जेठ १२, काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
विश्व शान्तिका अग्रदूत एवम् बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बू समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उहाँले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याउनुभएको छ ।
कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न र विजय प्राप्त गर्न गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक रहेको बताउँदै उपराष्ट्रपतिले बुद्धका उपदेशलाई आत्मसात् गर्न सकेमा कोरोना भाइरसलगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।