जेठ १९, दाङ ।
चीनको सिनोभ्याक कम्पनीको खोपलाई डब्ल्युएचओले आपतकालीन प्रयोगको अनुमती दिएको छ । यसअघि चीनकै सिनोफार्म खोपलाई पनि डब्ल्यूएचओले अनुमति दिएको थियो । डब्लुएचओबाट स्वीकृति प्राप्त गर्ने यो चीनले विकास गरेको दोस्रो खोप हो ।
यसअघि डब्लुएचओले सिनोफार्मलाई पनि आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो । सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ। यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ। डब्ल्यूएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ।
यस्ता छन् विशेषता
डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । यो खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ ।
सिनोभ्याक खोप दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्छ । अर्थात् घरमा चलनचल्तीमा प्रयोग हुने रेफ्रिजेरेटर (फ्रिज) मा राख्न मिल्छ । कम तापक्रममा पनि खोप भण्डार गर्ने मिल्ने भएकाले यो खोप विकासोन्मुख देशहरुलाई सहज हुने विश्वास गरिएको छ ।
सिनोभ्याक खोपले खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने अध्ययनहरुमा पाइएको छ ।
डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ । डब्ल्यूएचओबाट अनुमति पाउनुअघि नै सिनोभ्याकको यो खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा प्रयोग भइसकेको छ ।