घर–घरै बिरामी, भाइरल ज्वरो कि कोरोना संक्रमण ! – Kanika Khabar
Thursday, March 28Nepali News Portal

घर–घरै बिरामी, भाइरल ज्वरो कि कोरोना संक्रमण !

    मा प्रकाशित

खेमराज रिजाल

तुलसीपुर, १० भदौ ।

मंगलवार तुलसीपुर उपमहानगरपालिकाका एक परिवारको एन्टिजेन परीक्षण गर्दा पूरै ९ जनामा एन्टिजेन पोजेटिभ देखियो । तुलसीपुरको अश्वारास्थित तुलसीपुर मेट्रो हस्पिटलमा ४० जनामा परीक्षण गर्दा २५ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट तथा फिजिसियन डा. ज्ञानेन्द्र पाण्डेले बताए ।

‘एकै पसरिवारका ९ जनाको परीक्षणमा सबैलाई एन्टिजेन पोजेटिभ देखिनुले कोरोना भाइरसको तेस्रो लहर सुरु भएको संकेत दिन्छ’, डा. पाण्डे भन्छन्– ‘निजी संस्थाहरुमा पनि स्वास्थ्य परीक्षणमा आउने बिरामीहरुमध्ये कम्तीमा ५० प्रतिशतभन्दा बढीमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षणहरु देखिने गरेका छन् । उनले तुलसीपुरको दीर्घायू पोलिक्लिनिकमा बिरामीहरुको स्वास्थ्य परीक्षण गर्छन् । त्यहाँ पनि एन्टिजेन परीक्षण गरिएका बिरामीहरुमध्ये कम्तीमा ५० प्रतिशतभन्दा बढीमा एन्टिजेन पोजेटिभ देखिने गरेको छ । क्लिनिकमा दैनिक हाराहारी ५० जनाभन्दा बढी बिरामीहरु चिकित्सकीय सेवा लिन आउने गरेका छन् ।

क्लिनिक तथा सरकारी अस्पतालहरुमा पनि अधिकांश बिरामीहरु ज्वरो, रुघाखोकी, टाउको दुख्ने, जिउ दुख्नेलगायतका समस्या लिएर आउने गरेको ती चिकित्सकले बताएका छन् । अधिकांशको पिसिआर र एन्टिजेन परीक्षण नगरे पनि अन्य प्रयोगशाला परीक्षणका आधारमा उनीहरुमध्ये धेरैलाई भाइरल ज्वरोको प्रकोप देखिएको छ । केहीलाई टाइफाइड र जण्डिसजस्ता समस्याहरु पनि देखिएका छन् । पछिल्लो समयमा निजी स्वास्थ्य संस्थाहरुले पनि एन्टिजेन किट राखेका छन् ।

निजी क्लिनिकमा एन्टिजेन परीक्षण गराउँदा कम्तीमा ८ सय रुपैयाँको हाराहारीमा शुल्क लिने गरिएको छ भने तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित मेट्रो हस्पिटलमा निःशुल्करुपमा एन्टिजेन परीक्षण गरिने गरेको डा. पाण्डेले बताएका छन् । ‘कतिपय बिरामीहरुले परीक्षणमा कोरोना पोजेटिभ देखियो भने आत्मबल कमजोर हुन्छ भन्ने भएका कारण पनि पिसिआर र एन्टिजेन परीक्षण गराउन चाहँदैनन्, त्यसकारण पनि लक्षण देखिएका बिरामीहरुमा भाइरल फिवर मात्रै हो वा कोरोनाकै संक्रमण एकिन भन्न सकिँदैन’, डा पाण्डेले भने ।

कतिपयलाई भने शुल्क महंगो भएका कारण पनि परीक्षण गराइरहन आवश्यक छैन भन्ने अनुभूति हुने गरेको पनि पाइएको छ । सकेसम्म कोरोना भाइरसको निःशुल्क परीक्षण सेवा स्थानीय सरकारले उपलव्ध गराउन सकेको अवस्थामा पोजेटिभ रिपोर्ट आएका बिरामीलाई होम आइसोलेसनमा भए पनि उपचार सेवा लिने वातावरण बनाउन सहयोग पुग्ने उनको अभिव्यक्ति थियो । तर परीक्षण नै नगराउने प्रवृत्तिका कारण तेस्रो चरणको संक्रमण झनै भयावहरुपमा फैलन सक्ने पनि उनले अनुमान गरेका छन् ।

तुलसीपुरकै अर्को निजी स्वास्थ्य संस्था पाल्पाली पोलिक्लिनिक प्रालिमा दैनिक ८० जना बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ती बिरामीहरुमा आधाभन्दा बढी भाइरल फिवरका बिरामीहरु रहेको अस्पतालका प्रबन्ध निर्देशक सुरज ज्ञवालीले बताएका छन् । ‘यहाँ स्याम्पल कलेक्सन गरेर मेट्रोमा एन्टिजेन परीक्षणका लागि पठाएका बिरामीहरुमध्ये कम्तीमा ५० जनामा एन्टिजेन पोजेटिभ देखिने गरेको छ, कतिपय बिरामीलाई चेष्ट एक्सरे गर्दा निमोनियासमेत देखिनुले कोरोनाको तेस्रो लहर बढ्नसक्ने संकेत देखिएको छ’, प्रवन्ध निर्देशक ज्ञवालीले भने ।

उता, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पछिल्लो समयमा बिरामीकै चाप बढेको अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले बताएका छन् । दुई महिनाअघिसम्म दैनिक औषत डेढ सय बिरामीहरु उपचारका लागि आउने गरेकोमा यो साता औषत दैनिक २ सय ५० जति बिरामीहरु उपचारका लागि आउने गरेको उनको अभिव्यक्ति थियो । चिकित्सकहरुका अनुसार पछिल्लो साता थपिएका बिरामीहरुमा अधिकांशमा भाइरल फिवर र कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षणहरु देखिएको छन् ।

सम्भावित तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुनसक्ने भन्दै सो अस्पतालले यसै सातादेखि योगा भवनका लागि निर्माण गरिएको भवनमा बच्चाको आइसियु (एनआइसियु) सञ्चालनको अन्तिम तयारी गरेको छ । त्यसमा कोभिड र ननकोभिड सबै बिरामीलाई वार्ड छुट्याएर उपचार गरिने तयारी भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समेत बुधवार सो वार्डको निरीक्षण गर्दै सक्दो चाँडो सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

घोराहीका निजी स्वास्थ्य संस्थाहरुमा पनि भाइरल ज्वरो र कोरोना भाइरसको संक्रमणसँग मिल्दाजुल्दा बिरामीहरुको संख्या उल्लेख्यरुपमा बढेको छ । तर स्थानीय पालिकाहरुले भने निःशुल्क रुपमा पिसिआर परीक्षण र एन्टिजेन परीक्षणको व्यवस्थापन मिलाउन सकेका छैनन् । आफैले शुल्क तिरेर पिसिआर तथा एन्टिजेन परीक्षण गराउनेहरुको संख्या पनि एकदमै नगन्य रहेको निजी स्वास्थ्य संस्थाहरुले जनाएका छन् । दैनिक १ हजारसम्मको पिसिआर परीक्षण गर्न सक्ने क्षमताका पिसिआर मेसिन भएर पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ हजार १ सय रुपैयाँ तिरेर पिसिआर परीक्षण गराउनेको संख्या अत्यन्तै न्यून रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा पछिल्लो साता दैनिक परीक्षणको संख्या ५० जनाभन्दा बढी हुन सकेको छैन । निजी क्षेत्रको नेशनल प्याथ ल्याबले पनि त्यत्तिकै हाराहारीमा पिसिआर परीक्षण गर्ने गरेको बताइन्छ । तर कोरोना भाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीहरु भने जिल्लाभर हजारौँ हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् । घर–घरमै भाइरल ज्वरोका बिरामी हुँदा पनि कोरोना परीक्षण नगराउने प्रवृत्तिका कारण तेस्रो लहरको कोरोना भाइरसको संक्रमणले ठूलो समस्या ल्याउन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

तर यो विषयमा स्थानीय सरकारका स्वास्थ्य शाखाहरु भने बेखवरजस्तै बसिरहेको पाइएको छ । न त यो महिना कोरोना भाइरसको खोप अभियानले नै तीव्रता पाउन सकेको छ । केन्द्रमा लाखौं डोज थन्किएको अवस्थामा पनि स्थानीय तहसम्म खोप पर्याप्त मात्रामा आइनपुग्दा अधिकांश नागरिकहरुले अझै पनि कोरोना भाइरसविरुद्धको खोप सेवा पाउन सकेका छैनन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्