जेठ २६, काठमाडौँ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। उक्त मुद्दाको सुनुवाइका लागि सर्वाेच्च अदालतमा आज पेशी तोकिएको हो । यसअघि सोमबार पेशी तोकिएको हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि स्थगित भएको थियो । हिजो पनि प्रधानन्यायाधीश राणा अदालत उपस्थित हुन सक्नुभएन । प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरी आइतबार सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।
इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । यसअघि शुरुमा रिट निवेदक पक्षका कानुन व्यवासायीहरुले इजलास गठनमा प्रश्न उठाएका थिए भने प्रधानन्यायाधीश राणाले आइतबार इजलास पुनर्गठन गर्दै वरिष्ठताको आधारमा गठन गरेपछि सरकार पक्षले त्यसको विरोध गर्दै आएको छ।
आज इजलासमा सरकारी पक्षले प्रश्न उठाएका न्यायाधीशद्वय दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले आफ्नो राय पेश गर्ने बताइएको छ। न्यायाधीशद्वय कार्की र भट्टराईले इजलासमा बस्ने/नबस्ने बारेमा आफूमाथि उठेको प्रश्नमा जवाफ दिने गरी १० पेजभन्दा लामो आदेश तयार पारेका छन्।प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका सन्दर्भमा आफूमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले त्यसका लागि दिने राय तयार पारेका हुन् ।