जेठ १५, काठमाडौँ ।
आज मुलुकभरमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चक्रवात यास पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा रहेको जानकारी दिँदै महाशाखाले अहिले देशका अधिकांश भू–भागमा सामान्य बदली भएको बताएको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशहरुका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।