जेठ ३०, दाङ ।
शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको छ ।
हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ ।
मनसुन देशैभर सक्रिय हुँदै जाँदा अबको तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजदेखि एक साता मनसुन तीव्र सक्रिय रहँदै मुलुकका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुनेभएको छ । थोरै स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले एक वक्तव्य जारी गर्दै गत शुक्रबारदेखि नेपाल प्रवेश गरेको मनसुनी वर्षाको अवधिभर कतै अधिक र कतै मध्यम वर्षा हुने जनाएको छ । विभागका प्रवक्ता सुमनकुमार रेग्मीका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेशका अधिकांश स्थानमा र प्रदेश १ को मध्य तथा पश्चिमी पहाडी र हिमाली भेगमा सरदरभन्दा बढी वर्षा हुनेछ ।
गण्डकी, लुम्बिनी, बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुनेछ । प्रदेश १ को तराई र प्रदेश २ को पूर्वी भेगमा सरदरभन्दा कम वर्षा हुनेछ । निरन्तर हुने वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । आउँदा केही दिनमा ठूला तथा मझौला नदीहरूमा जलप्रवाह उल्लेख्य रूपमा बढ्ने तथा साना नदीनाला र खहरे खोलाहरूमा आकस्मिक बहाव भई चुरे तथा तराईका भू–भाग डुबानमा पर्ने सम्भावना रहेको छ ।