दाङ, १८ जेठ ।
कोभिड १९ को महामारी बढिरहेको बेला फेरि कालो ढुसीको महामारी देखिन थालेको छ । नेपालमा पनि कालो ढुसीको बिरामी बढ्न थालेका छन् । कालो ढुसी के हो र कसरी सु्क्षित रहन सकिन्छ भन्ने सन्दर्भमा यो सामग्री तयार पारिएको छ ।
कालो ढुसीएक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्दछ।
म्युकोर जताततै हुन्छ। माटो एवं हावामा र स्वस्थ मानिसको नाक र खकारमा पनि यो हुन्छ।
यसले साइनस, मस्तिष्क र फोक्सोमा असर गर्छ र यो प्राणघातक पनि हुनसक्छः विशेषगरी डाइबेटिक अथवा शरीरको रोगप्रतिरोधी क्षमतामा गम्भीर कमजोरी देखिएका क्यान्सर वा एचआईभी एड्सका बिरामीहरूका लागि।
चिकित्सकहरूको विश्वासमा म्युकोर्माइकोसिस, जसको समग्र मृत्युकारक दर ५० प्रतिशत जति हुन्छ, स्टेरोइड औषधिको प्रयोगका कारण देखापर्न थालेको हुनसक्छ।
कोभिड १९ का गम्भीर अवस्थाका बिरामीलाई ज्यान जोगाउने औषधिका रूपमा हाल स्टेरोइडको पनि प्रयोग भइरहेको छ।
स्टेरोइडहरूले कोभिड १९ का बिरामीहरूको फोक्सोमा देखिने इन्फ्लामेशन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोनाभाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा त्यसबाट पुग्नसक्ने केही क्षतिलाई रोक्न सघाउने देखिएको छ।
तर तिनले रोगप्रतिरोधी क्षमतालाई पनि कमजोर गराउँछन् र रगतमा चिनीको मात्रा, ब्लड सुगर लेभल, बढाउँछन्।
यस्तो डाइबिटिज भएका वा डाइबिटिज नभएका दुवैथरी कोभिड १९ का बिरामीहरूमा हुन्छ।
‘कालो ढुसी’ बारे जान्नै पर्ने कुरा
– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ ।
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ ।
– ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् ।
– मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् ।
कसरी ध्यान दिने ?
यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् ।
– सफा र सुख्खा मास्क प्रयोग गर्ने
– डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
– धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
– नुनिलो पानीले नाक सफा गर्ने
– जथाभाबी एन्टिबायोटिकको प्रयोग नगर्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको सेवन गर्ने