बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बौद्धकालीन सम्पदाको अन्वेषण जरुरी : मुख्यमन्त्री पोखरेल

    मा प्रकाशित

रुपन्देही, जेठ १२ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बौद्धकालीन सम्पदाको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । आज २५६५औँ बुद्धजयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा रहेका धेरै स्थलहरुको अवस्थाका बारेमा जानकारी हुनसकेकाले माटोमुनि दबिएर रहेका ती सम्पदास्थलको अन्वेषण गरी संरक्षित गर्नु आवश्यक छ, भन्नुभयो ।

बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा, अरौराकोटलगायतका स्थलको खोज, अनुसन्धान तथा पर्यटकीय हिसाबले ती क्षेत्रको विकास जरुरी रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले बौद्ध सम्पदास्थलको खोज र अनुसन्धानका लागि काम अघि बढेको जानकारी गराउँदै उहाँले यी महत्वपूर्ण सम्पदास्थलमा पूर्वाधार तयार गरी पर्यटन प्रवद्र्धनका लागि बृहत्तर ढङ्गले काम अघि बढाउनुपर्ने जनाउनुभयो । “पर्यटन प्रवर्धनमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ हामी योजनाबद्ध रूपले अघि बढिरहेका छौँ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको जोखिमका कारण बुद्धजयन्तीमा लुम्बिनीमा औपचारिक कार्यक्रम आयोजना नगरिएको जानकारी गराउनुभयो । “आजभन्दा २५६५ वर्षअघि अर्थात् इसापूर्व ५६३ मा लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्व शान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि बुद्धले २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारसहित गृह त्याग गर्नुभयो”, शुभकामना सन्देशमा भनिएको छ ।

हिंसा र दुःखको कारण तथा समाधानको उपायको खोजीमा गृहत्याग गर्नुभएका सिद्धार्थ गौतम बुद्धले भ्रातृत्व र मानव कल्याणका लागि समाजलाई महान दार्शनिक विचारबाट दीक्षित गर्नुभएको र मानिसलाई सत्कर्मको बाटोमा हिँडाउन सफल हुनुभएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धका उपदेशहरु आज बुद्ध दर्शनका रूपमा स्थापित भएको बताउनुभयो । बुद्ध दर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानवजातिकै लागि अमूल्य निधि भएका उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्