जेठ २१, दाङ ।
सरकारले जारी गरेको निषेधाज्ञा तोडेर सरकारी गाडीमा डेटिङ गएका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले निषेधाज्ञाको समयमा सार्वजनिक स्थलमा ‘डेटिङ’ गएका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुखलाई कारबाही गर्न निर्देशन दिएको हो ।
निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ गएका आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई निर्देशन दिएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नयाँ शहर आयोजना प्रमुख श्रेष्ठले सरकारी गाडीको दुरुपयोग गरेकाले कारबाही गर्न भन्दै गृहमन्त्रालबाट पत्र आएको बताए ।
श्रेष्ठ गत आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवतीसहित स्वयम्भू पुगेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियो र तस्वीरमा अनुहार प्रष्ट नखुले पनि गाडी नम्बरका आधारमा उनको परिचय खुलेको हो । सामाजिक सञ्जालमा भिडियो तथा तस्वीर सार्वजनिक भएपछि गाडी नम्बरका आधारमा गाडी प्रयोगकर्ताको पहिचान भएको हो ।
आइतबार बिहान करिब ११ बजेको समयमा सेतो नम्बर प्लेटको सरकारी गाडीमा युवती लिएर उनी स्वयम्भू डाँडामा पुगि ‘डेटिङमा मस्त’ रहेको तस्वीर तथा भिडियो सार्वजनिक भएको थियो । डेटिङ भिडियो सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा भाइरल भएको थियो ।