भेरी अस्पतालकाे घटना : काे हुन् स्वास्थ्यकर्मीमाथि हातपात गर्ने ? – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

भेरी अस्पतालकाे घटना : काे हुन् स्वास्थ्यकर्मीमाथि हातपात गर्ने ?

    मा प्रकाशित

जेठ १४, दाङ ।

अस्पतालका नर्समाथि कुटपिट भएको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्य कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

अस्पतालमा उपचार गराइरहेका एकजना आफन्तको मृत्यु भएपछि दाङका मानबहादुर रावतलगायतको समूहले अस्पतालमा तोडफोड गरी चिकित्सक तथा नर्सहरूमाथि आक्रमण गरेका थिए।

नर्सहरूका अनुसार उनीहरूले नर्सका घाँटी थिचेका थिए। र बच्नका लागि केही स्वास्थ्यकर्मीहरूले एकतला माथिबाट हाम्फालेका थिए।

दाङ तुलसीपुर उपमहानरपालिका–११ उरहरीनिवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो।

त्यही विषयमा विवाद हुँदा मृतकका भाइ मानबहादुरलगायतको समूहले अस्पताल तोडफोड गर्दै नर्स तथा डाक्टरमाथि हातपात गरेका हुन्। त्यसपछि चिकित्सक तथा नर्सहरूले काम गर्न नसक्ने भन्दै आत्म समर्पण गरेका तस्विरहरू पनि सार्वजनिक भएका छन्।

को हुन् रावत?

मानबहादुर रावत एमालेका कार्यकर्ता हुन्। उनी अहिले दाङ निर्वाचन क्षेत्र नं ३का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि छन्।

उनी ओली निकट मानिन्छन् र गृह जिल्ला दाङकै प्रदेश मुख्यमन्त्री शंकर पोखरेलका विश्वासिला पात्र मानिन्छन्। रावत यसअघि सरकारी कर्मचारी पनि थिए। छ महिनाअघिमात्रै उनले सरकारी जागिर छोडेका थिए।

सुरुमा उरहरी गाउँविकास समितिमा उनी गाविस सचिव थिए।

पार्टीको नवौ महाधिवेशन चलिरहेका बेला उनी निवर्चान क्षेत्रका संयोजक पनि बनाइएका थिए। अधिवेशन तयारीकै लागि देउखुरी पुगेका बेला उनीमाथि पार्टीकै एक जना महिला कार्यकर्ताले आफूमाथि जवर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन्। ती महिलाका आफन्तले रावतलाई त्यहाँ कुटपिट पनि गरेका थिए।

त्यसपछि रावतमाथि जवर्जस्ती करणी आरोपमा लामो समय मुद्दा चलेको थियो। पछि उनलाई अदालतले सफाइ पनि दियो।

स्थानीय तह भइसकेपछि उनी वडा कार्यालयमा थिए। त्यहाँ पनि जनप्रतिनिधिलाई होच्याउने र महिला कर्मचारी तथा जनप्रतिनिधिहरूलाई पनि अभद्र व्यवहार गरेपछि उनकै पार्टीका कार्यकर्ताले कारबाहीको माग गर्दै पार्टीमा निवेदन दिएका थिए।

त्यसपछि तुलसीपुर उपमहानरपालकिका मेयर घनश्याम पाण्डेले उनलाई आफ्नो स्वकीय सचिव पनि बनाएका थिए। तर पनि उनीविरुद्ध दबाव बढ्न थालेपछि पाण्डेले पनि उनलाई हटाएका थिए। त्यसपछि उनी पार्टीमै सक्रिय रहँदै आएका थिए।

भेरीमा के भएको हो ?

कोरोना संक्रमित डिल्लीबहादुर रावत गम्भिर भएपछि भेरी अस्पताल लगिएको थियो। चिकित्सकहरूका अनुसार उनको अवस्था पहिलादेखि नै नाजुक थियो।

बिहीबार साँझपख बिरामीलाई धेरै गाह्रो भएपछि चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेका थिए।

तर मानबहादुरहरूले ‘हामीलाई नसोधी किन भेन्टिलेटरमा राखेको’ भन्दै चिकित्सकहरूसँग निहुँ खोज्न थाले। त्यसपछि विवाद बढ्दै जाँदा उनीहरूले आक्रमण गरेका थिए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल मुख्यमन्त्री शंकर पोखरेलका भान्जी जुवाइँ हुन्। उनी र मुख्यमन्त्रीसँगको सम्बन्ध देखाउँदै मानबहादुरले सुरुदेखि नै अस्पतालका चिकित्सक तथा नर्सहरूलाई निकै दवाव दिँदै आएका थिए।

बाँके जिल्ला प्रहरीले मानबहादुरलगायत ३ जनालाई पक्राउ गरेको छ।

अहिले भेरी अस्पतालका सबै स्वास्थ्यकर्मीहरूले आन्दोलन गरिरहेका छन्।आयाेमेलबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्