दाङ, १९, जेठ ।
दाङ जिल्लाको घोराही उप महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेमाथि भएको दुर्व्यवहारको नेपाल तरुण दल दाङले खेद प्रकट गरेको छ । तरुण दल दाङका अध्यक्ष टिका घर्तीले एक विज्ञप्ति जारी घटनाको भर्त्सना गरेका हुन् ।
‘नेपाली काङ्ग्रेसका युवा नेता तथा जनप्रतिनिधि पाण्डेमाथि प्रहरी प्रशासनले बर्दीको भरमा दादागिरी गर्नु कदाचित क्षम्य हुन सक्दैन, बर्दीको दम्भमा जथाभावी दुःख दिने नियतप्रति तरुण दल दाङ घोर विरोध गर्दछ । यस्ता अमर्यादित, अमानवीय तथा घृणित कार्यको विरोध गर्दै दोषीलाई तत्काल कारबाहीको माग गर्दछौँ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष पाण्डे हिजो मंगलबार होम आइसोलेसनमा बसेका एक नागरिकलाई अक्सिजन व्यवस्थापन गर्नका जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय दाङकै गेट अगाडि प्रहरी निरीक्षक रामनारायण गुप्ताले अभद्र व्यवहार गरेका थिए ।