बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा – Kanika Khabar
Friday, March 29Nepali News Portal

बडिमालिकाको घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा

    मा प्रकाशित

बाजुरा,असार ३  ।

लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।

पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत वर्ष साउन २५ गते बुढीगङ्गामा आएको बाढीले चार वटा झोलुङ्गे पुल बगाएको थियो भने नदीमा रहेका दर्जनौँ पुल उच्च जोखिममा परेका थिए । जोखिममा बनेका पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा शुरु भएयता दर्जनौँ पुल बाढी र पहिरोको उच्च जोखिममा रहेको बडिमालिका–२ का वडाध्यक्ष डम्मर महतले बताउनुभयो ।

कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल सधैँ वर्षाको समयमा जोखिम बन्ने गरेको छ । त्योसँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् । बाजुराको उत्तरपूर्वी क्षेत्रका वाई र वाधु जोड्ने पुल, गोत्री साप्पाटा पुल, बाजुराको रुगिन र मुगु जोड्ने पुल तथा बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेको स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिनुभएको छ । पुललाई छोप्ने गरी कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट क्षेत्रमा आवागमन प्रभावित भएको अध्यक्ष शाहीको भनाइ छ ।

अछाम र बाजुरा जोड्ने पुल, बाजुर्गाड, गुइगाड, कोर्दालीगाड, घटमुना, बाहुली खोला, पानीलाउला, दहकोट, मौरे, कोटिलाको दैयालगायतका नदीमा रहेका झोलुङ्गे पुल पनि जोखिममा बनेको स्थानीयवासीले बताएका छन् । अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत आवतजावत गर्नुपरेको बडिमालिका–२ का स्थानीयवासी करवीर नाथले बताउनुभयो ।

धेरै स्थानका पुल वर्षौँदेखि जोखिममा भए पनि कसैले वास्ता गरेको छैन । केही झोलुङ्गे पुलको दुवबैतिर बगाएर पुलनै बगाउने सम्भावना रहेको छ । सरकारले जोखिममा रहेका पुलमा आवतजावतसमेत बन्द नगर्दा झन् जोखिम बढेको छ । “अर्को विकल्प नभएपछि बाध्य भएर जोखिममा रहेका पुलबाटै आवतजावत गर्ने गरेका छौँ”, बडिमालिका–२ का डब्बले महतले भन्नुभयो ।

बाजुरामा झोलुङ्गे पुल उच्च जोखिममा रहेपछि स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो । केही स्थानमा रहेका पुलमा पानी सतह बढेको बेला आवतजावत नै बन्द गरिएको छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्