जेठ ८, काठमाडौँ ।
कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित बनेको नेपाललाई विदेशबाट थप स्वास्थ्य सामग्री सहयोग आज नेपाल आउँदैछ । कोरोनाविरुद्धको लडाईमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।
यसैक्रममा अमेरिका र स्वीटजरल्याण्डबाट आज थप स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत ठूलो मात्रामा स्वास्थ्य सामग्री पठाउन लागेको हो । कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।
अमेरिकाबाट आउने सामग्री आज दिउँसो १ बजे काठमाडौं पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै स्विटजरल्याण्डबाट पनि आज अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री नेपाल आउँदैछ । बिहान ९ बजे स्विटजरल्याण्डबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।