कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै गाउँपालिका – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै गाउँपालिका

    मा प्रकाशित

मुग्लिन, जेठ १० ।

चितवनको इच्छाकामना गाउँपालिकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचार व्यवस्थापनका लागि गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउने अभियानलाई तीव्र पारेको छ । हालसम्म सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले तीन ठाउँमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दारेचोक स्वास्थ्यचौकी कुरिनटारमा १६ शय्या, वडा नं ५ कार्यालय रहेको स्रोत केन्द्र भवन मुग्लिन बजारमा चार शय्या र वडा नं ७ स्थित आधारभूत स्वास्थ्य एकाइ स्याङ्दीमा पाँच शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ । सञ्चालनमा ल्याइएका सबै केन्द्रमा अक्सिजन र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले नागरिकको उपचारमा सहज होस् भन्ने उद्देश्यले गाउँगाउँमा आइसोलेशन केन्द्रको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितले समयमै सहजरूपमा स्वास्थ्य उपचार पाउन सकोस् भन्ने हाम्रो चाहना हो, हामी आवश्यकतानुसार आइसोलेशन निर्माण गछौँ ।”

इच्छाकामनामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८८ पुगेको छ । तीमध्ये दुई सङ्क्रमितको मृत्यु भएको छ । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३४ छ । उनीहरुमध्ये गाउँपालिकाले सञ्चालन गरको आइसोलेशनमा छ जना उपचाररत छन् भने अन्य सबै सङ्क्रमित होम आइसोलेशनमा रहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले नागरिकको घरघरमा गएर स्वास्थ्य जाँच समेत गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्