इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जित्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जित्यो

    मा प्रकाशित

असार २८, दाङ ।
पेनाल्टीमा इंग्ल्याण्डलाई ३–२ गोलको नतिजामा पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी शुटआउटमार्फत लिइएको थियो ।

इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल फर्काएका थिए ।

बोनुचीले ६७औं मिनेटमा ६ यार्ड बक्स भित्रबाट प्रहार गर्दै इटालीलाई बराबरीमा ल्याएका थिए । उनको बराबरी गोलसँगै खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटले पेनाल्टीकै लागि ११८औं मिनेट सब्स्टिच्युट गरेका खेलाडीद्वय– मार्कोस रासफोर्ड र जाडोन साञ्चो नै पेनाल्टीमा असफल भएका थिए ।

सन् १९६८ मा युरो जितेको इटाली २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । सन् २०१८ मा प्रशिक्षक रोबर्टो मान्सिनीले प्रशिक्षकको जिम्मेवारी लिएयता अपराजित रहेको इटालीले २००६ विश्वकपपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेको हो ।

पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमा फाइनल हार्ने तेस्रो मुलुक बनेको छ । यसअघि २००४ मा पोर्चुगल र २०१६ मा फ्रान्स घरेलु मैदानमा फाइनल हारेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्