जेठ २०, दाङ ।
दाङ जिल्लामा नदीजन्य पदार्थको जथाभावी दोहन भइरहेको भन्ने गुनासो आइरहेको बेला जिल्ला प्रशासन कार्यालय दाङले नदीजन्य पदार्थ ओसारपसार कार्यविधि अनुसार नै ढुवानी गर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आज सुचना जारी गदै नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ को दफा १३ (१) ङ बमोजिमको तोकिएको समय सिमाभित्र मात्रै नदीजन्य पदार्थ ओसारपसार गर्न आग्रह गरेका छन् ।
उच्च अदालत तुलसीपुरले गएको मंगलवार कार्यविधि अनुसार नै नदीजन्य पदार्थ बोकेको सवारी साधनहरु सञ्चालन गर्न तथा चलाउन दिनु, चलाउन लगाउनु भनी प्रशासनको नाममा अल्पकालिन आदेश जारी गरेको थियो । नदीजन्य पदार्थ ओसारपसार र ढुवानी कार्यविधि अनुसार शहर वा वजार क्षेत्रमा नदीजन्य पदार्थ बोकेको सवारी साधन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन नपाईने व्यवस्था छ । तर, गएको जेठ १४ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा जारी लकडाउनलाई मध्येनजर गदै स्थानिय तहको अनुमतीमा नदीजन्य पदार्थ ढुवानीका लागी बिहान ९ बजेदेखि बेलुका ६ बजे सम्म समय निर्धारण गरेको थियो ।
यस्तैगरी चुन ढुङ्गा ढुवानीका लागी होलेरीतर्फ विहान ९ बजेदेखि बेलुका सात बजे सम्म र बंगलाचुली तर्फ बेलुकी ६ बजेदेखी राती १२ बजेसम्म समय निर्धारण गरिएको थियो । यस विरुद्ध उच्च अदालत तुलसीपुरमा परेको रिट निवेदन माथी सुनुवाई गदै अदालतका मुख्यन्यायधीस निता गौतम दिक्षितको एकल ईजलाशले गत मंगलवार १५ दिन भित्र लिखित जवाफ पेश गर्न अल्पकालिन आदेश जारी गरेको थियो ।