असार ५, दाङ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउँ भनी आज प्रस्ताव पेस गर्नुभएको थियो । उहाँको पक्षमा ३१ मत परेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । यसैगरी विश्वासको मतको विपक्षमा २७ मत प्राप्त भएको छ । प्रदेश सभामा सभामुख सहित ५९ जना सहभागी थिए ।
५८ जनाले पक्ष र विपक्षमा मतदान गरेका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेलले १ महिनाभित्र विश्वासको मत लिनैपर्ने प्रावधान अनुसार मत माग्नुभएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार गठनको प्रक्रिया अघि बढेको थियो । काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नुभएको थियो । जनमोर्चा सांसद कृष्ण थापाको पद सर्वोच्चले खारेज गरिदिएपछी सभामा सांसद कायम संख्या ५९ छ । मुख्यमन्त्रीलाई काँग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जसपाका २ ÷ २ तथा स्वतन्त्र सांसद दिपक मनाङेको साथ छ ।