उपेन्द्र गोले
जेठ १४, रौतहट ।
जनशक्ति अभावमा रौतहटको जिल्ला अस्पताल गौरमा आईसीयू र भेन्टिलेटर सेवा अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा रहेको १० बेडको आईसीयु र ४ वटा भेन्टिलेटर मेसिन दक्ष जनशक्तिको अभावमा थन्किएको हो । कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल हुदा धमाधम बिरामीलाई अन्य जिल्लामा रेफर गर्न थालिएको छ ।
अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी रहेकामा हाल एक जना मात्र कार्यरत रहनु भएको छ । दरबन्दी अनुसार चिकित्सक भइदिए आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याइने अस्पताल प्रमुख डा. कृष्ण साहले बताउनु भयो । चिकित्सक पठाइदिनुस् भनेर हारगुहार गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ हुन नसकेको साहको भनाइ रहेको छ । कोभिडको महामारीका बेला बिरामी गम्भीर हुन पुगेमा अन्य जिल्लामा रेफर गर्नुको विकल्प नरहेको समेत साहले बताउनु भयो ।
अस्पतालको पश्चिमपट्टिको भवनलाई अस्थायी कोभिड वार्ड बनाइएको छ । अस्पतालकै चिकित्सक ड्युटी मिलाएर कोभिड वार्डमा खटने गरेको अस्तपालले जनाएको छ । अस्थायी अस्पतालमा विगत ३ दिनमा ७ सङ्क्रमितले ज्यान गुमाएका छन् । सङ्क्रमण लागेर गम्भीर भएका बिरामीलाई तत्काल आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने हुन्छ तर अस्पतालमा भएका सुविधा जनबक्तिको अभावमा प्रयोगमा ल्याउन नसक्दा ज्यान गुमाउनु परेको डा. साहको भनाइ रहेको छ ।