जेठ २०, काठमाडौँ ।
सरकारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला नपरेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट नदेखिएको स्पष्ट पार्नुभएको छ । उहाँले नेपालमा कोरोना भाइरसका २ वटा भेरिएन्ट मात्रै सक्रिय रहेको प्रष्ट पार्नुभएको छ ।
बेलायतको पत्रिका ‘डेली मेल’ आज प्रकाशन गरेको संस्करणमा ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । डेली मेलको समाचारमा वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरुलाई सचेत गराएको भनेर लेखिएको छ ।
भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्टको नेपालमा दोस्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने पनि डेलिमेलले आफ्नो समाचारमा लेखेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने नेपालमा अहिले बेलायतमा देखिएको ‘अल्फा’ र भारतमा देखिएको ‘डेल्टा’ भेरियन्ट मात्रै सक्रिय रहेको बताउनुभयो ।
यस्तै विश्व स्वास्थ्य संगठनले समेत नेपालमा कुनै नयाँ भेरिएन्ट देखिएको भन्ने कुरा जानकारीमा नआएको बताएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएको जनाएको छ ।