जेठ १७, दाङ ।
नेपाली सेनाले ‘सफा हिमाल’अभियानका क्रममा मकालु हिमाल क्षेत्रबाट सङ्कलन गरेको फोहोर हस्तान्तरण गरेको छ । सङ्कलित फोहर अभ्नी भेन्चरस् फर सस्टेइनाविलिटी नामक संस्थालाई प्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनका लागि नकुहिने चार हजार ८ सय ८२ किलो फोहोर हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।
सङ्कलन गरिएको ६ हजार ६ सय ७ किलो फोहोरमध्ये सड्ने–कुहिने एक हजार ७ सय २५ किलो मकालु गाउँपालिकालाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले हिमाल सफाइमा खटिएको सैनिक टोलीलाई दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । ‘सफा हिमाल’ अभियान २०२१ अन्तर्गत छ वटा हिमालबाट २७ हजार ६ सय ७१ किलो फोहोर सङ्कलन गरिएको हो ।