पहिरोमा परी एक जनाको मृत्यु, सप्तकोशीमा पानीको बहाब उच्च बिन्दुमा – Kanika Khabar
Thursday, February 13Nepali News Portal

पहिरोमा परी एक जनाको मृत्यु, सप्तकोशीमा पानीको बहाब उच्च बिन्दुमा

    मा प्रकाशित

भदौ १३, काठमाडौँ ।
अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ कैलाश नगरमा घर भत्किएर पुरिँदा स्थानीय १० वर्षका नैना दर्जीको मृत्यु भएको हो ।

भारी वर्षापछि पहिरो खस्दा पाल्पामा पर्ने सिद्धार्थ राजमार्गको एक दर्जन स्थानमा सडक अवरुद्ध भएको छ । रुपन्देहीको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ । चुरे पहाडबाट खसेको पहिरोले स्थानिय तीन जनाको घरमा क्षति पु¥याएको हो । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् ।

पहिरोको जोखिममा रहेका अन्य स्थानीयलाई पनि अन्यत्र सार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । गुल्मीमा पनि अविरल वर्षासँगै गएको पहिरोले घर र गोठ भत्काउँदा पशुचौपाया पुरेको छ । अविरल वर्षाका कारण गुल्मीका अधिकांश ग्रामीण सडक बिग्रेका छन् ।सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड पनि अवरुद्ध भएको छ ।

नागढुङ्गा नजिकै चिसापानी धारा आसपास क्षेत्रमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानी खोलाले जनाएको छ । यसैबिच सप्तकोशी नदीमा आज पानीको वहाव यस वर्षकै सबैभन्दा बढी देखिएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाब २ लाख ५७ हजार ७ सय ९० क्यूसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्