आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै – Kanika Khabar
Thursday, March 20Nepali News Portal

आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदै

    मा प्रकाशित

जेठ १७, दाङ ।
आज लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् ।

दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचन बिहान ९ बजे शुरू हुनेछ । कोरोना पोजेटिभ भए पनि मतदातालाई उपनिर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

उपनिर्वाचनमा कोरोना पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ ।

निर्वाचनमा मतदान गर्नेहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट पेस गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

निर्वाचनमा ३ सय मतदाता छन् । जसमा प्रदेश सांसदको संख्या ८३ छन् भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।

उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो ।

यो उपनिर्वाचनमा प्रदेशसभामा कुल ८७ सांसद रहे पनि कारवाहीमा परेका थप चार जना सांसद भने मतदानबाट वञ्चित हुने भएका छन्।

माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् ।

यो निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन् ।

उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्