असार ३, दाङ ।
कोरोना भाइरसको सङ्क्रमण पातलो हुँदै गएको अबस्थामा अब सरकारले निषेधाज्ञाको मोडल परिवर्तन गरी ‘स्मार्ट लकडायन’ गर्ने गरी तयारी गरिरहेको छ ।
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिमा जाने निर्णय गरेसँगै ‘स्मार्ट लकडाउन’ अवधारणा ल्याइएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बुधबार राति बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियाजस्ता देशहरुमा हवाई उडान फेरि सुचारु गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन्।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि पनि राहत प्याकेज लिएको छ । उनीहरुका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय पनि भएको छ । साथै अब कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ।
यस्तै गैरआवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।