जेठ २०, दाङ ।
हिजो बुधबारका स्थगित भएको नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
यसअघि मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । तर, पार्टी एकता जोगाउन २०७५ जेठ २ गतेको कमिटी यथावत राखेर अघि बढ्नु पर्ने माधव कुमार नेपाल पक्षधर नेताहरुको अडान छ ।
त्यसका लागि ओली पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र सर्वोच्चमा दिएको रिट फिर्ता लिनुपर्ने सर्त राखेको छ ।
एकताको प्रयासस्वरूप उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच बुधबार छलफल भएको छ ।
०७५ जेठ २ आसपासमा फर्किएर पार्टी एकता जोगाउनका लागि भन्दै ओली र नेपाल पक्षीय दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्दै आएका छन् । सोमबार राति पार्टी एकताबारे दरबारमार्गस्थित एक होटलमा दोस्रो तहका नेताहरूबीच करिव चार घन्टा छलफल भएको थियो ।
सोही छलफल सकारात्मक भएको बिफ्रिङपछि ओलीले एमालेमा स्पष्टीकरण सोधिएका घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई थप कारबाही रोकेका थिए ।
यसअघि वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।
पार्टी एकताको प्रयास भइरहँदा नेपाल—खनाल समूह पनि आज छलफलमा जुट्दैछ ।
सो समूहले बिहान ११ बजे भर्चुअल माध्यमबाट छलफलको तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।
नेता नेपाल ओलीका कुनै पनि सर्त नमानी पार्टी एकता हुनुपर्ने अडानमा छन् भने उनीपक्षीय कतिपय नेता दुबै पक्षको जित हुने गरी पार्टी एकता जोगाउनु पर्ने पक्षमा छन् । यसैकारण त्यहाँभित्र असन्तुष्टि शुरू भएको बताइन्छ ।