्पत्तिका विषयमा दुई प्रकारका सिद्धान्त रहेका छन् । एउटा जङ्गली जनावरबाट सिधा मानिसमा सरेको हो भन्ने छ । अर्को, भाइरस ल्याबमा अध्ययन गरिँदै थियो, त्यहीँबाट बाहिरी दुनियाँमा फैलिन पुग्यो । यदि हामी यस्तो महामारीबाट भविष्यमा जोगिने हो भने हालको महामारी कसरी शुरू भयो भन्ने जानकारी हासिल गर्नु महत्वपूर्ण हुन्छ ।

म यहाँ दुईवटा सिद्धान्तको व्याख्या गर्दै दुबै घटित हुनसक्ने सम्भावनाबारे पनि चर्चा गर्नेछु । दुबै सिद्धान्तको व्याख्यापछि प्राप्त तथ्यका आधारमा कुन सिद्धान्त सही हुने प्रबल सम्भावना छ भन्ने विषयमा चर्चा हुने नै छ । दुबै सिद्धान्तको ठोस तथ्य हालसम्म बाहिर नआएको कुरा हामीले यहाँ जानकारीमा राख्नु आवश्यक हुन्छ ।

दुबै सिद्धान्त तर्कसङ्गत भए पनि यही नै सत्य हो भन्ने प्रमाण छैन । त्यसैले मसँग केही जानकारीमात्रै छन्, यही नै सत्य हो भन्ने निचोड भने छैन । यी जानकारीले हामीलाई सत्यको नजिक पुर्‍याउने दिशा प्रदान गर्न सक्छ ।

दुई सिद्धान्तको कथा यहाँबाट शुरू हुन्छ ।

जब कोभिड महामारी डिसेम्बर २०१९ मा शुरू भयो, चिनियाँ अधिकारीले यस्ता घटना पानी जम्ने बजारजस्तै जङ्गली जनावारको मासु बिक्री हुने वुहानको बजारबाट शुरू भएको रिपोर्ट प्रस्तुत गरे । यसले विज्ञहरूलाई सन् २००२ को ‘सार्स १’ महामारीको याद दिलायो । त्यस बखत चमेराबाट पहिला भाइरस शुरू भएको थियो ।

 

चमेराले ‘सिभेट्स’ (एक प्रकारको बिरालो जुन चिनियाँ मासु बजारमा बिक्री हुन्छ) मा सारेको भाइरस प्रकारान्तरले सिभेट्सबाट मानिसमा सरेको थियो । यस्तै प्रकारको अर्को भाइरस ‘मार्स’ सन् २०१२ मा देखियो । त्यो भाइरस पनि चमेराबाट ऊँट हुँदै मानिसमा सरेको थियो ।

यस प्रकारले सूक्ष्म हिसाबमा अध्ययन गर्दा यो संक्रामक प्रजातिको भाइरसलाई ‘बेटा–कोरोनाभाइरस’ नाम दिन सकिन्छ । ‘सार्स १’ र ‘मार्स’ दुवै भाइरस यसै प्रजातिको भाइरस अन्तर्गत पर्छन् । यिनै अध्ययनका आधारमा चमेराबाट कुनै जनवारको माध्यम हुँदै कोरोना भाइरस मान्छेमा सरेको भन्न सकिन्छ ।

यो प्राकृतिक भाइरस हो । मासु बजारसँगको सम्बन्धसँग ‘सार्स १’ र ‘मार्स’ महामारीसँग मिल्दोजुल्दो हुँदा पनि कोरोना भाइरस तिनै भाइरसको प्रजाति हो भन्न सकिन्छ । चिनियाँ अनुसन्धानकर्ताको प्रारम्भिक अध्ययनले मासु बजारसँग कोरोना भाइरसको कुनै सम्बन्ध नरहेको बताएका थिए । तर, यो भाइरसको प्रकृति प्राकृतिक भाइरससँग मिलेको तथ्य बाहिरन थाल्यो, उनीहरूको अध्ययनले खासै अर्थ राखेन ।

‘वुहान संक्रामक रोग अध्ययन संस्था’ कोरोना भाइरससम्बन्धी अध्ययन गर्ने विश्वकै एक प्रमुख अनुसन्धान संस्था हो । त्यसैले, भाइरस त्यहाँकै ल्याबबाट बाहिरिएको हो भन्ने तर्क पूर्णतया नर्कान सकिँदैन ।

शुरूवाती चरणमा सार्वजनिक तह र सञ्चार माध्यममा यो भाइरस प्राकृतिक भाइरस हो भन्ने दुई वैज्ञानिक समूहबाट नै अभिव्यक्ति आएको थियो । ती अभिव्यक्तिलाई जुन तहसम्म विश्लेषण गर्नुपर्ने थियो, त्यहाँसम्म गरेको पाइएन ।

‘षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्दै कोरोना भाइरसको कुनै प्राकृतिक उत्पतिको आधार छैन भन्ने अभिव्यक्तिलाई हामी कडा रूपमा भत्र्सना गर्दछौँ’, संक्रामक रोग विशषज्ञहरूको एक समूहले लासेन्ट म्यागजिनमा २०२० फेब्रुअरी १९ मा प्रकाशित एक लेखमा भनेका थिए ।

त्यो बखत भाइरस यसरी नै उत्पति भएको हो भन्ने दाबी गर्ने पर्याप्त समय नै भएको थिएन । वैज्ञानिकहरूले दृढतापूर्वक कोरोना भाइरस जङ्गली जनावारबाट नै फैलिएको निष्कर्ष निकाल्दै भने ‘चिनियाँ साथीहरूलाई भाइरससँग लड्न हौसला दिन हामी सबै पाठकसमक्ष आग्रह गर्दछौँ ।’

उक्त लेखको विपरीत, भाइरस यदि ल्याबबाटै निस्किएको हो भने त्यो दुर्घटना हो, षड्यन्त्र होइन । यो अभिव्यक्ति तत्काल खारेज गर्नुभन्दा यस विषयमा थप अनुसन्धान गर्नुपर्ने आवश्यकता थियो । एउटा राम्रो वैज्ञानिकको लक्षण भनेको नै उसलाई थाहा भएको र नभएको कुराबीचको अन्तर पत्ता लगाउन गर्नु प्रयत्न हो ।

लासेन्ट म्यागेजिनमा लेख प्रकाशित गर्ने वैज्ञानिक उम्दा खालका थिएनन् भन्ने जनाउँछ । उनीहरू आफैँ सत्य हो भनेर स्वीकार गर्न नसकेको तथ्य आम जनतामाझ सत्य जसरी प्रस्तुत गर्ने कोशिस गर्दै थिए ।

पछि के पत्ता लाग्न आयो भने लासेन्टमा प्रकाशित लेखको खेस्रा न्यु योर्कस्थित ‘इको हेल्थ एलायन्स’ का निर्देशक पिटर दासजास्कीले तयार पारेका थिए ।

उनकै संस्थाले वुहानस्थित ‘संक्रामक रोग अध्ययन संस्था’ लाई कोरोना भाइरसको उत्पतिका विषयमा अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो ।

यदि ‘सार्स २’ वुहानको ल्याबबाटै बाहिर आएको हो भने दासजास्की सम्भवतः यसका लागि दोषी ठहराइने छन् । लासेन्टमा प्रकाशित लेखमा पाठकहरूलाई कसको के स्वार्थ थियो भन्ने केही जानकारी दिइएको छैन । लेखको अन्त्य भने ‘हाम्रो यस विषयमा कुनै स्वार्थ छैन’ भनेर गरिएको छ ।

दासजास्की जस्ता मानिसलाई महामारी फैलाएको आरोप लाग्यो भने गुमाउनु पर्ने कुरा धेरै हुनसक्छ । करिब २० वर्षदेखि उनीहरूले आममानिसको नजरबाट टाढा रहँदै यस्ता धेरै खतरनाक काम गर्दै आएको कुरा पुष्टि हुन्छ । उनीहरूले आफ्नो ल्याबमा प्रकृतिमा पाइने भाइरसभन्दा कडा खालका भाइरस उत्पति गराइराखेका हुन्छन् ।

उनीहरूले यस्तो काम आफूहरूले सुरक्षित हिसाबमा गर्दै आएको दाबी गर्छन् । उनीहरूको तर्क के पनि हुने गरेको छ भने प्रकृतिमा पाइने भाइरसभन्दा कडा खालको भाइरस पत्ता लगाएर उनीहरू मानिसमा पर्नसक्ने असर कम गर्ने प्रयास गर्दैछन् ।

 

दोस्रो अभिव्यक्ति जसले आम मानिसको धारणामा ठूलो प्रभाव पार्‍यो, त्यो एक वैचारिक लेख थियो तर त्यो वैज्ञानिक लेख थिएन । २०२० मार्च १७ मा ‘नेचर मेडिसिन जर्नल’ मा प्रकाशित उक्त लेखको आगुवाइ संक्रामक रोग विशेषज्ञ क्रिस्टिन जि. एन्डरसनले गरेका थिए जो ‘स्क्रिप अनुसन्धान संस्था’ सँग आबद्ध छन् ।

‘हाम्रो अनुसन्धानले ‘सार्स–कोभ २’ ल्याबबाट उत्पति भएको भाइरस होइन भने यो कुनै उद्देश्य राखेर बाहिर निकालिएको भाइरस पनि होइन,’ संक्रामक रोग सम्बन्धी पाँच विशेषज्ञले आफ्नो लेखको दोस्रो अनुछेच्दमा भनेका छन् । एन्डरसन र उनका साथीहरू आफैँलाई थाहा नभएको कुरामा अरूलाई आश्वस्त पार्ने प्रयास गर्दै थिए ।

उनीहरूको लेख यसरी शुरू भएको थियो, ‘सार्स–कोभ २’ सँग सम्बन्धित ‘सार्स–कोभ’ जस्ता रोग प्रयोगशालको तिकडमबाट उत्पति हुन मुश्किल छ ।’ तर, उनीहरूको लेखले भाइरस कुनै तिकडमबाट निस्किएको पनि प्रष्टरूपमा बताउन सकेका छन् त ? आफ्नो तर्क प्रस्तुत गर्ने काममा लेखक धेरै ठाउँमा चिप्लिएका छन् ।

प्राविधिक भाषाको थोरै जानकारी भएपछि संक्रमण रोग विशेषज्ञ किन चिप्लिए भन्ने स्पष्ट हुन्छ । लेखकले दिएका दुई तर्क जसमा भाइरस उत्पतिको तिकडमलाई असम्भव भनिएको छ, त्यो अपर्याप्त छ ।

यो तर्कसँग सहमत हुन गाह्रो हुन सक्छ । लेखक यदि कसैले चमेराबाट मानिसमा सर्ने भाइरस बनाउन चाह्यो भने त्यो एक तरिकाले मात्रै बनाउन सकिन्छ भन्छन् । पहिला त मानवशरीरको ‘एसीई२’ रिसिप्टर र स्पाइक प्रोटिनबीचको सम्बन्ध कस्तो हुन्छ भनेर हिसाब गर्न आवश्यक हुन्छ । मावन शरीरमा भाइरस टिकिराख्न यी तत्वको राम्रो गणना हुन आवश्यक हुन्छ ।

त्यसपछि स्पाइक प्रोटिनलाई सोहीअनुसार ढाल्ने प्रयास गरिन्छ । त्यसका लागि आवश्यक मात्रामा एमिनो एसिडसँग मिलाउने काम गरिन्छ । एन्डरसनको लेखले स्पाइक प्रोटिनको मात्रा गणना नगरिएको बताउँदै गर्दा भाइरस रचनाको तिकडम भएको थियो भन्ने आधार पुग्दैन ।

लेखकको अर्को तर्क योभन्दा बढी काल्पनिक छ । धेरै जसो जीवित चिजले आफ्नो आनुवंशिक पहिचानका लागि डीएनए प्रयोग गर्छन् । भाइरसका विषयमा केही नयाँ कुरा पत्ता लगाउन भने आरएनए र डीएनएको रासायनिक मिश्रण प्रयोग गरिन्छ । त्यसका लागि पहिला आरएनएको आनुवंशिक समूह डीएनएनमा परिणत गरिन्छ । डीएनएलाई हेरफेर गरिन्छ, यस क्रममा वंशाणु थपिन्छ अथवा अदलबदल गरिन्छ । यसरी तयार भएको डीएनए आनुवंशिक समूह संक्रामक आरएनएमा परिणत गरिन्छ ।

डीएनए सम्बन्धी केही विषयमात्रै वैज्ञानिक लेखमा समावेश गरिएको छ । जसले ‘सार्स २’ भाइरस हेराफेरी गर्‍यो, त्यसले ‘सम्भवत’ डीएनए सम्बन्धी केही तथ्य प्रयोग गरेको हुनुपर्छ । यस विषयमा एन्डरसन लगायतका लेखकले गरेको तर्क अपर्याप्त छ । कृत्रिम रूपमा डीएनए बनाउन सकिने हुँदा ‘सार्स २’ भाइरसमा कतै प्रकाशित नभएका किसिमका डीएनएको प्रयोग भएको हुन सक्ने तथ्य नकार्न सकिँदैन ।

यस विषयमा एन्डरसन समूहले दुई वटा तर्क सार्वजनिक गरेका छन् । उनीहरू भन्छन्– ‘सार्स २’ भाइरस स्पष्ट रूपमा कसैलाई लक्षित गरेर प्रयोग गरिएको होइन ।

यो निष्कर्ष दुई आधारहीन कल्पनाका आधारमा गरिएको छ । विश्वको सञ्चार माध्यमलाई विश्वस्त पार्ने कि ‘सार्स २’ भाइरस कुनै प्रयोगशालाबाट बाहिरिएको होइन । प्राविधिक रूपमा उनीहरूको तर्कको आलोचना गर्नेलाई एन्डरसन समूहले तल्लो किसिमको शब्द प्रयोग गरेका छन् ।

विज्ञान भनेको आफैँले आफैँलाई सच्याउँदै लग्ने विषय हो । विज्ञ कहलिएका पनि एकअर्काको काममा देखिएको गल्ती औल्याउँदै जान्छन् । विज्ञ समूहले एन्डरसन समूहको निष्कर्षमा धेरै त्रुटि रहेको किन औँल्याउँदैन ?

आजका दिनमा विश्वविद्यालयमा दिइने भाषण महँगो हुनु पनि एक कारण हुनसक्छ । सबै हिँडेको बाटोबाट पृथक भएर हिँड्न खोज्दा आफ्नो करियर नै समाप्त हुने डरका कारण पनि यस्तो हुनसक्छ ।

कुनै संक्रामक रोग विशेषज्ञको अनुसन्धानका विषयमा आलोचना गर्ने व्यक्तिले ठूला आयोजनाबाट हात धुनुपर्ने अवस्था आउन सक्छ । अनुसन्धानका लागि सरकारी बजेट प्रदान गरिने स्थानमा यिनै विशेषज्ञ समूहका मान्छे रहने हुँदा पनि कोही उनीहरूको अनुसन्धानका विषयमा आलोचना गर्न अघि सर्दैनन् ।

दासजास्की र एन्डरसनको लेख दुवै राजनीतिक प्रकृतिका थिए, त्यसमा कुनै वैज्ञानिक आधार थिएन । तर, उनीहरूका अभिव्यक्ति प्रभावकारी रहे । मूलधारका सञ्चार माध्यमहरूले उनीहरूका अभिव्यक्ति बारम्बार उद्धृत गर्दै विज्ञहरूले भाइरस प्रयोगशालाबाट निस्किएको भन्ने कुनै आधार नभएको बताए भने ।

यसरी सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा दासजास्की र एन्डरसनलाई बढी उद्धृत गरिएको थियो । सञ्चारमाध्यमले उनीहरूका अभिव्यक्तिमा रहेको अपूर्णता भने खासै वास्ता गरेनन् । मूलधारका सञ्चारमाध्यममा विज्ञान सम्बन्धी रिपोर्टर हुने गर्छन्, अझ भन्ने हो भने उनीहरूको समूहमा विशेषज्ञ पनि हुने गर्छन् । कसैले पनि वैज्ञानिकहरूको दाबीमा प्रतिप्रश्न गर्ने सुविधा उपयोग नगर्दा दासजास्की र एन्डरसनको दाबीले चुनौती सामना गर्नु परेन ।

प्राकृतिक उत्पतिमा शंका

प्राकृतिक उत्पति सञ्चारमाध्यमले प्रतिपादन गरेको भाइरस सम्बन्धी नयाँ सिद्धान्त थियो । सञ्चारमाध्यमले यो सिद्धान्त कुनै हिच्किचाहटविना २०२१ को फेबु्रअरीमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले चीन भ्रमण गर्नुअघिसम्म प्रयोग गरे । विश्व स्वास्थ्य सङ्गठनलाई प्रतिनिधित्व गर्दै चीन गएका अधिकारीहरू चिनियाँ अधिकारीको कडा निगरानीमा थिए ।

विश्व स्वास्थ्य सङ्गठनबाट गएका प्रतिनिधिमा दासजास्की पनि सम्मिलित थिए । जसले शुरूवाती चरणबाटै भाइरस प्रयोगशालामा उत्पति भएको हुनसक्ने कुरा पूर्णतः नकार्दै आएका थिए । चिनियाँ अधिकारीले आशा गरेको जस्तै यो प्रोपोगान्डाको जित थिएन । भाइरस प्राकृतिक संकट सिद्धान्तकै आधारमा उत्पति भएको हो भन्ने तर्क दिन चिनियाँ अधिकारीसँग पर्याप्त तथ्य थिएन ।

यो आश्चर्यजनक थियो । ‘सार्स १’ र ‘मार्स भाइरस’ ले पर्यावरणमा आफ्नो निशान छोडेर गएका थिए । ‘सार्स १’ भाइरस संक्रमण गर्ने जङ्गली जनावर महामारी फैलिएको चार महीनाभित्रै पत्ता लागेको थियो । मार्स रोग फैलाउने जनावार नौ महीनाभित्र पत्ता लागेको थियो । यता १५ महीनाभन्दा बढी हुँदा पनि चिनियाँ अधिकारीले कोरोना भाइरस कुन जीवबाट मान्छेमा सर्‍यो भन्ने कुरा पत्ता लगाउन सकेका छैनन् ।

प्राकृतिक उत्पति एउटा अनुमानमात्रै भन्दै थियो । यद्यपि, एक वर्षभन्दा बढी समयसम्म यो तर्कमा बल पुग्ने कुनै आधार फेला परेको छैन । जबसम्म यो तर्क पुष्टि गर्ने कुनै आधार फेला पर्दैन तबसम्म यसको विपक्षमा रहेको अर्को तर्क ‘सार्स २’ भाइरस प्रयोगशालाबाट बाहिरिएको भन्ने तथ्य बढी मजबूत हुन्छ ।

महामारी नै निम्तिन सक्ने किसिमले कोही किन नोबेल कोरोना भाइरसको उत्पत्ति गर्न चाहन्छ ? जबदेखि संक्रामक रोग विशेषज्ञहरूले भाइरसको अनुवंशिकता हेरफेर गर्न सक्ने विधि पत्ता लगाए, तब उनीहरूले महामारीबाट अघि बढ्न सकिने सम्भावना रहेको तर्क दिँदै जीवबाट आएको भाइरस कसरी मानवमा सर्न सक्छ भन्ने खोजी गर्दैछन् ।

त्यसका लागि उनीहरूले सन् १९१८ मा महामारी फैलाएको भाइरस पुनःउत्पति गराएका छन् । हराइसकेको भाइरस पुनः उत्पति गरेर उनीहरूले के देखाउन खोजेका छन् भने विलुप्त भएका भाइरसको डिएनए प्रयोग गरेर फेरि जीवित बनाउन सकिन्छ ।

यस प्रक्रियालाई उनीहरूले परीक्षण प्रयोगको लाभ नामकरण गरेका छन् । कोरोना भाइरससँगै वैज्ञानिकहरूमा स्पाइक प्रोटिनका विषयमा पनि कौतुहतला थियो । यो कौतुहलता मेटिँदा कस्तो प्रकारको भाइरसले कुन जनावरलाई लक्षित गर्छ भन्ने कुरा पत्ता लाग्छ । सन् २००० मा डच अनुसन्धानकर्ताले मुसाको स्पाइक प्रोटिनको आनुवंशिक अध्ययन गरेर त्यसबाट उत्पन्न हुने कोरोना भाइरसले बिरालोलाई मात्रै संक्रमण गर्ने पत्ता लगाएका थिए ।

संक्रामक रोग विशेषज्ञले ‘सार्स १’ र मार्स महामारी फैलिएसँगै चमेराबाट उत्पति हुने कोरोना भाइरसका विषयमा अध्ययन शुरू गरेका थिए । विशेष गरी विशेषज्ञहरूले चमेराबाट उत्पति हुने कोरोना भाइरस मान्छेमा संक्रमण हुनुपूर्व स्पाइक प्रोटिनमा के के परिवर्तन हुन आवश्यक हुन्छ भन्ने अध्ययन गरेका थिए ।

वुहानको संक्रामक रोग अनुसन्धान संस्थासँग आबद्ध चमेरा भाइरस विशेषज्ञ सि झेङ लीले जो ‘ब्याट लेडी’ नामले पनि चिनिन्छिन्, चीनको युनान प्रान्तको दक्षिणी भेगमा रहेको चमेरा गुफाको निरन्तर भ्रमणबाट सयौँ प्रकारका कोरोना भाइरस सम्बन्धी जानकारी संकलन गरेकी छिन् ।

अमेरिकास्थित नर्थ क्यारोलिना विश्वविद्यालयकी प्रसिद्ध कोरोना भाइरस अनुसन्धानकर्ता राफल ए. बार्सीसँग मिलेर सिले काम गर्न थालिन् । उनीहरूले चमेराबाट उत्पन्न हुने भाइरसले मानिसलाई संक्रमण गर्ने सम्भावना कति प्रबल हुन्छ भन्ने विषयमा अनुसन्धान केन्द्रित गरे । नोभेम्बर २०१५ मा उनीहरूले नोबेल भाइरस उत्पति गरे । त्यस क्रममा उनीहरूले ‘सार्स १’ भाइरसको मेरुदण्ड चमेरा भाइरसको स्पाइक प्रोटिनसँग फेरबदल गरेका थिए ।

यसरी उत्पति गरिएको भाइरसले मान्छेको श्वास प्रणालीमा असर गर्ने क्षमता राख्थ्यो । बार्सी र सीले आफ्नो एक अनुसन्धान लेखमा यसबाट उत्पन्न हुने जोखिमको विषयमा स्पष्ट तर्क गरेका थिए । यो अनुसन्धानबाट भविष्यमा पुग्न सक्ने फाइदाका विषयमा पनि उनीहरूले बताएका थिए ।

वुहानको संक्रामक रोग संस्थाभित्र बार्सीले सीलाई कोरोना भाइरस कसरी उत्पति गर्ने भन्ने विधि र त्यसले अन्य प्रजातिलाई कसरी आक्रमण गर्नसक्छ भन्ने विधि सिकाएकी थिइन् । यहाँ लक्षित गरिएको प्रजाति मानव र उसको रक्त कोष थियो । त्यसका लागि मानवीय गुण दिइएको मुसामा परीक्षण गरियो ।

सी आफ्नो प्रयोगशालामा फर्किएपछि आफूले सिकेको विधि प्रयोगमा ल्याउने कोशिस गर्न थालिन् । उनले आनुवंशिक रूपमा बनाइएको कोरोना भाइरसले मानवीय कोषमा आक्रमण गराउने कोशिस गर्न थालिन् । यो कुरा हामी कसरी यकिन गर्न सक्छौँ ?

यहाँ कथामा रोचक मोड आउँछ । उनको कामलाई ‘न्याशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फ्रक्सियस डिजिज (एनआईएआईडी)’ ले आर्थिक सहयोग गरेको थियो । उक्त संस्था अमेरिकाको ‘न्याशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच)’ अन्तर्गतको हो । उनको कामलाई जसले आर्थिक सहयोग गर्‍यो त्यो सार्वजनिक अभिलेखको विषय हो । योसँगै उनले उक्त आर्थिक सहयोगका माध्यमबाट आएको रकमले के काम गर्ने योजना बनाएकी थिइन् भन्ने पत्ता लाग्छ ।

के सी मानव कोषलाई प्रभावित गर्ने नोबेल कोरोना भाइरसको उत्पतिका विषयमा आफ्नो प्रयोगशालामा काम गर्दै थिइन् ? सीले आफ्नो प्रयोगशालाबाट ‘सार्स २’ भाइरस उत्पन्न गरिन् अथवा गरिनन् त्यो यकिनका साथ भन्न सक्ने आधार छैन । तर, उनी त्यसै दिशातर्फ उन्मुख थिइन् भन्न सकिन्छ ।

‘वुहानको संक्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्था कोरोना भाइरसको उत्पतिका क्षेत्रमा काम गर्दै थियो भन्ने स्पष्ट हुन्छ’ भन्छन् रिर्चड एच. अलब्रइट । रिचर्ड रटगर्स विश्वविद्यालयका आणविक जीवविज्ञान र जैवी सुरक्षा विषयका अग्रणी विशेषज्ञ हुन् ।

२०१९ डिसेम्बर ९, मा कोरोना महामारी फैलिनुअघि नै दासजास्कीले एक अन्तर्वार्ता दिएका थिए । उक्त अन्तर्वार्तामा उनले वुहानस्थित संक्रामक रोग अध्ययन संस्थाले स्पाइक प्रोटिनका विषयमा अनुसन्धान गर्दै गरेको बताएका थिए । उनले मानवीय गुण दिइएको मुसालाई कोरोना भाइरसले सक्रमित गर्न सक्ने बताएका छन् ।

‘यसरी ६–७ वर्षको प्रयत्नपछि हामीले सार्स सम्बन्धी कोरोना भाइरस पत्ता लगाएका छौँ’ दासजस्कीले अन्तर्वार्ताको २८औँ मिनेटमा भनेका छन्, ‘यीमध्ये केही प्रयोगशालामा नै मानिसको कोषमा प्रवेश गर्न सक्छन्, यसमध्ये केहीले मानवीय गुण प्राप्त मुसामा सार्स रोग लाग्न सक्नेछ । यसरी विकसित भएको कोरोना भाइरसलाई भ्याक्सिनले समेत निको पार्न सक्नेछैन । यो निकै खतरनाक हुन्छ ।’

अन्त्यमाः यदि ‘सार्स २’ प्रयोगशालाबाट उत्पति भएको हो भने यस विषयमा हालसम्म पनि किन सर्वत्र जानकारी छैन ? यस विषयमा कुरा गर्न धेरै मानिससँग अहिले कुनै तर्क छैन । यो सूचीलाई चिनियाँ अधिकारीले नेतृत्व गरेका छन् । तर, अमेरिका र युरोपका संक्रामक रोग विशेषज्ञहरूलाई यो विषयमा बहस गर्ने कुनै चासो छैन ।

अन्य वैज्ञानिकहरूलाई पनि यस विषयमा बहस अघि बढाउने कुनै इच्छा छैन । विश्वविद्यालयमा अनुसन्धान गर्न सरकारले दिने बजेट विज्ञ समूहको निर्देशनमा दिने गरिन्छ । जसले राजनीतिक स्वार्थ भएको यस्ता मुद्दामा आवाज उठाउँछन्, उनीहरूको अनुसन्धान बजेट पास हुने सम्भावना कम रहन्छ । यसले उनीहरूको अनुसन्धानको भविष्य नै समाप्त समेत गर्ने हुँदा कोही पनि जोखिम मोल्न चाहन्दैन ।

जो वितरण प्रणालीको वरिपरि घुम्छन्, उनीहरूको राम्रो व्यवहारकै कारण पुरस्कृत हुने गर्छन् होला । यदि तपार्इंलाई लाग्छ कि एन्डरसन र दासजास्कीले प्रयोगशालाबाट निस्किएको भाइरसका विषयमा बच्न प्राकृतिक उत्पत्तिको सिद्धान्त प्रतिपादन गरे, जसले उनीहरूको वैज्ञानिक भविष्यलाई अप्ठेरोमा पार्न सक्ने सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।

न्याशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फ्रक्सिएस डिजिजले २०२० अगस्टमा वैज्ञानिक अनुसन्धानका लागि दिएको अनुदानको दोस्रो र तेस्रो सूची हेर्दा हुन्छ । अनुदान कसले पाए भन्ने कुराले तपाईंको बुझाइथप स्पष्ट पार्नेछ ।

अमेरिकी सरकार र चिनियाँ अधिकारीबीच यस विषयमा एउटा साझा स्वार्थ जोडिएको देखिन्छ । यी दुवै पक्ष सीलाई कोरोना भाइरस सम्बन्धी अनुसन्धानका लागि अमेरिकास्थित न्याशनल इन्स्टिच्युटले अनुदान दिएको विषय उजागर गर्न चाहँदैनन् ।

यस विषयमा पर्दा पछाडि हुन सक्ने छलफल हामी अनुमान गर्न सक्छौँ जहाँ चिनियाँ सरकार भन्छ, ‘यदि यो अनुसन्धान त्यति नै खतरापूर्ण थियो भने हाम्रै सीमाभित्र अनुसन्धान गर्न अनुदान किन दियौँ ?’ यस विषयमा अमेरिकी सरकारले सम्भावित रूपमा यस्तो जवाफ दिन्छ होला, ‘हेर, त्यसलाई फैलिन तिमीले दिएका थियौँ तर के यस विषयमा हामीले सार्वजनिकरूपमा नै छलफल गर्नुपर्छ ?’

यो शृङ्खलाबद्ध मौनताको विषयमा मूलधारको सञ्चारमाध्यमलाई पनि जोड्न आवश्यक हुन्छ । मेरो जानकारीमा आएसम्म कुनै पनि मूलधारका सञ्चारमाध्यमले भाइरस प्रयोगशालाबाट बाहिरिएको विषयमा गहन रिपोर्टिङ गरेका छैनन् । केहीले सम्पादकीय र विचार पृष्ठमा लेख प्रकाशित गरे पनि मिहिन ढङ्गको रिपोर्टिङ भएको छैन । जुन भाइरसले तीस लाखभन्दा बढी मानिसको ज्यान लियो त्यसका विषयमा एक गहन अध्ययन हुन आवश्यक हुन्छ । के सञ्चारमाध्यममा सत्य हासिल गर्ने चाहना सकिएको हो ?

राजनीतिक रिपोर्टर जस्तो विज्ञान रिपोर्टरसँग आफ्नो स्रोतको सूचनाका विषयमा शंका गर्ने बानी नहुनु एक कारण हो । धेरै जस्ता रिपोर्टरले वैज्ञानिकहरूको ज्ञान सामान्य मान्छेमाझ पुर्‍याउने काम मात्रै गर्छन् । जब उनीहरूको स्रोतले राम्रो सूचना दिँदैनन् उनीहरू प्राप्त सूचनामा नै रुमलिन्छन् ।

अर्को कारण भनेको धेरै जस्तो सञ्चारमाध्यमले राजनीतिक विषयलाई मात्रै बढी प्राथमिकता दिँदा यस्तो अवस्था आएको हुनसक्छ । राष्ट्रपति ट्रम्पले भाइरस वुहानको प्रयोगशालाबाट बाहिर आएको बताएका थिए । यो दाबीलाई सञ्चारमाध्यमका सम्पादकले खासै विश्वास गरेनन् । सम्पादकहरूले बरु संक्रामक रोग विशेषज्ञहरूको कुरा सुन्दै प्रयोगशालाबाट भाइरस बाहिरिएको विषयलाई षड्यन्त्रको सिद्धान्तका हिसाबमा हेरे । जब अमेरिकी राष्ट्रपति जो बाइडनका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवरिल हैन्सले पनि भाइरस प्रयोगशालाबाट बाहिरिएको बताइन्, उनको भनाइलाई पनि खासै वास्ता गरिएन ।

सम्पादकहरूले कम्तीमा प्रयोगशालाबाट भाइरस बाहिरिएको विषयलाई गहनताका साथ लिँदै त्यस विषयमा मिहिन अध्ययन गर्न लगाएको भए, सत्य केही हदसम्म बाहिर आउथ्यो होला ।

भाइरसका कारण गत वर्ष घरभित्रै थुनिएका मानिसले सञ्चारमाध्यममा आएका सूचनाभन्दा गतिलो सूचना प्राप्त गर्ने अधिकार राख्छन् । आशा गरौँ कुनै समयमा यो बाहिर आउनेछ । प्राकृतिक उत्पतिका आधारमा भाइरस फैलिएको बताइए पनि यसमा कुनै तर्कपूर्ण आधार समावेश छैन । संक्रामक रोग सम्बन्धी अन्तर्राष्ट्रिय विशेषज्ञहरूले सम्भवतः यो विषयमा केही जानकारी बाहिर ल्याउने आशा गर्न सक्छौँ ।

कोरोना भाइरस वुहानको प्रयोगशालाबाट बाहिरिएको हो भन्ने विषयलाई अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जोडतोडका साथ उठाइरहँदा उनले भनेको कुरामा खासै सत्यता नहुने विश्वासका साथ धेरैले त्यसलाई अविश्वास गरेको पाइन्छ ।

(निकोलस वेड वैज्ञानिक लेखक र सम्पादक हुन् । ५ मे २०२१ मा द बुलेटिनमा प्रकाशित उनको पूर्ण लेखको यो संक्षेपीकृत अंश हो । यो लेख पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्