जेठ १६, काठमाडौँ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८ / ७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०७८ ÷ ७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गर्नुभयो ।
यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि ल्याईएको हो, अर्थमन्त्री पौडेलले भन्नुभयो । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसै अनुरुप बजेट केन्द्रित गरिएको उहाँले बताउनुभयो । अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताउनुभयो । आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने धारणा राख्नुभयो । सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोहीअनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको उहाँको भनाइ छ । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको उहाँको भनाइ छ ।