डिल्लीराज विश्वकर्मा
जेठ १६, रुकुम (पूर्व) ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ का गर्भवती महिलालाई निःशुल्क कुखुरा वितरण गरिएको छ । सिस्ने–६ को वडा कार्यालय छिप्री दहमा वडाभित्र बसोबास गरिराखेका १५ जना गर्भवती महिलालाई १५ वटाका दरले निःशुल्क कुखुरा वितरण गरिएको हो ।
गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १५ जना गर्भवती महिलालाई गाउँपालिकाका अध्यक्ष कुमारी बरालले कुखुरा वितरण गर्नुभएको हो । वडाका बासिन्दासहित वडाभित्र बसोबास गर्दै आएका र गर्भ नियमित चेकजाँच गरिराखेका गर्भवती महिलालाई कुखुरा वितरण गरिएको वडाध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो ।
वडाभित्र हाल ५२ जना गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित गर्भ चेक जाँच गरिरहेका छन् । गर्भ नियमित चेक गरिराखेका गर्भवती महिलालाई मात्र कुखुरा दिइने र यसो गर्दा गर्भ नियमित चेक जाँच गर्ने बानीको विकास हुने वडाध्यक्ष रेग्मीले बताउनुभयो । ५२ मध्ये ३७ जना गर्भवती महिलालाई १५ वटाका दरले कुखुरा वितरण हुन बाँकी नै रहेको वडाले जनाएको छ ।
छिप्रिदह आसपासका गर्भवतीलाई कुखुरा वितरण गरिएकोमा अब वडाको खोपीचार, पाखागाउँ, दकलबारा र आला टोलमा वितरण गर्ने बाँकी छ ।